काठमाडौँ- तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवादका कारण लगभग दुई तिहाइको सरकार ढलेर प्रमुख प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना बढी बितिसके पनि त्यसले पूर्णता पाउन सकेको छैन । दलहरू भित्रको फोहोरी राजनीतिको सिकार देशका थुप्रै प्रशासनिक निकायहरू बनिरहँदा त्यसको सबैभन्दा ठुलो असर शिक्षा क्षेत्रमा देखिएको छ ।
अहिले मन्त्रीको अभाव विशेष गरी नयाँ पाठ्यक्रमले झेलेको छ । प्राविधिक धारका कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम तर्जुमा गरिएको छ । यति बेला विद्यार्थीहरू कक्षा ११ मा धमाधम भर्ना भइरहेका छन् । तर न पाठ्यक्रमको पत्तो छ नत पाठ्यपुस्तकको नै टुङ्गो छ ।
पाठ्यक्रम विकास केन्द्रका उपसचिव गणेश भट्टराईले भने, “राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठक बस्न सक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । परिषद्को अध्यक्षता शिक्षामन्त्रीले गर्नुपर्ने भएकाले सो रोकिएको हो ।”
नयाँ सरकार गठनपछि शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिएका छन् । शिक्षामन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को बैठक डाकेर बाधा अड्काउ फुकाऊ गर्न समस्या नभए पनि हालसम्म त्यस्तो चलन नभएकाले नयाँ शिक्षामन्त्रीको प्रतीक्षा गर्नुपर्ने भनाइ केन्द्रका पदाधिकारीहरूको छ ।
प्राविधिक धारका कक्षा ११ र १२ का पाठ्यक्रम तयार भइसकेको छ । त्यसमा ४० प्रतिशत सैद्धान्तिक र बाँकी ६० प्रतिशत प्रयोगात्मक विषय समेटिएको छ । यस वर्ष कक्षा ११ का विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने हुन्छ भने कक्षा १२ मा आगामी वर्षबाट लागू हुनेछ ।