यो हप्ता विश्वभरका सञ्चारमाध्यमहरुले एउटा खबर प्राथमिकताका साथ प्रकाशन/ प्रसारण गरे। प्रसिद्ध फुटबल खेलाडी मेस्सी अब स्पेनिस क्लब बार्सिलोनामा रहने छैनन् भन्ने यो खबरले संसारभर तरङ्ग पैदा गर्यो। बार्सिलोनाले अगस्ट ५ तारिखका दिन एक विज्ञप्तिमार्फत मेस्सीसँग नयाँ सम्झौता हुन नसक्ने घोषणा गर्यो । यसअघि मेस्सी र क्लब दुवै पक्ष जुलाई १ मा सकिएको सम्झौता नवीकरण गर्न तयार रहेको समाचारहरू आएका थिए । मेस्सी र क्लबबिच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण भन्दै क्लबले अब मेस्सी नरहने निर्णय सार्वजनिक गर्यो। यो समाचारले आज विश्वभरका फुटबल प्रेमीलाई दुखी बनाएको छ। आज हामी तपाईँलाई तिनै संसारमा प्रभाव पार्न सफल महान् खेलाडीको सङ्घर्षको कथा मार्फत उत्प्रेरित गर्नेछौ।
आजका यी महान् खेलाडी एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनकी आमा अरूको घरमा भाडा माझ्ने काम गर्थिन भने उनका बुबा सामान्य कर्मचारी थिए। सानैदेखि मेहनती, निडर र आत्मविश्वासी स्वभावका थिए मेस्सी। दस वर्षको उमेरमा ‘ग्रोथ डिफिसीयनसि’ जस्तो रोगको सामना गर्नुपरे पनि उनले कहिल्यै हार मानेनन्। त्यही रोगका कारण उनले जीवनमा पटक पटक समस्या र रिजेक्सन सँग जुध्नुपर्यो तर पनि उनको पाइला कहिल्यै रोकिएन।

मध्यम वर्गीय परिवारमा शारीरिक समस्या लिएर जन्मिनु नै तत्कालीन अवस्थामा उनका लागि सबैभन्दा ठुलो चुनौती थियो। आर्थिक समस्याकै कारण उनको उपचार राम्रो सँग हुन सकेन। उचाइ सानो भएकै कारण उनी साथीहरूबिच मजाकको पात्र बन्थे भने ११ वर्षकै उमेरमा उनलाई हाइट नपुगेको भन्दै स्कुलको फुटबल टिमबाट निकालियो। यो समय उनका लागि निकै कठिन समय थियो। उनीसँग रोएर बस्नुबाहेक अरू कुनै विकल्प थिएन। फुटबलमै केही गर्ने दृढ इच्छाशक्ति भएका उनलाई रोएरै बस्न मन लागेन र आफ्नो उद्देश्यमा अडिग रहनका लागि जस्तोसुकै समस्या आए पनि फुटबल खेल्न नछोड्ने निर्णय उनले गरे। आफ्नो सर्वस्व लगाएर फुटबल खेलिरहेको त्यो केटोमाथि संयोगले बार्सिलोना यूथ क्लबका डाइरेक्टरको नजर पर्यो। उनको खेलबाट प्रभावित भएका डाइरेक्टरले उनको उपचार गर्ने घोषणा गरे। त्यसपछि मेस्सी फुटबल खेल्नका लागि स्पेन गए।
त्यहाँ पनि सानो हाइटकै कारण उनलाई धेरैपल्ट टिमबाट निकालियो। टिममा राखे पनि उनका साथीहरू उनलाई बल पास दिँदैनथे। तर जब मेस्सिले बल भेट्थे उनी धेरै बेर सम्म आफ्नो खुट्टाले बल नचाइरहन्थे र आफ्नो जादुमयी खेल देखाउँथे। साथीभाइ को हेपाइको वापजुत पनि उनी आफ्नो खेल कौशलका कारण गिनिज बुकमा नाम लेखाउन सफल भए। त्यसपछि उनले आफ्नो जीवनमा पछाडि फर्केर हेर्नुपरेको छैन। उनी धेरै चोटि वेस्ट प्लेयरको उपाधिले सम्मानित भएका छन्। उनको खेलबाट प्रभावित भएर त्यस ठाउँमा मेस्सी नाम राख्ने ट्रेन्ड नै चल्यो जसका कारण त्यहाँ उक्त नाम राख्न प्रतिबन्ध लगाइयो।
मेस्सिको फुटबल प्रतिको पागलपन, लगनशीलता र मेहनत नै त्यो फर्मुला हो जसका कारण आज उनी विश्वभर प्रख्यात छन्। यदि उनले सबैको हेपाइका कारण आफ्नो सपनालाई बन्द कोठाभित्र थुनेर राखेका भए आज उनी संसारभरि चिनिने थिएनन्। त्यसैले आफ्नो सपना पुरा गर्न जस्तोसुकै समस्या आइ लागे पनि मेहनत, धैर्य र लगनशीलताका साथ अगाडी बढ्यौ भने हामी कहिल्यै विफल हुँदैनौ। जीवनमा यी कुराहरूको पालना गर्न सके हामीले देखेको त्यो सपनाको संसार हाम्रै अगाडि हुनेछ।