भक्तपुर- गाईजात्रा (सापारु २०८३) को अवसरमा भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता हुने भएको छ। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा भदौ ५ गते भक्तपुर दरबार स्क्वायर क्षेत्रमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा विद्यार्थीहरूले समसामयिक विषयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, शैक्षिक क्षेत्र तथा सामाजिक विकृति र विसंगतिमाथि व्यंग्यात्मक कार्टुन प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ। कक्षा १ देखि ८ सम्मका आधारभूत तहका विद्यार्थी तथा कक्षा ९ देखि १२ सम्मका माध्यमिक तहका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिता भदौ ५ गते शुक्रबार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताकै दिन पुरस्कार वितरणसमेत गरिने आयोजकले जनाएको छ। भक्तपुर जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउन सकिने भन्दै आयोजकले समयमै नाम दर्ता गर्न आग्रह गरेको छ।