Matra Education बुधबार, भाद्र ३ २०८३

रिलायन्स पब्लिक स्कुलमा सुरु भयो आरपिमुनको ११औँ संस्करण

रिलायन्स पब्लिक स्कुलमा सुरु भयो आरपिमुनको ११औँ संस्करण

  • मात्र एजुकेशन
  • आइतबार, साउन ३१ २०८३


काठमाडौँ– रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गतको रिलायन्स पब्लिक मोडेल युनाइटेड नेसन्स् (आरपिमुन) को ११औँ संस्करण कपनस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा भव्य रूपमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह शुक्रवार प्रमुख अतिथि तथा पाकिस्तानका लागि नेपालका पूर्व राजदूत तपस अधिकारीको उपस्थितिमा गरिएको हो।

देशभरबाट २०० जना विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसंघका गतिविधि र कार्यप्रणालीबारे व्यवहारिक रूपमा अभ्यस्त गराउँदै कूटनीतिक क्षमता, नेतृत्व विकास तथा अनुसन्धान सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। सम्मेलनमा विभिन्न समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा बहस, वार्ता तथा समस्या समाधानको अभ्यास गरिनेछ।

रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पाकिस्तानका लागि नेपालका पूर्व राजदूत तपस अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अधिकारीले संयुक्त राष्ट्रसंघका गतिविधिहरूलाई विद्यार्थीमाझ अभ्यस्त गराउने प्रणालीलाई यस्ता सम्मेलनले थप सहयोग गर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष थापाले विद्यार्थीहरूमा विश्वबन्धुत्व, भाइचारा, आपसी मेलमिलाप र सहयोगको भावना विकास गर्न रिलायन्स एजुकेसन नेटवर्कले आरपिमुन निरन्तर आयोजना गर्दै आएको बताउनुभयो।

कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो। सम्मेलन निर्देशक दिलीप नेपालले सम्मेलनको समग्र अवधारणा प्रस्तुत गर्नुभएको थियो।

तीन दिनसम्म चल्ने सम्मेलनमा विद्यार्थीहरूले विभिन्न नमुना संयुक्त राष्ट्रसंघीय समितिमार्फत विश्वका जल्दाबल्दा विषयमा छलफल गर्नेछन्। सम्मेलनमा मध्यपूर्वको भू–राजनीतिक अवस्था, जारी इजरायल–अमेरिका–इरान द्वन्द्व तथा त्यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्ने प्रभाव, जैविक तथा रासायनिक हतियारको नैतिक नियमन, आर्थिक स्थिरताका लागि क्रिप्टोकरेन्सी तथा डिजिटल भुक्तानीको व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ।

त्यस्तै द्वन्द्वग्रस्त क्षेत्रमा शरणार्थीको कानुनी संरक्षण, कृत्रिम बौद्धिकतासम्बन्धी वातावरणीय पारदर्शिता पहल तथा स्वच्छ ऊर्जाको भविष्य र मानसिक स्वास्थ्यसम्बन्धी विश्वव्यापी प्रतिक्रियालाई सुदृढ गर्ने विषयमा समेत विद्यार्थीहरूले बहस गर्नेछन्। नेपालसँग सम्बन्धित सीमा व्यवस्थापनका चुनौती, भन्सार नीतिको पुनरावलोकन तथा जारी अध्यादेशहरूको संवैधानिक वैधता र संसदीय जबाफदेहिताका विषयमा समेत छलफल हुनेछ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति, आर्थिक तथा वित्तीय समिति, सामाजिक, सांस्कृतिक तथा मानवीय समिति, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, विश्व स्वास्थ्य संगठन, नेपालको संघीय संसद् र अन्तर्राष्ट्रिय प्रेस कर्प्स गरी आठ वटा नमुना समिति रहनेछन्।

आरपिमुनका महासचिव रोहित सञ्जेलले नमुना संयुक्त राष्ट्रसंघीय समिति, संघीय संसद् नेपाल तथा अन्तर्राष्ट्रिय प्रेस कर्प्सका अध्यक्षहरूको परिचय गराउँदै कार्यक्रम औपचारिक रूपमा सुरु भएको घोषणा गर्नुभएको थियो।

श्रावण २९, ३० र ३१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा काठमाडौँ उपत्यकाका विभिन्न विद्यालय तथा रुपन्देही, चितवन, धनुषालगायत उपत्यकाबाहिरका जिल्लाबाट समेत विद्यार्थीहरूको सहभागिता रहेको छ।

रिलायन्स एजुकेसन नेटवर्कले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानभन्दा बाहिर गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयमा अध्ययन, अनुसन्धान, बहस र समस्या समाधानको व्यावहारिक अभ्यास गराउने उद्देश्यले आरपिमुन आयोजना गर्दै आएको जनाएको छ। सम्मेलनले विद्यार्थीमा कूटनीतिक क्षमता तथा नेतृत्व विकाससँगै अनुसन्धान क्षमता अभिवृद्धि गर्ने र विश्व समाज, राजनीति, भूगोल तथा अर्थतन्त्रबारे गहिरो बुझाइ विकास गराउने अपेक्षा गरिएको छ।

सम्मेलन निर्देशक दिलीप नेपालका अनुसार सम्मेलनको समापन समारोह श्रावण ३१ गते आइतबार दिउँसो ३ः३० बजे रिलायन्स पब्लिक स्कुलको सभाहल, बुढानीलकण्ठ–१०, कपनमा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड