Matra Education आइतबार, साउन १० २०८३

पढाई पैसाकै लागि हो त? तपाईंले एकचोटी पढ्नै पर्ने लेख

पढाई पैसाकै लागि हो त? तपाईंले एकचोटी पढ्नै पर्ने लेख

  • रमेश लामिछाने
  • मंगलबार, भाद्र ८ २०७८


“मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले´´? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी चाबहिलको ॐ अस्पतालमा उपचाररत थिइन् । ५ बर्से बच्ची को यो प्रश्नको उत्तर सजिलै थियो ठुलो मान्छे बन्न नि । पढेन भने दुख पाइन्छ नि त त्यसैले । भान्जी लाई सहज उत्तर दिएँ तर म भने आफ्नै उत्तरले आफैँ सन्तुष्ट भइन। म सानो हुँदा देखि नै मैले बुझेको र यो समाजले आज सम्म सिकाएको कुरा यही थियो कि आफ्नो भविष्यमा राम्रो काम पाइयोस् र दुख नपरोस् भनेर पढ्ने हो।

शिक्षाका क्षेत्रमा विभिन्न विद्वानहरूको परिभाषाहरूले  शिक्षा जीवनका लागि हुनुपर्ने, शिक्षाले मानिसको व्यवहारमा परिवर्तन ल्याउनु पर्ने र शिक्षाले सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्ने जस्ता तर्कहरू दिएको पाइन्छ। साँच्चै आजका शिक्षित मानिस खुसी र सुखी छन् त? यो विषय गहन र बिचरणिय पक्कै छ ।

एउटा बच्चा लगभग ३-५ वर्ष को उमेरमा विद्यालय प्रवेश गर्छ । त्यति बेला उसलाई न त शिक्षाको महत्त्वको बारे न केही जानकारी हुन्छ न त स्कुल जानूको उद्देश्य नै। खाली बुबा आमाले स्कुल जानुपर्छ भनेको भएर वा अरू आफ्नै उमेर का साथीहरू गएको देखेर जानुपर्छ भन्ने भावना ले प्रोत्साहन गरेर उ स्कुल जान का लागि तयार हुन्छ । त्यसो त यो उमेर पार गरेर केही परिपक्व भएका बालबालिका समेत स्कुल जान नमान्ने , भाग्ने, लुक्ने र स्कुल जाने समय मा रुने गरेका गुनासाहरू थुप्रै सुनिन्छन्।  यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन् । तर मुख्य कारण भनेको विद्यालयले ती बालबालिका लाई आकर्षित गर्न नसक्नु नै हो

हाम्रो विषय यहाँ यो समस्या भन्दा पनि पढ्ने के का लागि र कस्ता उद्देश्य राखेर पढ्छन् मानिसहरू हो। कति मानिसहरू ती उद्देश्य प्राप्त गर्न सफल भए र बिचमै विद्यालय छोड्नेहरू के साँच्चै असफल छन् त? यिनै प्रश्नहरूको उत्तर खोज्नु हो ।

आम नेपाली अविभावकहरुमा आज ठुला भनिने र नाम चलेका बोर्डिङ स्कुलमा आफ्नो बच्चा भर्ना गर्दा राम्रो पढ्ने र सफल हुने विश्वास पाइन्छ। अझ भनौँ पछिल्लो समय जतिसुकै शुल्क बढेको भनिएपनी महँगा स्कुलमा छोराछोरी पढाउने चलन प्रतिस्पर्धा कै रूपमा नेपाली समाजमा चलेको देखिन्छ । तर के ती बालबालिका ले साँच्चै आफ्नो भविष्य सुनिश्चित गर्न सक्ने ज्ञान लिएका छन् त त्यहाँ बाट ? वा उनीहरू भौँतारिरहेका छन् आफ्नो ८०% माथि को सर्टिफिकेट बोकेर कन्सल्टेन्सीहरूमा?  हामी धेरै स्कुलहरूमा राष्ट्रिय गान बजाउँछौ ` एस्सेम्बलि ´ समयमा र पढाउँछौ राष्ट्रियताको पाठ दिनभर। एउटा विद्यार्थीले सिक्ने यस्ता राष्ट्रियता का पाठहरू +२ सकेर बागबजार र पुतलीसडकका सडकहरूमा भौँतारिँदा बिलाउँछ त्यो भावना, गायब हुन्छ तनाव र वितृष्णा बनेर ।

ठुलो झोला बोकेर त्यो झोला जस्तै सपना बोकेका कति विद्यार्थीहरूले बिचमै पढाई छोड्न बाध्य हुनु परेको अर्को तितो यथार्थ पनि हामी माझ छँदै छ। सहरी क्षेत्रमा कक्षा १० सम्म पुगेका छोराछोरीको झोला बोकेर विद्यालय पुर्‍याउन आउँछन् अविभावकहरु। जब त्यही विद्यार्थी स्कुल छोडेर उच्च शिक्षा अध्ययनमा लाग्छ नि तब उसलाई लाग्छ संसारको सबैभन्दा  दुखी मान्छे मै हो। अझ आफैँ कमाएर उच्च शिक्षा हासिल गर्नुपर्ने बाध्यता भएकाहरूका लागि त “यो घाँटी को हाड बन्न पुग्छ, न निल्नु न ओकल्नु´।

विश्वमा के डिग्री लिएका मान्छे मात्र सफल छन् त? पक्कै छैनन् । हाम्रा आम नेपाली अविभावकले राख्ने अपेक्षा जस्तै यदि विद्यालय शिक्षालाई जागिर खाने वा प्रतिस्पर्धात्मक बजारमा अब्बल ठहरिइ सुखी जीविकोपार्जन गर्ने उद्देश्य सँग मात्र जोड्ने हो भने विद्यालय शिक्षा बेकार लाग्न सक्छ। दुनियाँका उच्च वर्गीय धेरै व्यक्तिहरू डिग्री ले भन्दा मेहनत, सहनशीलता, लगनशीलता र आत्मविश्वासले सफल भएका छन् । यो पुँजीवादी समाजका धेरै सम्राटहरु “युनिभर्सिटी ड्पआउट´´ छन् । उदाहरणका लागि बिल गेट्स , थोमस अल्बा एडिसन् , स्टिभ जब्स, मार्क जुकर्बग लाई लिन सकिन्छ । यी सबै डिग्री बिनाका सफल र विश्वमा आफ्नो प्रभुत्व जमाएका नामहरू हुन् । अझ नजिकको उदाहरण अलि बाबा डट कम का संस्थापक भनेर चिनिने चिनिया नागरिक ज्याक मा लाई लिन सकिन्छ । १० चोटि विश्वविद्यालय ले रिजेक्ट गरेका उनी त्यस्ता अभागी व्यक्ति बने जसले आफ्नो पहिलो जागिर का लागि दिएको निवेदन मा निवेदक मध्य एक मात्र रिजेक्टटेड उम्मेदवार बने। थुप्रै यस्ता उतारचढाव पार गर्दै उनी आज त्यति ठुलो कम्पनी को मालिक हुँदै विश्व धनाढ्य को सूचिमा छन् ।

के त समाधान ? स्कुल नजाने

पक्कै होइन । केही मानिस डिग्री बिना नै सफल भए भन्दैमा सबैले त्यो सिको गर्नु ठुलो भुल हुनेछ । शिक्षा त आखिर मानिसलाई जुनसुकै परिस्थितिमा पनि चाहिन्छ । बस् यसको लक्ष्य राम्रो जागिर खानु मा सीमित नभई जीवन र विश्व परिवेश सुहाउँदो सभ्य नागरिक उत्पादन गर्न समेत हुनुपर्दछ। यसको लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन भई प्राविधिक र व्यवहारिक शिक्षा लाई सहज बनाइनु पर्छ। ताकी कुनै शिक्षित युवा बेरोजगार नबसोस् वा +२ को मार्क्ससिट हतार हतार निकालेर पुतलीसडक बागबजार तिर विदेशी भाषा पढ्न जान नपरोस् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड