Matra Education आइतबार, साउन १० २०८३

विशेष सम्पादकीय: एक पाइलाबाट हजार माइलको यात्रा सुरु

विशेष सम्पादकीय: एक पाइलाबाट हजार माइलको यात्रा सुरु

  • रमेश लामिछाने
  • बिहिबार, साउन २८ २०७८


आदरणीय पाठक तथा शिक्षा प्रेमी महानुभावहरू,

शिक्षा मानव विकासको अपरिहार्य तत्त्व मात्र नभई  भौतिक विकासका पूर्वाधारहरू मध्य पनि अति जरुरी पूर्वाधार हो।  ढुङ्गे युगबाट सुरु भएको मानव सभ्यतालाई आजको उत्तर आधुनिक समाज तिर लम्काउनका लागि शिक्षा र चेतनाको ठुलो भूमिका रहेको छ। मानव मस्तिष्कमा रहेको चेतना र सिक्न खोज्ने क्षमताले नै उसलाई संसारको सर्वश्रेष्ठ प्राणीको पहिचान दिएको हो । त्यसैले त शिक्षालाई व्यक्तिको जीवन परिवर्तन गर्न सक्ने सबैभन्दा शक्तिशाली हतियार भनिन्छ।

शिक्षाविद् जोन डिवेले व्यक्तिको शिक्षण कोक्रोबाट सुरु भई चिहानमा अन्त्य हुने धारणा व्यक्त गरेका छन्। यही परिभाषालाई हेर्ने हो भने पनि मानव जीवनमा सिकाइको महत्त्व कति छ भन्ने कुरा प्रस्ट हुन सकिन्छ।  नेपाली समाजमा स्कुल जाने उमेर समूहका बालबालिका वा औपचारिक विद्यालय /विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहलाई मात्रै सिकाइको जरुरत रहेको ठानिन्छ।  तर व्यक्तिलाई उसको व्यक्तिगत/ व्यावसायिक विकासका लागि जीवनका प्रत्येक पाइलामा ज्ञानको जरुरत हुन्छ। जीवनका उतार चढाव र भोगाइहरू पनि मानवको गुरु हुने हुँदा सन् १९९० को दशकमा ”learning by doing” अर्थात् गरेर सिक्ने विधिको विकास भएको पाइन्छ।

नेपालको संविधान २०७२ ले  शिक्षालाई मौलिक हकका रूपमा व्याख्या गरे पनि अझै सयौँको सङ्ख्यामा नेपाली बालबालिका विद्यालय भन्दा बाहिर छन्।  त्यसबाहेक अन्य उमेर समूहलाई दिइने अनौपचारिक शिक्षा पनि नगण्य मात्रामा  सञ्चालित छन्।  शिक्षा क्षेत्रमा कार्य गर्ने भनी सञ्चालन अनुमति पाएका गैरसरकारी संस्थाको भूमिका खासै प्रभावकारी देखिएको छैन।  त्यस्ता संस्थाले आफ्ना नजिकका र पहुँचवालालाइ मात्रै सुविधा दिने गरेको विषय नेपाली समाजमा नौलो छैन। शिक्षामा गरिएको लगानीले उचित प्रतिफल दिन नसक्नु, शिक्षामा असमानता कायम रहनु र स्थिर प्रशासनिक तथा राजनीतिक प्रणालीको विकास हुन नसक्नु नेपाली शिक्षा क्षेत्रका प्रमुख समस्या हुन।

उल्लिखित समस्याका वापजुत विश्वलाई नै घाटिको  हाड बनेको कोभिड १९ पनि नेपाली शिक्षा क्षेत्रको विद्यमान चुनौती हो।  खास गरी रोगबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताका कारण औपचारिक शिक्षा प्रदान गर्ने  संस्थाहरू बन्द छन् भने विकल्पका रूपमा प्रयोग गरिएको अनलाइन माध्यम पनि प्रभावकारी हुन सकेको छैन।  यसले नेपाली  शिक्षण संस्थाहरूलाई प्रविधिमैत्री हुनुको विकल्प छैन भन्ने सन्देश दिएता पनि ग्रामीण भेगमा प्रविधिको सहज पहुँच नहुँदा यसले शिक्षा क्षेत्रमा विद्यमान असमानतालाई अझै प्रशय दिएको छ।  त्यस कारण अब कोभिडपछि नेपालको शिक्षा कस्तो हुने भन्ने कोणबाट बहस गर्नुपर्ने भएको छ।

शिक्षा क्षेत्रको महत्त्व र यो क्षेत्रमा रहेका समस्याहरूलाई बुझ्दै समाधानको लागि सार्थक पहल थाल्ने योजना सहित हामीले मात्र एजुकेसन नामक न्युज पोर्टलको सुरुवात गरेका छौ।  ऊर्जावान् तथा सृजनशील युवा पत्रकारहरूको एउटा समूहले संचालन गरेको यस न्युज पोर्टलले शिक्षा सम्बन्धी समाचार, विचारहरूको प्रकाशन/ प्रसारण गरी शिक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने, यो क्षेत्रमा रहेका विकृति, विसङ्गति विरुद्ध दरिलो आवाज उठाउने र शिक्षा सम्बन्धी सम्पूर्ण विषयहरू समेट्दै पाठक/ दर्शकहरूको एक मात्र विश्वासिलो सारथि बन्ने लक्ष्य राखेको छ ।

हामीले निर्धारण गरेका यी उद्देश्यहरू पुरा गर्नका लागि हामीलाई देशका सम्पूर्ण शिक्षक, विद्यार्थी, शैक्षिक संस्था तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने तपाईँ सम्पूर्णको साथ अपरिहार्य छ।  हाम्रा राम्रा कन्टेन्टहरूलाई प्रोत्साहन गर्ने र हाम्रा कमी कमजोरीहरूमा रचनात्मक सल्लाह सुझाव दिँदै त्यसलाई गुणस्तरीय बनाउन सहयोग गर्नुभयो भने हामी पक्कै पनि तपाइको शैक्षिक सारथि बन्न सक्नेछौ।  हरेक परिस्थितिमा हाम्रो कलम तपाइलाई विश्वासिलो  सूचना र समाचार पुर्‍याउनमा  केन्द्रित हुनेछ भने त्यही विशेषता र तपाईँ सम्पूर्णको साथको कारण हामीले आज तय गरेको हजारौँ माइलको यात्रा को सफल सुरुवात यही एउटा पाइलाबाट हुनेछ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड