काठमाडौं – कोभिड–१९ दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुनुभन्दा एक हप्ता अघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौको अन्तिम सातादेखि सञ्चालन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप प्रदान गर्ने व्यवस्था गरेपछि बोर्डले परीक्षाको तयारी थालेको हो ।
बोर्डले साउन ३१ गतेबाट सञ्चालन हुने गरी तय गरिएको कक्षा १२ को वार्षिक परीक्षा २३ गते देशभर फैलिएको कोभिड–१९ संक्रमणको कारण स्थगित गरेको थियो ।
स्थगित परीक्षा सञ्चालन गर्नुपूर्व परीक्षामा सहभागी हुने १८ वर्ष वा सोभन्दा बढी उमेर भएका विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्थाका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य सेवा विभाग मार्फत सबै स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयबाट खोप प्रदान गर्ने व्यवस्था गरिएपछि परीक्षाको तयारी थालिको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।
पौने चार लाख विद्यार्थीलाई खोपको व्यवस्था गरिसकेको हुँदा एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने तयारी थालेको बोर्डले जानकारी दियो ।
बोर्डले भौतिक उपस्थितमा १०० पूर्णाङ्कको परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार कक्षा १० सम्म सञ्चालन भएका देशभरि ११ हजार ६ सय विद्यालय छन्। कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय सबैलाई परीक्षा केन्द्र बनाउने तयारीमा बोर्ड जुटेको छ ।