काठमाडौँ- लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहीन बन्दा थुप्रै कामहरू रोकिएका थिए। हालै नेपाल सरकारले आयोगमा पदाधिकारी नियुक्त गरेपछि भने देशभर आयोगको तयारी गरिरहेका परीक्षार्थीहरूमा आशा पलाएको छ। उनीहरूमा कहिले के निर्णय आउला भन्ने कौतुहलता पनि उतिकै छ। ०७४/७५ सालदेखि शिक्षक पदपूर्ति हुन नसक्नु, बढुवाका कामहरू रोकिनु र ०७६ सालपछि लाइसेन्सिङका काम नहुनुले पनि यो प्रतीक्षालाई अझै व्यग्र बनाएको छ। यस्तो अवस्थामा यी रोकिएका कामहरू आयोगले कहिले सम्पन्न गर्छ भन्ने जिज्ञासा यो क्षेत्रसँग सरोकार राख्ने सबैको छ।
मात्र एजुकेसनले यही जिज्ञासा मेटाउनका लागि शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधुप्रसाद रेग्मीसँग कुराकानी गरेको छ। यतिबेला धमाधम कार्ययोजना निर्माणमा आयोग लागिरहेको रेग्मीको भनाई छ। विज्ञापन खोलिसकेपछि पहिलो दिनदेखि नै कुन विभागले कुन काम गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन हुँदै स्थायी नियुक्ति दिने दिनसम्म कसरी काम गर्ने भन्ने गतिशील कार्ययोजना आयोगले बनाइरहेको छ। आफ्नो निर्वाचन आयोगमा कार्यरत रहँदाको अनुभवलाई प्रयोग गर्दै आफू यति बेला चुनावको समयमा निर्वाचन आयोगले बनाउने जस्तै व्यवस्थित योजना बनाउन लागि परेको उनको भनाइ छ।
सकेसम्म छिटो विज्ञापन गर्नुपर्ने बाध्यतालाई आयोगले राम्रोसँग बुझेको भन्दै असोज भन्दा अघि नै विज्ञापन खुलाउने आयोगको सोच रहेको उनी बताउँछन्। तर त्यसका लागि केही प्रारम्भिक कामहरू आयोगले सम्पन्न गर्नुपर्छ। विज्ञापन खोल्नु अघि कति दरबन्दी खालि छ भन्ने तथ्याङ्क आयोगले प्राप्त गर्नुपर्छ। आयोगलाई यो तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाउँछ । त्यहाँ अनुरोध गरेपछि उसले जिल्ला–जिल्लामा अनुरोध गरेर पठाउँछ । सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय एकाइबाट प्राप्त गर्नुपर्छ । त्यो भदौ १० भित्र पठाइदिनु भनेर ती एकाइहरूले परिपत्र गरिसकेको अवस्था अहिले छ ।भदौ १५ गतेभित्र त्यो तथ्याङ्क आयोगले प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि यो सामग्री तयार पार्दासम्म आयोगले त्यो तथ्याङ्क प्राप्त गर्न सकेको छैन। यो तथ्याङ्क आइसकेपछि विषयगत र समावेशी कोटाको आधारमा छुट्ट्याएर आयोगले काम अगाडी बढाउँछ । विज्ञापन गर्नुअघि पाठ्यक्रम प्रकाशन लगायतका सबै काम सम्पन्न गर्ने र आगामी शैक्षिक सत्रको सुरुवातमै स्थायी शिक्षक विद्यालयमा पुर्याउने सोच आयोगको छ।
धेरै परीक्षार्थीहरूमा लाइसेन्सको परीक्षा पहिले कि विज्ञापन पहिले खुल्ने भन्ने जिज्ञासा रहेको छ। त्यसबारे आयोग पनि छलफलमै रहेको रेग्मी बताउँछन्। उनका अनुसार लाइसेन्सको काम पहिले गर्दा भर्खरै अध्ययन गरेका फ्रेस माइन्डहरु आउने भए पनि परीक्षार्थी धेरै हुने र समय धेरै लाग्ने हुन्छ। यता आयोगलाई जतिसक्दो छिटो स्थायी शिक्षक नियुक्त गर्नुपर्ने मुख्य जिम्मेवारी छ। त्यस कारण यी दुई वटामा जुन काम अगाडि गर्दा पनि थोरै चुनौती नै रहने भएको हुँदा आयोगले निर्णय लिन सकेको छैन।
कोभिडले असर नगरे र सबैले खोप पाउने व्यवस्था भएर सामान्य रूपमा आयोगले काम गर्न पाएमा अब लाइसेन्स र विज्ञापन दुवैका लागि लामो समय कुर्नु नपर्ने रेग्मीको भनाइ छ।