काठमाडौँ- स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षाको पर्याय बनेको मनास्लु वार्ड कलेजले ‘इमर्जिङ कलेज अफ दि इयर अवार्ड-२०२४’ उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटी, क्यानबेरामा आयोजित एक कार्यक्रममा कलेजले उक्त उपाधि हात पारेको हो । कलेज रिडर्स म्यागेजिनद्वारा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। मनास्लुको प्रतिनिधित्व गर्दै कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका थिए।
अवार्ड प्राप्त गरे पश्चात् मात्र एजुकेसन सँगको टेलिफोन संवादमा श्रेष्ठले मनास्लुको सिङ्गो टोलीको मेहनतका कारण सम्मान प्राप्त गर्न सकिएको बताए। उनले भने, ‘छोटो समयमा शैक्षिक गुणस्तर कायम राख्दै नवीनतम सोच र दृष्टिकोणका साथ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको हुँदा हामीले यो सम्मान पाउन सफल भएका हौँ। यसले आगामी दिनमा अझै राम्रो गर्न र हाम्रो कलेजको नारा जस्तै भोलिका नेतृत्वकर्ताहरू जन्माउनका लागि अझै सत्प्रयास गर्न प्रेरणा दिएको छ।’ श्रेष्ठले मनास्लु वर्ल्ड कलेजले आज विश्वस्तको शिक्षा प्रदान गर्दै आएको र यस प्रकारको अन्तर्राष्ट्रिय पहिचानले कलेजलाई अझ सशक्त बनाएको उल्लेख गरे। उनले सम्मान सम्पूर्ण मनास्लुका विद्यार्थी अभिभावक शिक्षकहरूलाई समर्पित गरेको बताए।
यो अवार्डको छनोट प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो, जसको अध्यक्षता मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यले गरेका थिए। निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूलाई विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरेर छनोट गरेको बताइएको छ।