माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भए सँगै नेपाली कलेजहरू विद्यार्थी भर्नाको अभियानमा छन् । त्यस्तै विद्यार्थीहरू पनि आफूलाई उपयुक्त शैक्षिक गन्तव्य छनोट गर्न व्यस्त छन् । यसै सन्दर्भमा हामीले बुढानीलकण्ठ स्थित कपन भंगालमा रहेको भ्याली पब्लिक स्कुलको प्लस टु का बारेमा तपाईँलाई जानकारी दिने उद्देश्यका साथ भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी सँग कुराकानी गरेका छौ। प्रस्तुत छ कुराकानीको सम्पादित अंस ।
१) उत्कृष्ट प्लस टु छनोट गर्न के गर्ने ? कुनै पनि शैक्षिक संस्था उत्कृष्ट हुनको लागि कस्तो हुनुपर्छ ?
हेर्नुस् यसका विभिन्न आधारहरू छन्। एउटा कलेजमा दुई हजार, तीन हजार विद्यार्थी पढाएर, भाडाको घरमा नाम मात्रैको कलेज गरेर त्यहाँ भित्र कसरी उत्कृष्ट शिक्षा दिन सक्छन् होला र ? अभिभावकले हेर्दा राम्रो घर होस्, खेल्ने ठाउँ होस,कोठाहरू तीन वटा झ्याल भएको होस्, एउटा झ्यालबाट अर्को झ्यालमा हावा छिर्ने होस्, विद्यार्थीहरूले प्राक्टिकल गर्न मिल्ने होस, त्यहीँ भित्र स्मार्ट बोर्डहरू, प्रोजेक्टर होस, ११/१२मा पढ्ने विद्यार्थीहरूको लागि लाइब्रेरी होस्। विद्यार्थीहरू पढ्नको लागि कोठा छिरेपछि नआत्तिने वातावरण होस्, शिक्षकले त्यहीँ भविष्य देखोस्, त्यसैले यस्ता धेरै कुरा मिल्नुपर्छ जस्तो लाग्छ । अभिभावकले ३/४ लाख फि मा ५०% छुटमा मैँले मेरो बच्चाको भर्ना गराएँ भनेको सुन्छु। त्यसो गर्नुभन्दा नढाँटीकन १ लाख रुपैयाँ लिएर एक सुको पनि छुट नदिएर पढाउँदा राम्रो कि ३ लाख रुपैयाँ लिएर ५०% छुट दिनु राम्रो हो ? यो भ्रमको अन्त्य छिट्टै हुन्छ । शिक्षालाई सहज बनाउनुपर्छ, शिक्षालाई पहुँच मुक्त बनाउनुपर्छ। त्यसो नभए विद्यार्थीहरू सिपसँग जोडिँदैनन्, सिक्ने वातावरण पनि पाउँदैनन्, एउटा कोठामा ५० जना बच्चालाई केको सीप सिकाउने हो र? त्यसकारण नेपालको प्लस टु अन्योलमा छ। अन्योलमै विद्यार्थी पास हुन्छन् र बिदेसिन्छन् । यसको मारमा चाहिँ नेपाल बनाउँछु भन्ने विद्यार्थी पर्नु भएको छ । त्यस्तै केटाकेटीले भनेपछि केही कुरा नाइँ भन्न नसक्ने अभिभावकहरू पनि ठुलो मारमा पर्नु भएको छ ।
२) भ्याली पब्लिक किन पढ्ने भन्ने जिज्ञासा विद्यार्थी तथा अभिभावकलाई हुनसक्छ। भ्याली पब्लिकले आफ्ना विद्यार्थीहरूलाई के दिन्छ ? यहाँ किन +२ पढ्ने ?
भ्याली पब्लिक स्कुलले आफ्ना विद्यार्थीलाई पुस्तकमा मात्रै निहित गर्दैन। पुस्तकलाई एउटा आधार मात्र बनाएर हिँड्छ। सामान्य एउटा शिक्षकले पुस्तकलाई जीवन सँग गाँस्न खोज्छ, त्यसलाई परिवार सँग जोड्न खोज्छ, समाजसँग जोड्न खोज्छ, एउटा संस्कृति र सभ्यताको पाटो यो हो । भ्याली पब्लिक पढ्ने विद्यार्थीहरूका लागि थुप्रै सुविधाहरू हामीले दिएका छौँ। कक्षाकोठा राम्रो छ, लाइब्रेरी राम्रो छ, ८ हजार भन्दा बढी पुस्तकहरू छन्, बच्चा बच्चीहरूलाई अनलाइन लाइब्रेरीको व्यवस्था छ। प्रत्येक बच्चालाई एउटा कम्प्युटर छ, स्मार्ट क्लासहरू छन्, फुटसल छ, गायन नृत्यका छुट्टै रुमहरू छन्। विद्यार्थीहरू यहाँबाट बाहिर निस्किँदाखेरि उ अरू भन्दा फरक विद्यार्थी बन्न सक्छ । जति बेला उ २५ वर्षको हुन्छ, त्यो बेला उसले विज्ञान सिकेको हुन्छ, राजनीति सिकेको हुन्छ, उसलाई सबै कुराले फराकिलो बनाएको हुन्छ, उ सीप सँग जोडिएको हुन्छ । उसले बिग्रेको रेडियो बनाउन पनि जानेको हुन्छ,आफ्नो बत्ती बिग्रियो भने पनि बनाउन जानेको हुन्छ र उसले मानवीय रूपमा एउटा कमिलो पनि कुल्चेर मार्नु हुन्न भन्ने बुझेको हुन्छ। आज मेरो घरमा बुवा बिरामी हुनुहुन्छ त्यसकारण साथीको घरमा पार्टीमा जान्न, बुवाको सिरमा चिसो पानी लगाएर सन्चो बनाउँछु भन्ने त्यो खालको आदर्श सिकेको हुन्छ। त्यो आदर्श भ्याली पब्लिकले सिकाउँछ ।
३) भ्याली पब्लिक पढ्न आउने विद्यार्थीले प्लस टु मा कुन कुन विषय पढ्न पाउँछन् ?
यहाँ आउने विद्यार्थीले दुई वटा मात्रै विषय पढ्न पाउँछ। हामीले प्लस टु मा विज्ञान र व्यवस्थापन मात्रै पढाउँछौ। हामी सँग ६०जना भन्दा धेरै पढाउने ठाउँ पनि छैन। किन भन्दा स्कुलमा नै ९ सय भन्दा बढी विद्यार्थी छन्। त्यहाँ फेरि अरू बच्चाहरू थप्दा भिड हुन्छ र हाम्रो उद्देश्य पुरा हुन सक्दैन।
४) भ्याली पब्लिकमा पढाउने फ्याकल्टी अन्यमा भन्दा कसरी फरक छन् ?
टिचरहरूको एकदम राम्रो टिम छ। कोही इन्डियामा पढ्नु भएका गोल मेडलिस्ट, नेपालमा पनि एकदम राम्रो माक्स ल्याउनु भएको र मिनिमम पनि ५ वर्ष पढाएका, यस्तो टिचरहरूको टिम छ । मैँले के भनेको छु भने +२ पढाएका विद्यार्थीहरूको फि भनेको सम्पूर्ण तपाईँहरूको फि हो। यदि घाटा भयो, पुगेन भने म सँग भन्नुहोस्, होइन भने यो पैसा मलाई एक पैसा पनि चाहिँदैन भनेको छु। त्यसैले कुनै पनि राम्रो ठाउँमा पढाउने टिचरलाई भन्दा मैँले यहाँ पढाउने टिचरलाई २ हजार बढी दिएको छु ।
५) विद्यार्थीहरूको एउटा आरोप के छ भने स्कुल पढ्दासम्म थुप्रै अतिरिक्त क्रियाकलापमा सहभागी गराइन्छ। तर +२ मा आइसकेपछि पढाइमा मात्रै फोकस गरियो भनिन्छ। भ्याली पब्लिकमा +२ को सन्दर्भमा के छ ?
जसले रेन्टमा पढाएको छ २ रोपनी को स्कुलमा १२ सय बच्चा राख्छ उसले कहीँ केही पनि गराउँदैन। नाम मात्रैको कम्प्युटर ल्याब हो। नाम मात्रै साइन्स ल्याब, नाम मात्रैको फुटसल ग्राउन्ड, त्यहाँ बच्चाबच्चि र अभिभावक ठगिएका छन्। त्यहाँ कुनै पनि अतिरिक्त क्रियाकलाप छैन । जसको आफ्नै बिल्डिङ छ, खेल मैदान छ, भलिबल कोर्ट छ, फुटसल छ, टेबुल टेनिस खेलाउने ठाउँ छ, डान्स गर्ने, म्युजिक सिक्ने ठाउँ छ। उहाँहरू कोमा अतिरिक्त क्रियाकलाप गर्न कुनै समस्या छैन। भ्याली पब्लिकमा प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप हुन्छन्। स्कुल भित्र मात्रै नभएर स्कुल बाहिर पनि प्रतिस्पर्धा हुन्छन् र धेरै जितेका पनि छौँ ।
६) तपाईँले यति धेरै विशेषताहरूको चर्चा गरिरहँदा भ्याली पब्लिक त महँगो होला भन्ने जिज्ञासा विद्यार्थी तथा अभिभावकमा हुनसक्छ। भ्याली पब्लिकको +२ मा शुल्क संरचना कस्तो छ ?
महिनाको साइन्सको ६ हजार, म्यानेजमेन्टको ५ हजार छ। भर्ना फि २० हजार छ। भ्याली पब्लिकका विद्यार्थीका लागि ५०% छुट छ। ल्याबमा होटेल म्यानेजमेन्टको ८ हजार छ। साइन्सको महिनाको १ हजार छ। लुकाउनु पर्ने केही पनि छैन। नेपाल सरकारको नियम अनुसार छात्रवृत्तिको पनि व्यवस्था छ ।
७) +२ पछिको शिक्षा के हुने भन्ने विषय पनि आज नेपालको शिक्षा जगतमा बहसको विषय बनेको छ। +२ पढ्दै गरेका ९०% विद्यार्थीलाई के गर्छौ भनेर सोध्यो भने विदेश जान्छौँ भन्छन्। नेपालको +२ पछिको शिक्षा हुनुपर्ने कस्तो हो? अहिले भइराखेको कस्तो छ ?
अहिलेको विद्यार्थीहरू प्राइभेट स्कुलमा पढ्दा ऊनीहरूलाई दुख छ। ऊनीहरू के गर्न चाहन्छन् भने कमाएर बाआमालाई दुख नदिएर आफै उच्च शिक्षा विदेश बाट लिन चाहन्छन् । र आफूले गरेको खर्च उठाउन चाहन्छन् । धेरै विद्यार्थीहरू विदेश गएर नेपाल किन आउँदैनन् भने उनीहरूले डलरमा पैसा तिरेका हुन्छन् र डलरमै कमाउन चाहन्छन्। त्यही भएर पनि फिर्ता हुन चाहँदैनन् । यदि यहाँ साना साना पार्ट टाइम काम गर्ने पाउने, आफ्नो खर्चको लागि घरबाट आमाबुवा सँग पैसा माग्न नपर्ने हो भने र यही पढिसकेपछि स्थायी जागिर पाउने हो भने आफ्नो परिवार सँग रमाएर कमाउन पायो भने कोही पनि विदेश जाँदैनन् ।
८) अन्त्यमा भ्याली पब्लिक बारे बुझ्न चाहने विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
प्लस टु को छनोट एकदमै महत्त्वपूर्ण छनोट हो। विचार गरेर मात्रै निर्णय लिन सुझाव दिन चाहन्छु। भ्याली पब्लिक आउनुभयो भने तपाईँ निराश हुनुपर्दैन। हामी तपाईँको भविष्य निर्माणका लागि प्रतिबद्ध छौँ। धन्यवाद