काठमाडौँ- सुनसरीस्थित इनरुवा नगरपालिकाका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारी तलब थपकै विषयलाई लिएर ६ महिनादेखि निरन्तर आन्दोलनमा छन् । गत असार २४ गते पालिका समक्ष उनीहरूले ज्ञापन पत्रसमेत बुझाए । त्यसको सम्बोधन भएको छैन । पालिकाले माग सम्बोधन नगरेपछि उनीहरूले यही हप्तादेखि दोस्रो चरणको आन्दोलन सुरु गरे । आन्दोलन समितिकी संयोजक सोनु राना मगरको भनाइमा पालिकाले माग सम्बोधन नगरेसम्म आन्दोलन रोकिँदैन ।
पालिका प्रमुख राजन मेहता र पालिका प्रशासन समक्ष लिखित तथा मौखिक ध्यानाकर्षण गराउँदा समेत मागको बेवास्ता गरेपछि उनीहरूले तालाबन्दी गर्न खोजे । शिक्षक र कर्मचारीले तालाबन्दी गर्न खोजेपछि प्रहरी प्रशासनसमेत हस्तक्षेप गर्न आइपुग्यो । बोलाइयो । पालिकाले प्रहरी परिचालन गरेर आन्दोलन दबाउन खोजेको बताउँछिन् संयोजक सोनु मगर । अविलम्ब माग सम्बोधन नभए जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनको भनाइ छ ।
बुधवार उनीहरूले इनरुवा नगरपालिका भित्रका १० वटै वडा सदस्यहरूलाई भेटेर ध्यानाकर्षण पत्र थमाए । वडाध्यक्षहरूले माग सम्बोधनका लागि पालिकासमक्ष पहल गर्ने आश्वासन दिए पनि शिक्षक र विद्यालय कर्मचारी विश्वस्त भने छैनन् । किनकि ६ महिनादेखि आन्दोलन गर्दै आउँदा पनि वडाध्यक्षहरूको कुनै सहयोग छैन । तर पनि कुनै दिन उनीहरूलाई साथ दिन बाध्य पार्ने शिक्षक र विद्यालय कर्मचारीको योजना छ।
इनरुवा नगरपालिका भित्रका जस्तै देशैभर इसीडी शिक्षक र विद्यालय कर्मचारी एकजुट हुन आवश्यक छ । तलब थपको विषय कुनै एक पालिकाभित्रका शिक्षक र विद्यालय कर्मचारीको माग मात्र नभएर ७५३ पालिकाकै साझा माग हो । नदिएका पालिकाहरूले तुरुन्त दिनुपर्छ । शिक्षक र कर्मचारीले पनि ध्यानाकर्षण गराउनुपर्छ । यसो हुन सके मात्रै लामो समयदेखि श्रमको उचित मूल्याङ्कन नभएकाहरूको माग सम्बोधन हुनेछ।
स्मरण रहोस्: सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ८ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी ७ हजार रुपैयाँ स्थानीय सरकारले थप गरेर न्यूनतम तलब १५ हजार दिन केन्द्रले निर्देशन दिएपनी त्यो थोरै मात्र स्थानीय सरकारले कार्यान्वयन र अधिकांशले बेवास्ता गर्दै कार्यान्वयन नभएपछि प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी) शिक्षक र विद्यालय कर्मचारी विगत ६ महिनादेखि आन्दोलनमा छन् ।