Matra Education आइतबार, साउन १० २०८३

आफ्नालाई पदक दिन करोडौँ खर्च, बाढी पहिरो पीडित विद्यार्थीको भिडियो सञ्जालमा भाइरल 

आफ्नालाई पदक दिन करोडौँ खर्च, बाढी पहिरो पीडित विद्यार्थीको भिडियो सञ्जालमा भाइरल 

  • मात्र एजुकेशन
  • बिहिबार, असोज ७ २०७८


काठमाडौँ – नेपाल सरकारले संविधान दिवसका अवसरमा वितरण गरेको पदकले यो हप्ता मिडियाहरूमा राम्रै स्थान पायो। विना मापदण्ड सरकारले संविधान दिवसका अवसरमा पदक घोषणा गरेको भन्दै कतिपय पदक पाउनेहरूले नै आलोचना पनि गरे ।खासगरी सरकारले विभूषण पाउनेको सूचीमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्षकी पत्नी सीता दाहाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका स्वर्गीय पिता मङ्गलकुमार उपाध्यायलाई समेत पदक दिने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

त्यसबाहेक पनि आफ्ना आफन्त, नजिकका पत्रकार, शुभचिन्तक तथा अघिल्लो सरकारका आलोचकहरूलाई पदक दिइएको थियो। कतिपयले सामाजिक सञ्जाल मार्फत पदक अस्वीकार गरेको जानकारी गराएका थिए भने दलका नेताले समेत पदक वितरणबारे सरकारको आलोचना गरेका थिए। विभूषणको नाकमा कालो पोतेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले विभूषणहरू समेत लजाउने गरी पाउने व्यक्तिहरू छनौट गरिएको टिप्पणी गरेका थिए । विभिन्न सरकारी निकाय र कार्यालयहरूबाट पदकका लागि सिफारिस गर्ने व्यवस्था भए पनि कार्यालयका प्रमुखहरूले आफैँलाई पदकका लागि सिफारिस गर्ने गरेका सार्वजनिक हुने गरेको छ।

यसरी पदक वितरणमा देशको ढुकुटीबाट २० करोड भन्दा बढी खर्च गरिएको भए पनि त्यसले जनजीवन सँग प्रत्यक्ष सरोकार राख्ने र दैनिक तिनै कर तिर्ने जनताको सेवामा खटिएकालाई भने समेट्न सकेन।  महामारीको समयमा फ्रन्टलाइनमा काम गरेका स्वास्थ्यकर्मी र विकट बस्तीहरूमा तुइन लगायत  अन्य कष्टपूर्ण यात्रा तय गर्दै खोप र स्वास्थ्य सामग्री पुर्‍याएका कर्मचारीहरूको तस्बिर वास्तविक पदकका लागि लायक भएको भन्दै जनस्तरबाट सामाजिक सञ्जालमा  व्यापक सेयर भइरहेको छ।

त्यस्तै आफ्ना नजिकका आसेपासेहरूका लागि करोडौँ खर्च गर्न सक्ने सरकारको आँखा पुगोस् भन्दै सामाजिक सञ्जालमा सेयर गरिएको एउटा भिडियो अझै कहालीलाग्दो छ।  भिडियोमा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकास्थित यसम माविका शिक्षक शुबराज थापा विद्यार्थीहरूलाई  बाढी आएको खोला  तार्दै गरेको देखिन्छन्  नेपालमा विद्यार्थीहरूले भोगिरहेका यस्ता समस्याहरूको ठुलै लिस्ट बन्न सक्छ।  सामाजिक सञ्जालमै चर्चित अर्को एक भिडियोमा स्कुल ड्रेस लगाएका करिब ४/५ कक्षा पढ्ने जस्ता देखिने विद्यार्थीहरू एउटा ठुलो पहाडे पहिलो बाट भाग्दै गइरहेको देख्न सकिन्छ। एकातिर ज्यान जोगाउने चुनौती अर्कोतिर सिकाइको भोक, यो समस्या सायद ग्रामीण भेगका प्रत्येक बालबालिकाको दैनिकी हो। तर यस्ता समस्याहरूमा सत्तासीन दलहरू सधैँ उदासीन बनिदिँदा यो हरेक बर्खाको समस्या बन्न पुगेको छ।

करोडौँको पदक आफ्ना आफन्त र आसेपासेलाई वितरण गर्न पछि नपर्ने सरकारको ध्यान यस्ता समस्यामा जान्थ्यो भने हाम्रा विद्यार्थीले निर्धक्क भएर आफ्नो भविष्यको मार्गचित्र कोर्न पाउने थिए कि ?

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड