काठमाडौँ- बढ्दो कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरूलाई आज मङ्गलवार (१५ गते) बाट भौतिक रूपबाटै सञ्चालन गर्नका लागि अनुमति दिएको गोकर्णेश्वर नगरपालिकाले आफ्नो निर्णय बाट पछि हट्नुपर्ने भएको छ। एकपक्षीयरुपमा नगरपालिकाले विद्यालय खुलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ ।
काठमाडौँका मेयर विद्यासुन्दर शाक्य र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाई टेलिफोन गरेर निर्देशन दिएको सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । दक्षिणकाली र शंकरापुर नगरपालिकाले पनि विद्यालय खुलाउन माग गरेपनि आफूहरुले अनुमति नदिएको प्रशासनले जनाएको छ ।
यसअघि लामो समयदेखि विद्यार्थीहरू घरमै रहँदा उनीहरूको पठनपाठनमा समस्या भएपछि सरोकारवालाहरूले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेको भन्दै मङ्गलवारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी गोकर्णेश्वर नगरपालिकाले निर्णय गरेको थियो ।
डेल्टा भेरिएन्ट सहितको मिश्रित संक्रमणदर बढ्दो क्रममा भएकाले तत्काल स्कुल खुलाउने अवस्था नरहेको प्रशासनको तर्क छ । भदौ १ गतेदेखि लागू भएको स्मार्ट लकडाउनको कार्यविधिले निषेधाज्ञाको अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको छ ।