काठमाडौँ- रिलायन्स कलेजले आयोजना गरेको छैटौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता–२०८३ को नतिजा सार्वजनिक गरिएको छ। देशभरिका सातै प्रदेशका ३७ जिल्लाबाट प्राप्त कुल ४८७ निबन्धमध्ये उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई नगद पुरस्कार तथा आकर्षक छात्रवृत्तिका लागि छनोट गरिएको कलेजले जनाएको छ।
प्रतियोगितामा काठमाडौँ जिल्लाको कान्ति भैरव सेकेण्डरी स्कुलका अनुपम भण्डारी प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी ललितपुर जिल्लास्थित न्यू क्यासल स्कुलकी विजया लक्ष्मी शर्मा द्वितीय तथा सिन्धुपाल्चोक जिल्लाको तेर्से सेकेण्डरी स्कुलकी राधिका जोति तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन्।
त्यस्तै विभिन्न जिल्लाका अन्य १० जना विद्यार्थीहरूले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी विद्यार्थीहरूको सृजनशीलता, प्रस्तुतीकरण शैली तथा समसामयिक विषयप्रतिको दृष्टिकोणलाई आधार बनाएर नतिजा तयार गरिएको कलेजले जनाएको छ।
रिलायन्स कलेजले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले विद्यार्थीहरूको लेखन क्षमता, विश्लेषणात्मक सोच र व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहनुले प्रतियोगिताको लोकप्रियता झन् बढ्दै गएको कलेजको भनाइ छ।
कलेजले विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै केही दिनभित्रै कलेजको सभाहलमा विशेष पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। कार्यक्रममा विजेता विद्यार्थी, अभिभावक, शिक्षक प्रतिनिधि तथा विभिन्न विद्यालयका प्रमुखहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
विजेता विद्यार्थीहरूलाई कलेजको सम्पर्कमा आउन अनुरोध गरिएको छ। थप जानकारीका लागि ९८४१९०८१७३ मा सम्पर्क गर्न सकिने कलेजले जनाएको छ।