Matra Education आइतबार, साउन १० २०८३

बलिको बिभत्स दृश्य, किन यति निर्दयी बन्छ मानब ?

बलिको बिभत्स दृश्य, किन यति निर्दयी बन्छ मानब ?

  • मात्र एजुकेशन
  • बुधबार, असोज २७ २०७८


काठमाडौँ- दशैंको बेलामा मानिसहरू खानपिन, त्यसमा पनि मासुप्रति लालायित हुन्छन्। पशुपक्षीका लागि भने दशैं सबभन्दा ठूलो दशा हो । काठमाडौंमा यसबारे पनि कथा हालिन्थ्यो।

कुखुराको भाले उच्च स्वरमा सबैलाई भन्छ रे- ‘मोहनी व…ल…’ अर्थात् ‘दशैं आयो !’ नीलटाउके हाँसहरू अत्तालिंदै कराउँछन्- ‘कन्हे… कन्हे’ अर्थात् ‘भोलि नै हो भोलि ।’ भेडाहरू लामो स्वरमा विलाप गर्छन्- ‘आ गठेय् याय्’ अथवा ‘अब के गरौं!’ बोकाहरू आमा गुहार्छन्- ‘म्याँ म्याँ’ भन्दै । लाचार राँगोहरू ईश्वर पुकार्छन्- ‘नारा…यण, नारा…यण।’

मानिसका लालसा र पशुपक्षीका दुर्दशा कुरा र कथामा भन्दा प्रत्यक्ष देख्न पाइन्छ, देवदेवीका मन्दिरमा । काली भगवतीका मन्दिरमा रगतको आहाल जम्छ।
सडकमा सवारी साधन बलि दिइएका बोका, हाँस, कुखुराको रगतले सिंगारिएको देखिन्छ। हुँदाहुँदा हामीकहाँ हवाईजहाजलाई पनि बलि चढाउने काम भयो। अमेरिका पुगेका नेपालीले सवारी साधनमा पशुबलि चढाएका समाचार पनि सुनिए। आलो रगतसँग खेल्ने कतिपय नेपालीका रुचि जगजाहेर नै छन्।

नेपाली सेना र अन्य सुरक्षा अंगमा मौलाएको कोत-संस्कृतिले दशैंलाई अझ बढी पशु वध र आलो रगतको चाडका रूपमा चित्रण गर्छ। सैनिक ब्यारेक र प्रहरी पोष्टहरूमा पशुबलिलाई उत्सवकै रूपमा मनाइन्छ।

दशैंको रङ बदलौं
मानिस अरू पशुपक्षीको उत्पीडनमा रमाउने प्राणी हो। तर, यो सभ्य प्रवृत्ति हैन। गोरु जुधाउने, गोरुसँग मानिस जुध्ने ‘स्पेनी बुलफाइट’, भक्कुलाई राँगो दिने, माछालाई पानी बाहिर तड्पाएर मार्ने आदि पाप क्रिया हुन्।

मुगुको गमगढीमा मैले दशैंको बेला बोको पर्साउने अचम्मको तरिका पनि देखें, जहाँ गाउँका ठालुले दलित समुदायलाई बोको उपहार दिने चलन थियो । त्यो बोकालाई जीउभरि हरियो खुर्सानीको लेप दलेर देवीको मन्दिर परिसरमा छाडिंदो रहेछ। दलित समुदायका लाठे केटाहरूले त्यसलाई टोकेर भुँडी फोड्नुपर्ने रहेछ । बोकालाई हातले समाउन नपाइने त्यो खेलमा खुर्सानीको पिरोले मुख स्यू-स्यू गर्दै टोकाटोक गरेपछि एक जनाले आन्द्रा वा भुँडी देखिने गरी टोक्न सफल भए मात्र बोको पर्सेको मानिंदो रहेछ । त्यसपछि बोकालाई देवीको मन्दिरभित्र काट्न लैजाने त्यो प्रथा ज्यादै बीभत्स थियो।

चार दशक पहिले देखेको यस्तो प्रथा अहिले लोप भइसक्यो होला भन्ने मेरो आशा छ । दशैं नमनाउने ललितपुर, खोकनाको एउटा जात्रामा पनि बोकाको यस्तै बीभत्स वध हुने गरेको छ। त्यसलाई पनि खोकना समाजले बहिष्कार गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । वस्तुतः पशुपक्षीलाई उत्पीडनमा वध गर्नु वा बलि चढाउनु सभ्य मानसिकताको द्योतक हैन।

काठमाडौंका काली मन्दिरहरूसँगै दुर्गा, भवानी तथा भैरव मन्दिरहरूमा बोका, राँगा, कुखुरा वा हाँसको बलि चढाउँदा मार हानेर गर्धन छिनाउनुको साटो घाँटी रेटेर पशुपक्षी वध गरिन्छ।

रगतको धाराले देवदेवीका मूर्तिलाई नुहाउने यस्तो चलन स्वयंमा पाशविक लाग्छ । एकै मारमा टाउको छिनाल्ने भन्दा घाँटी रेट्ने प्रथा निकै बढी पीडादायक हुन्छ । तर, रगतले घरको दशैंकोठा रातै रङ्गिने शहरी क्षेत्रमा केही परिवर्तन पनि देखापर्न थालेको छ।

किनभने, हिजोआज काटमार गर्ने मानिस परिवारमा हुँदैनन्। पशुपक्षीको भुत्ला वा प्वाँख खुइल्याएर सफा गरिदिने मान्छे भेटिंदैन। तथापि दशैं खड्ग, खुँडा र खुकुरी आदि हतियारलाई प्रयोग गर्ने र पूजा गर्ने दिन हो। पूजापछि तिनले बलि माग्छन्।

तसर्थ, हिजोआज कुभिन्डोको बलि प्रचलनमा छ। त्यस्तै उखु वा मूला काट्ने चलन पनि छ। दशैंको नवरात्रिमध्ये नवौं दिनलाई काठमाडौंवासीहरू ‘स्याकुत्याकु’ भन्छन्। यो मारकाटको दिन हो। मारकाटमा पशु वा पक्षी वध अनिवार्य नबनाएर एउटा नयाँ संस्कृतिको विकास गरौं। दशैंको रङ बदलौं।

हिमाल खबरमा डा. तीर्थबहादुर श्रेष्ठले लेख्नुभएको “दशैंको रङ बदलौं” शिर्षकको सामग्रीबाट सम्पादन गरि प्रकाशित गरिएको

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड