Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षा बारे आयो यस्तो खबर

कक्षा १२ को परीक्षा बारे आयो यस्तो खबर

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र १५ २०७८


काठमाडौँ – भदौ १५ गते । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो । बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्णरूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुनसक्ने विश्वास आफूहरूमा रहेको उहाँको भनाइ छ । परीक्षाको अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमै सञ्चालन गर्न शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको अवस्थामा आफूहरू भौतिक रूपमै परीक्षा लिने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । कक्षा १२ पछि उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी विदेशी विश्वविद्यालयमा समेत पुग्ने भएकाले भौतिक रूपमै परीक्षा लिनुपर्छ भन्ने बोर्डको नीति रहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस वर्ष कक्षा १२ को परीक्षा दुईपटक स्थगित भइसकेको छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो । यसअघि वैशाख २६ गतेबाट सञ्चालन गर्नेगरी प्रकाशित गरिएको परीक्षाको कार्यतालिका पनि रोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड