काठमाडौँ- बाँकेको बैजनाथ गाउँपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सिपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् ।
पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजनाथ गाउँपालिका गाभरकी १७ बर्सिया एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिइन् ।
मृतक शाहको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएको अश्लील एसएमएस भेटिएपछि आक्रोशित स्थानीयले प्रिन्सिपल पाण्डेमाथि कारबाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लील कार्य गरेको आशङ्का गरिएको छ ।
मृतक शाह पाण्डेकै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका दबाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउन आफूहरूको माग रहेको मृतक शाहका आफन्त पुनीत विक्रम शाहले बताए ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रिन्सिपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको बताए । स्थानीयहरू शुक्रवार विद्यालयमै पुगेर ढुंगामुढा गरेपछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो ।राजधानी दैनिकमा खबर छ ।