Matra Education आइतबार, साउन १० २०८३

शिक्षा प्रणाली तथा स्वरूपको नालीबेली: गुरूकुलदेखि आधुनिक विज्ञान, प्रविधिसम्म

शिक्षा प्रणाली तथा स्वरूपको नालीबेली: गुरूकुलदेखि आधुनिक विज्ञान, प्रविधिसम्म

  • इश्वरीप्रसाद पोखरेल
  • शनिबार, पौस १२ २०८२


लेखसार
शिक्षा सिकाइका विषय वस्तु र विद्यार्थीको सिक्ने क्षमता अनुसार जनशक्ति विकास पनि तहगत रूपमा चार किसिमका हुन्छन्। जस्तै: आधारभूत तह (कक्षा १-८ )को शिक्षा- (प्राथमिक,निम्न) हुन्छ।जसको उद्देश्य जनतालाई साक्षर गर्दै सामान्य नागरिक चेतनाबाट व्यक्ति,परिवार र समाजलाई सुरक्षित गर्नुहुन्छ। एकीकृत आधारभूत पाठ्य विषय वस्तुमा व्यवहारिक ज्ञान र सिप समावेश हुन्छ।

माध्यमिक तह (कक्षा ९-१२ )को शिक्षा- (निम्न मध्यम, मध्यम) सिपको हुन्छ। सार्वजनिक सेवा वा सरकारी सेवा वा निजी क्षेत्रमा निम्न र मध्यम स्तरको सिपको जागिर खान योग्य हुन्छ।आफ्नै स्वतन्त्र पेसा, व्यवसाय वा उद्यम सञ्चालन गर्ने क्षमता विकास हुन्छ। यो तहको शिक्षाको उद्देश्य औपचारिक तथा अनौपचारिक क्षेत्रमा व्यावसायिक, प्राविधिक सहयोगी तथा विषयगत सहायकको जिम्मा लिएर काम गर्न सक्ने जनशक्ति तयार पार्ने गरी विषयवस्तुको शिक्षा समावेश हुन्छ।
उच्च तह ( स्नातक तह र माथि) को शिक्षा-(विषय विशिष्टीकृत,विषय विज्ञ)तयार पार्ने हुन्छ। कलेज,विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान हरूमा दिइने जुन सुकै विषयको दर्शन शास्त्रीय सैद्धान्तिक ज्ञान,पेसागत व्यवहार सिप हासिल गरिन्छ। व्यक्तिमा विज्ञता र विषय क्षेत्रगत व्यावसायिकता, प्राविधिक कार्य क्षमता विकास गर्ने शिक्षाको उद्देश्य हुन्छ। विषय क्षेत्रको नेतृत्व दायी भूमिका, क्षेत्रगत जिम्मेवारी बहन र नतिजाप्रति जवाफदेही हुने विशिष्ट नागरिक वा कुशल जनशक्ति उत्पादन गर्ने विषयवस्तुको शिक्षा उच्च तहमा समावेश हुन्छ।

अनुसन्धान तह ज्ञान (विज्ञता) को विस्फोट गर्ने शिक्षा हुन्छ। कुनै पनि विषयको सुक्ष्म ज्ञान, विश्लेषण र खोज अनुसन्धानबाट नवीन धारणा, सिद्धान्त, मत वा विचारको उत्पादन गर्न अनुसन्धान उद्देश्य हुन्छ। उच्च शिक्षा तहमा विशिष्ट अध्ययन,अनुसन्धान,मिल्दा-नमिल्दा, निरपेक्षता र सापेक्षतामा विविध उद्देश्य हुन्छ। विषयको तुलनात्मक समीक्षा गरिन्छ। यसैले रौं चिरा सुक्ष्म तार्किक क्षमता सहित आफ्नो मत स्थापित गर्नुलाई अनुसन्धान तहको शिक्षा मानिन्छ। कुनै पनि विषयमा विशेष अध्ययन एमफिल, विद्यावारिधि, महा विद्यावारिधि जस्ता उपाधि लिन अनुसन्धान गर्नुु पर्दछ। त्यस्तै विशिष्ट शैक्षिक उपाधि विश्वविद्यालयबाट हासिल हुनु,गर्नु र त्यसलाई शैक्षिक जगतले मान्यता दिनु अनुसन्धान तहको शिक्षाका जनशक्ति तयार हुनु हो, भनिन्छ।

माथिका चार किसिमको शिक्षा तह जुनसुकै विश्व जगतमा राज्यबाट निर्धारण भए बमोजिम शिक्षाको स्वरूप र संरचना कार्यान्वयन हुन्छ। यसैले कुनै पनि शिक्षा पद्धति आफ्नो मुलुकको आवश्यकता अनुसार नीति निर्धारण तथा संरचना विकास गरेर सरकारले लागु गर्दछ।

शिक्षा प्रणाली तथा स्वरूपको नालीबेली
(गुरूकुलदेखि आधुनिक विज्ञान,प्रविधिसम्म) लेख शिक्षा र जनशक्ति उत्पादन अवस्थामा केन्द्रित छ। देशको आर्थिक,भौतिक, मानवीय तथा सामाजिक अवस्थाको यथार्थ पक्ष स्पष्ट किटान गरी सरकारले आफ्नो सुविधा अनुसार देशमा शिक्षा स्वरूप, संरचना तथा शिक्षा प्रणाली लागु गर्नु उपयुक्त हुन्छ। यो लेखमा गुरूकुल प्रणाली देखि आधुनिक शिक्षा पद्धति,आजको विज्ञान तथा प्रविधि सम्मको शिक्षा पद्धति विकास, कार्यान्वयन र जनशक्ति विकासको अवस्था र उत्पादन पहिचान गर्ने प्रयास भएको छ। शिक्षा प्रणालीको समस्याको नालीबेली, उपलब्ध सकारात्मक नतिजा र प्रभाव, सामना गर्नुपरेका चुनौती तथा विद्यमान अवसर तथा हुनुपर्ने नीतिगत पक्षबारे संक्षिप्त प्रकाश पार्ने जमर्को गरिएको छ। यो लेखबाट सर्वसाधारण जनता, विद्यार्थी, शिक्षक, लेखक,अनुसन्धाता,समाजसेवी,राजनीतिज्ञ सबै लाभान्वित हुने विश्वास छ।

१. विषय प्रवेश

शिक्षा ज्ञान,सिप र दक्षता सार्वभौम र विश्वव्यापी हुन्छ। तापनि शिक्षण भाषा, सिक्ने संस्कृति र विषयवस्तुले शिक्षाको स्वरूप,संरचना र पद्धतिको निर्धारण गर्दछ। नेपालको शैक्षिक इतिहास खोतल्दा नेपालका शासकहरू किराँत, लिच्छवि, मल्ल,शाह र राणा कालिन शासन अवधि खोतल्नु पर्दछ। प्राचीन शिक्षा विश्व भरनै धर्म र संस्कृतिमा आधारित हुनाले नेपालमा गुरूकुल/ आश्रम तथा बौद्ध शिक्षा नै मुख्य रह्यो।

गुरूकुल शिक्षाको आधारभूमि सनातन धर्म अनुयायी देश भारत तथा नेपाल नै मुख्य हुन्। ऐतिहासिक कालमा आर्यावर्त सनातन संस्कृतिको फैलावट विशाल क्षेत्रमा थियो। अफगानिस्तान,बर्मा, पाकिस्तान, श्रीलङ्का तथा बङ्गलादेश जस्ता देशका भूभागमा प्राचिन गुरूकुल, बुद्ध मतका धार्मिक शिक्षा नै चल्दथ्यो।
त्यतिबेला आधारभूत तथा मध्यमस्तरको शिक्षा प्राप्ति पछि उच्च शिक्षा ग्रहणका लागि तक्षशिला, नालन्दा जस्ता विश्वविद्यालयहरू अति प्रसिद्ध र राज्य सरकारका ज्ञान भण्डारका वैभव थिए।
यी विश्वव्यापी शिक्षा केन्द्रमा भारत, मध्य एसिया, चीन, पर्शिया आदि देशका विद्यार्थीहरू अध्ययन गर्न आउँथे। तर राजनीतिक अशान्ति, आक्रमण तथा राजकीय संरक्षणको अभावले दीर्घकालीन रूपमा तिनीहरूको अस्तित्वलाई असर गर्‍यो।

यो लेखमा गुरूकुल शिक्षाको उत्थान,पतन, आधुनिक शिक्षा पद्धति, जनशक्ति विकास र विद्यमान शिक्षा ( साधारण, प्राविधिक, व्यवसायिक मध्यम तथा उच्च विश्वविद्यालय तह) का सबलता, समस्या र चुनौती तथा समाधान र अवसरका विषयमा प्रकाश पार्ने विषयवस्तु केलाउने प्रयास भएको छ।

२. नेपालमा शिक्षा प्रणालीको विकास

नेपालको किराँत, लिच्छवि र मल्ल शासनमा सामाजिक संरचना, धर्म–संस्कृति र शासन प्रणालीसँग शिक्षाअवस्था प्रत्यक्ष जोडिएको थियो, इतिहासले त्यसै भन्छ।

२.१.किराँत काल(करिब ई.पू. ७००– ई.सं. ३००)
शिक्षा स्वरूप: अनौपचारिक र मौखिक हुनाले घर, गोठ, वन–जंगल र समुदाय नै शिक्षाका केन्द्र थिए। मुख्य विषयहरूः कृषि, पशुपालन तथा सिकार सिप,युद्धकला र शारीरिक तन्दुरूस्ती तालिम,प्रकृति पूजा, संस्कार र परम्पराको अनुपालन, मौखिक पौराणिक तथा दन्ते कथा, गीत र संस्कार किराँती तथा स्थानीय भाषाहरू प्रयोग गरेर दिइन्थ्यो। लेखन प्रणाली विकसित नभएको वा लेखन सामग्रीको अभावले गर्दा श्रुति परम्परा प्रधान थियो।तापनि शिक्षाजीवनोपयोगी र व्यवहारिक तथा जातीय, वर्गीय विभेद अत्यन्त कम थियो।

२.२. लिच्छवि काल (ई.सं. ३०० – ८७९)

शिक्षा स्वरूपः व्यवस्थित र संस्थागत हुँदै -मठ, मन्दिर, विहार, आश्रम, गुरुकुलमा समेटिन थाले र शिक्षाका केन्द्र छुट्टै खडा भए।संस्कृत तथा बौद्ध शिक्षा दिने देव नागरी तथा ब्राह्मी/गुप्त लिपिको नै प्रमुख शैक्षिक भाषा प्रयोग हुन थाल्यो।राजा तथा भारदारहरूले शिक्षा र विद्वानलाई संरक्षण दिए।यो बेलाका अभिलेखहरूमा शिक्षित समाजको प्रशस्त प्रमाण पाइन्छ। शिक्षा धर्म, संस्कृति केन्द्रित तर व्यवस्थित र मर्यादित थियो। ब्राह्मण र भिक्षुहरू नै मुख्य शिक्षक बने, बनाइए।

२.३. मल्ल काल (ई.सं. १२०० – १७६८)

शिक्षा स्वरूपः संस्थागत तर विविध बन्दै- मठ,विहार, पाठशाला, टोल शिक्षा केन्द्रमा विकसित हुन थाले। संस्कृत सँगै नेवारी (नेपाल भाषा) को प्रयोग बढ्यो। संस्कृत र नेवारी दुवैमा ग्रन्थ र नाटक लेखिए। भनिन्छ, प्राय मल्ल राजाहरू स्वयं विद्वान हुनाले शिक्षा, साहित्य र कलालाई दरबारी संरक्षण थियो। शिक्षा धार्मिक संस्कार संगसँगै सांस्कृतिक र कलात्मक बन्दै गयो।यसैले नेवारी साहित्यको स्वर्ण युग यही काल बन्यो र काठमाण्डौ उपत्यका नेपाली संस्कृतिको मुख्य थलो हुन पुग्यो।

समग्रमा नेपालका किराँत, लिच्छवि र मल्ल कालीन शिक्षा व्यवस्थासँग भारत वर्षको प्राचीन शिक्षा प्रणाली पनि अत्यन्त मिल्दो जुल्दो रहेको लाग्दछ। परम्परागत शिक्षा प्रणाली आजको आधुनिक शिक्षा भन्दा पनि धेरै सादा जीवन उच्च विचारको मूल्य,अनुशासन र समग्र वैयक्तिक व्यक्तित्व विकासमा आधारित थियो, जसले विश्व शिक्षाको इतिहासमा नेपाल, भारत तथा पूर्वी एशियालाई नै उदारता र विशिष्टताको लागि गौरवपूर्ण स्थान दिलाएको छ।

३. गुरूकुल शिक्षा मुख्य–मुख्य ग्रन्थ र विषयवस्तुहरू

गुरुकुल शिक्षा प्रणालीमा अध्ययन अध्यापन गरिने मुख्य–मुख्य ग्रन्थ र विषयवस्तुहरू वैदिक शिक्षा तथा परम्परागत सनातन मूल्य,मान्यतामा आधारित हुन्छन्। गुरुकुल शिक्षाको मुख्य आधार नै वेद तथा पूर्वीय दर्शनहरू हुन्।

३.१. चार वेद र तिनका कार्यक्षेत्रहरू
ऋग्वेद – सूक्त, मन्त्र, देवताहरूको स्तुति,
यजुर्वेद – यज्ञ–संस्कारका नियम,
सामवेद – संगीत, सामगान,
अथर्ववेद – आयुर्वेद, नीति, दैनन्दिन जीवनका मन्त्र

३.२.वेदाङ्गहरू (वेद अध्ययनका सहायक छ शाखाहरू)
-शिक्षा – उच्चारण, स्वर, ध्वनि,निरुक्त – शब्दार्थ, व्युत्पत्ति,व्याकरण – संस्कृत व्याकरण (मुख्यत: पाणिनि अष्टाध्यायी),छन्द – छन्दशास्त्र, कल्प – विधि, संस्कार, यज्ञपद्धति तथा ज्योतिष – खगोल तथा पञ्चाङ्गगणना,

३.३. उपनिषद्हरू ज्ञान, आत्मा, ब्रह्म, मोक्ष आदि विषयका दार्शनिक ग्रन्थ। (ईश, केन, कठ, मुण्डक, माण्डूक्य आदि),

३.४.स्मृति ग्रन्थहरू- मनुस्मृति, याज्ञवल्क्य स्मृति आदि—धर्म, आचार, सामाजिक नियम,

३.५. धर्मसूत्र तथा गृह्यसूत्र—गृहस्थ जीवन र संस्कार,

३.६. दर्शन (षड्दर्शन)-सनातनी (भारतीय) दर्शनका छ मुख्य शाखाहरू: न्याय,वैशेषिक, साङ्ख्य,योग, मीमांसा तथा वेदान्त,

३.७. इतिहास / पुराण- रामायण,महाभारत (विशेषत) श्रीमद्भागवत महापुराण लगायतका १८ पुराण तथा उपपुराणहरू,

३.८. नीतिशास्त्र र कथासाहित्य-हितोपदेश, पञ्च तन्त्र, नीतिशतक आदि।

३.९. आयुर्वेद र जीवनोपयोगी विद्या-चरक संहिता, सुश्रुत संहिता (मुलभूत स्तर),योग, ध्यान, ब्रह्मचर्य, धनुर्वेद (युद्धविद्या), संगीत, हस्तकला, कृषि– पशुपालन आदि,

३.१०. गणित र ज्योतिष-वैदिक गणित, संख्या शास्त्र ,खगोल, नक्षत्र–गणना, पञ्चाङ्ग पद्धति।

४. गुरूकुल शिक्षाका सबलताहरू

गुरूकुल शिक्षा पद्धति आज पनि महत्वपूर्ण र सम्मानित छ। गुरूकुल शिक्षा पद्धति प्राचीन भारतीय (वैदिक) समयदेखि प्रचलित एउटा समग्रता बोकेको अनुशासित र गुरु–शिष्य परम्परामा आधारित आवासीय शिक्षा प्रणाली हो। गुरुकुल शिक्षा पद्धतिमा विद्यार्थी (शिष्य)ले आफ्नो गुरु (आध्यात्मिक वा शैक्षिक गुरु) संगै अनुशासनमा बसेर कठोर परिश्रमका साथ जीवन–कौशल, नैतिकता, अनुशासन, शास्त्र, युद्धकला र सामाजिक व्यवहार कुशल कार्यहरू सिक्ने गर्दछन्।

यो पद्धतिमा सर्व ज्ञाता वा ईश्वरका रूपमा गुरूको सम्मान गरिन्छ। जिज्ञासु शिष्यका रूपमा परमात्मा सेवक वा सादगी गृहस्थ जीवन चलाउने कुशल ज्ञान र दक्षता हासिल गर्ने परम्परागत प्रणाली नै गुरूकुलको शिक्षा हो। गुरुकुल प्रणालीको सामाजिक मूल्य वा योगदानको प्रभाव आज पनि सनातनी समाजमा धेरै गहिरो पाइन्छ।

व्यक्तिमा सत्चरित्रता, नैतिकता, अनुशासन,वैदिक/दार्शनिक ज्ञान, योग–ध्यान मुख्य मानिन्छ। विगतमा जसरी सञ्चालन भएपनि आधुनिक गुरुकुल शिक्षा पद्धति आकर्षक रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार – भवनहरू, शैक्षिक व्यवस्था, दैनिक जीवन निर्वाह खर्च सुनिश्चितता, शिक्षक– विद्यार्थी सम्बन्ध,अनुशासन र व्यवस्थापन जस्ता पाँच मुख्य क्षेत्रमा सञ्चालकले विशेष ध्यान पुराउन पर्छ ।

गुरुकुल शिक्षा पद्धति भौतिक भवन मात्र नभएर, एक पूर्ण जीवन–शैली, अनुशासन, शिक्षा दर्शन, गुरु–शिष्य सम्बन्ध र सामाजिक सहभागिता सहितको एकीकृत प्रणाली हो भन्ने मान्यता अनुरूप पूर्वाधार तयारीलाई आवश्यक ठानिन्छ।

गुरूकुल शिक्षा सतहमा झट्ट हेर्दा आधुनिक बोर्डिङ स्कूल जस्तो देखिए पनि,यथार्थमा आचार–विचार, जीवनशैली, श्रम र आत्म निर्भरता बढी केन्द्रित हुन्छ। गुरुकुल पद्धतिमा मुख्य रूपमा वेद–वेदाङ्ग, उपनिषद्, षड्दर्शन, रामायण-महाभारत, नीति, योग, आयुर्वेद,ज्योतिष–गणित जस्ता विषयहरू भित्र पनि अनेकौं छुट्टाछुट्टै विधा र उपविधाका चिरा गरेर एउटै विषयमा विभिन्न दक्षता र तार्किक तथा अध्ययन अनुसन्धानका विज्ञ जनशक्तिहरू उत्पादन गर्ने पाठ्य वस्तु सुक्ष्म रूपमा पढाइन्थे।

सबै विद्यार्थीले यी विषयहरूको सामान्य जानकारी प्राप्त गरेर विद्यार्थीको आचार-विचार, अध्यात्म, विज्ञान, भाषा, जीवन कौशल सीप सबै पक्षको बराबर विकसित गर्ने लक्ष्य राख्थे। तर विशेष विधा अनुसार शास्त्र मर्मज्ञ र विशेष दक्षता चाहिँ व्यक्तिमा फरक फरक विषयवस्तुमा हुन्थ्यो र अद्यापि त्यो परम्परा गुरूकुल शिक्षामा जिवित देखिन्छ। हालका आधुनिक शिक्षा प्रणालीमा नैतिकता, अनुशासन, व्यवहारिक जीवन–कौशल, योग– ध्यान, चरित्र निर्माण कम भएको मानिन्छ।

५. पूर्वीय शिक्षाका आधारस्तम्भ र परम्परा

तक्षशिला विश्वविद्यालय तथा नालन्दा विश्व विद्यालय शिक्षा एक भवनमा मात्र केन्द्रित नभएर पूरै शहरभर फैलिएका शिक्षा प्रणाली थिए। गुरु–शिष्य परम्परा मुख्य थियो र विद्यार्थीहरू विशेष आचार्य (गुरु) को घर वा आश्रममा बस्थे। कक्षाकोठा भन्दा संवाद, बहस र व्यवहारिक अभ्यासमा जोड दिएर व्यक्तिगत क्षमताअनुसार शिष्यलाई शिक्षा दिइन्थ्यो।
यसरी तक्षशिला तथा नालन्दा जीवन उपयोगी शिक्षाको मुख्य केन्द्र थियो। भनिन्छ, चाणक्य (कौटिल्य) – अर्थशास्त्रका रचयिता,चन्द्रगुप्त मौर्य – भारतका महान् सम्राट,जीवक – बुद्धका निजी चिकित्सक तथा पाणिनि – संस्कृत व्याकरण ( अष्टाध्यायी) का आधार स्तम्भ तक्षशिलाका प्रसिद्ध विद्यार्थी र आचार्य थिए।

भारत वर्षको प्राचीन शिक्षा प्रणाली अत्यन्त विकसित, अनुशासित र जीवनोपयोगी थियो। यस कालको शिक्षा धार्मिक, दार्शनिक, वैज्ञानिक र नैतिक मूल्यमा आधारित थियो। नेपालका किराँत, लिच्छवि र मल्लकालीन शिक्षाजस्तै भारतमा पनि गुरुकुल, आश्रम र विश्वविद्यालय प्रणाली प्रचलित थिए।

विद्यार्थी (ब्रह्मचारी) गुरुको आश्रममा बसेर शिक्षा ग्रहण गर्थे। शिक्षा मौखिक (श्रुति–स्मृति) पद्धतिमा आधारित थियो। शिक्षा निःशुल्क, सेवा र श्रमको माध्यमबाट लिइन्थ्यो। शिक्षा प्राप्तिमा जातीय भिन्नता भए पनि योग्यता मुख्य आधार मानिन्थ्यो।अनुशासन, चरित्र निर्माण र आत्म संयममा जोड दिइन्थ्यो।

शिक्षा लिनुको अर्थ केवल रोजगारीका लागि होइन, जीवन मार्ग दर्शनका लागि चरित्र निर्माण, आत्मज्ञान र मोक्ष प्राप्ति,समाजोपयोगी नागरिक उत्पादन,धर्म, कर्तव्य र नैतिकताको विकास मुख्य ठानिन्थ्यो।

आधुनिक राजनीतिक सिमा छुट्टिएका माथि उल्लेख गरिएका देशहरूमा हजारौं संख्याका गुरूकुल,गुम्बा तथा इस्लाम मस्जिदहरू नागरिक दायित्व र सेवा भावबाट शिक्षा दिन सञ्चालित थिए। तर समयक्रममा विभिन्न प्रभावमा ती सबै काल कवलित हुँदै गए। सनातनी धार्मिक समुदाय चाहिँ, पछिल्लो समय शासन सत्ताको राजनीतिक दृष्टिकोण, देशको भूगोल फैलावट र संकोचन तथा राजनीतिक सिमा र सार्वभौम सत्ताको उथल पुथल वा उलट पलटले आकाश पाताल हुनथाल्यो।

६. सनातन शिक्षा माथि अनार्य आक्रमण

तक्षशिला प्रायः विभिन्न मध्य एशियाली र स्थानीय हुन ( हुण) जन जातिहरूद्वारा बारम्बार आक्रमणमा पर्‍यो। ५ औँ शताब्दीमा भयानक रूपमा नष्ट नै भयो। लगातारका युद्ध र आक्रमण हरूले शैक्षिक संरचना र सुरक्षा दुबैलाई अव्यवस्थित बनायो। राजनीतिक शक्ति र राजकीय संरक्षण नभएपछि शिक्षा व्यवस्थापन र शास्त्रीय अध्ययन बेवास्तामा पर्यो र आर्थिक संकटले संरचना नै धान्न सकेन। परिणाम तक्षशिला एक प्रभावशाली शिक्षा केन्द्रबाट इतिहासको अवशेष बन्यो।

नालन्दा विश्वविद्यालयको विनाश पनि आक्रमण नै हो।१२ औँ शताब्दीको अन्त्यतिर, प्रचलित ऐतिहासिक युद्ध परम्परा अनुसार बख्तियार खिलजी जस्ता इस्लाम आक्रमणकारीहरूले नालन्दालाई निशाना बनाए। विशाल पुस्तकालय धर्मगन्जमा आगो लगाइयो र बौद्ध भिक्षु तथा विद्वानहरू मारिने गरी हिंसा मच्चियो। यसरी कालान्तरमा पुराना ऐतिहासिक तक्षशिला, नालन्दा जस्ता विश्वविद्यालयहरू रूपि गुरूकुल जुन लोक कल्याणकारी ज्ञानका वैभव र सम्पदा थिए, ती सबै अधिकांश ध्वस्त भए भन्न सकिन्छ।

६.१.प्राचीन ज्ञान राशीको विनास

राजकीय संरक्षण र आर्थिक स्रोतहरू कमजोर बन्न थाल्यो। बौद्ध धर्मको प्रभाव घट्दै गयो र अन्य धार्मिक/शैक्षिक परम्पराहरूले स्थान लिए। नयाँ शिक्षा केन्द्रहरू(जस्तै विक्रमशिला,वल्लभी, उज्जयिनी आदि) पनि उदाए। नालन्दाको महत्त्व घटायो। यथार्थमा नालन्दा विश्वविद्यालय मात्र थिएन, प्राचीन विश्वकै सबैभन्दा ठूलो ज्ञान–भण्डार मध्ये धर्मगञ्ज एक विशाल पुस्तकालय पनि थियो।

भनिन्छ, धर्मगञ्जका रत्नसागर, रत्नोदधि र रत्नरञ्जक तीन प्रमुख भवन ज्ञानका सागर थिए। नालन्दा पुस्तकालयमा धार्मिक,दार्शनिक ग्रन्थहरू मात्र थिएनन्। बहुविषयक ज्ञान सङ्ग्रहालय थियो। इतिहास लेख्छ,- चीनका विद्वान ह्वेनसाङ र ई-त्सिङ नालन्दामा वर्षौं अध्ययन गरे र अमूल्य ग्रन्थहरू चीन लगे। फलतः तिब्बत, कोरिया, जापान र दक्षिण–पूर्व एशियामा नालन्दाको ज्ञान परम्परा फैलियो।यसैले आज पनि तिब्बती बौद्ध क्यानन (कञ्जुर–तेञ्जुर) मा नालन्दाका आचार्यहरूको गहिरो प्रभाव जिवित छ भन्ने विश्वास गरिन्छ।

त्यही कारण नालन्दाको विनाश केवल भारतको मात्र होइन, सम्पूर्ण मानव सभ्यताको ठूलो ज्ञान–हानि मानिन्छ। यसरी धेरै ज्ञान मौखिक परम्परा वा अन्य देशमा पुगे पनि शिक्षाको मूल केन्द्र चाहिँ नष्ट भयो।

७. गुरूकुल शिक्षा संकोचन तथा चुनौती

गुरुकुल संरचनामा मुख्यत: अध्ययन अध्यापन गराइने विषयहरू -आध्यात्मिकता,संस्कृत भाषा,वेद,दर्शन शास्त्र तथा नैतिकतामा केन्द्रित हुन्थे र अद्यापि छ।

टेक्नोलोजी–केन्द्रित विश्व समाजमा यो शिक्षा प्रणाली अपर्याप्त मानियो। गुरुकुल प्रणाली हराउँदै जानुमा केवल पश्चिमी शिक्षा र संस्कृतिले प्रभाव पार्यो र जित्यो भन्ने एक मात्र सरल कारण मान्न सकिंदैन।

फलत:समस्या को मूल जडमा पुग्न ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक र वैज्ञानिक सबै किसिमका धेरै कारणहरू अध्ययन गरिनु पर्दछ। यहाँ विश्वभर (विशेषतः दक्षिण एशिया) मा गुरुकुल जस्ता परम्परागत आवासीय शिक्षा प्रणाली किन कमजोर तथा विकर्षणमा पर्दै गयो भन्ने गहिरो विश्लेषण गर्नु न्यायोचित हुन्छ। जस्तै:-

७. क) भारत वर्षमा औपनिवेशिक प्रभाव

पाँच,सात सय वर्षको इस्लामी शासन तथा दुई तिन सय वर्षको पश्चिमी औपनिवेशिक राज्य सत्ता र शासनले भारत वर्षको शिक्षा प्रणाली पूर्ण रूपमा गुरूकुल विपरित धारमा कब्जा गर्यो।
मुगल शासकहरूले लामो समयको राज्य अभ्यासपछि आफ्नै स्वार्थको शिक्षा प्रणाली भित्राउन थाले।

औपनिवेशी शासनले दास र जी हजुर भन्ने आज्ञाकारी जनशक्ति मात्र उत्पादन र सरकारी पदमा भित्र्याउने नीति चलायो। ब्रिटिस साम्राज्यले भारत–नेपाल क्षेत्रमा आधुनिक शिक्षा प्रणालीका नाममा (म्याकाले शिक्षा) लागू गर्यो। प्रारम्भमा राज्य सत्ता र शक्तिमा पहुँच भएका वा धनाढ्य वर्गका भारतीयका सन्तानहरूलाई विदेश बेलायतमा गई छात्रवृत्तिमा आधुनिक शिक्षा हासिल गर्न प्रोत्साहन गर्यो।

आज्ञाकारी बनाएर सरकारी नोकरी, प्रशासन, कानुन आदिमा अंग्रेजी शिक्षित व्यक्तिलाई मात्र विश्वास गर्ने र आकर्षक रोजगारी वा राज्य सञ्चालनका अवसर दिन थालियो। फलतः संस्कृत, वेद, दर्शन पढ्ने हरूले जीवन धान्ने सामाजिक–आर्थिक अवसरहरू गुमाउन थाले। पाण्डित्य सम्मान हरायो। यसले गुरुकुल शिक्षाको आकर्षण घटायो।फलतः राज्य शासन प्रणालीमा गुरुकुल शिक्षालाई पूर्ण रूपमा अप्रासंगिक र निरक्षर जस्तो ठहराइयो।

७. ख) आधुनिक विद्यालय,परीक्षागत सुविधाहरू:

आधुनिक शिक्षा प्रणालीमा मानक परीक्षाको व्यवस्था लागु भयो। विद्यार्थीका लागि कक्षागत संरचना लागु गर्दै, तहगत प्रमाणपत्रको व्यवस्था हुन थाल्यो। सरकारी जागिर प्राप्ति र उच्च शिक्षा लिनका लागि कलेज र विश्वविद्यालय स्थापना र सहज प्रवेशको व्यवस्था पनि गरियो।

पढाइ र विषय अनुसार रोजगारी बजारमा सीधा मूल्य निर्धारण हुन थाल्यो। तर गुरुकुल शिक्षामा यी कुनै पनि आधुनिक सेवा सुविधा थिएनन् वा नगण्य मात्र थिए। परिणामतः शिक्षित, सचेत र जानकार अभिभावकहरूले आफ्ना सन्तानका लागि भविष्य–केन्द्रित प्रतिस्पर्धाका कारण आधुनिक शिक्षाका विद्यालय,विश्वविद्यालयहरू रोज्न थाले।

आधुनिक शिक्षामा सेवा सुविधाहरू- घरमा बस्ने, स्कूल समय निश्चित हुने,व्यक्तिगत स्वतन्त्रता धेरै हुने,अनुशासन नियम–कानूनद्वारा मात्र निश्चित,शारीरिक, मानसिक अनुशासन वैकल्पिक हुने,सुविधा सम्पन्न भवन, विज्ञान प्रयोगशाला, कम्प्युटर लैब, खेलकुद, पुस्तकालय, आधुनिक सुविधाहरूबाट युक्त टेक्नोलोजी र इन्फ्रास्ट्रक्चरमा विद्यार्थीहरूले कुनै अभाव झेल्न नपर्ने हुन थाल्यो।

शिक्षा विषयमा गणित, विज्ञान, सामाजिक, देश अनुसारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा, कम्प्युटर, टेक्नोलोजी, इन्जिनियरिङ तथा चिकित्सा शास्त्र पूर्व तयारी, बिजनेस, व्यवस्थापन, कला/सब्जेक्ट अनुसारका सिकाइ सामग्री, मुख्य विशेषता स्ट्यान्डर्डाइज्ड पाठ्यक्रम विकास र कार्यान्वयन गर्न थालियो ।

मानव ज्ञानका क्षेत्र विस्तार हुँदै जानाले, शहर–केन्द्रित शिक्षामा बोर्डिङ्ग,आवास तथा बस सेवा, रोजेको विषय पढ्ने कलेज र व्यावसायिक कक्षाको सुविधा पनि मनग्य हुन थाल्यो। परीक्षागत मानक सुविधाहरू प्राप्त हुनाले आधुनिक शिक्षाको फैलावट आश्चर्यजनक रूपमा हुन थाल्यो।

७. ग) वैज्ञानिक अनुसन्धान,प्राविधिक विकास

औद्योगिक युग पछाडि समाजलाई आवश्यक परेका विषय क्षेत्रहरू–भौतिकशास्त्र, रसायन शास्त्र, जीव विज्ञान,गणित,इन्जिनियरिङ तथा चिकित्सा विज्ञान जस्ता विषयमा दक्षता भएका मानिस( जनशक्ति) हरूको माग र आपूर्ति नै राज्यको प्राथमिकतामा पर्न थाल्यो ।

यस किसिमको शिक्षाको माग र दवदवाले विश्व विख्यात आधुनिक विद्यालय र शिक्षाविदहरू संसारमा थिचिने थाले । मुख्यतः शैक्षिक विकास, विषय– आधारित ज्ञान, करियर केन्द्रित विषय शिक्षण, शिक्षक–विद्यार्थी सम्बन्ध औपचारिक र प्रतिस्पर्धा वा परीक्षा–केन्द्रित पठनपाठन तथा विश्व बजारमा रोजगारी जस्ता पक्षमा विद्यार्थी र अभिभावक मोह र दवाव समाजमा देख्न थालियो।

शिक्षण विधि वा शैली अध्ययन गरिने पुस्तक, कक्षा कोठा र बोर्ड–आधारित शिक्षण, प्रोजेक्ट, असाइनमेन्ट, कम्प्युटर आदिको शिक्षा मानक विश्वव्यापी हुन थाल्यो। टेक्नोलोजीका माध्यम प्रयोग, निश्चित पाठ्यक्रम, सिलेवस र परीक्षा प्रणालीबाट मूल्याकन तथा योग्यता निर्धारण संसारभर प्रतिस्पर्धी हुने गरी गर्न थालियो।

सिकाइको विषय र योग्यताको मानकीकरण बौद्धिक क्षमता (संज्ञानात्मक सीप विकास) विज्ञान, टेक्नोलोजी, सञ्चार कौशल, करियर उन्मुख ज्ञान रआलोचनात्मक सोचको व्यक्तित्व विकासले विश्वबजारमा प्रतिस्पर्धाको मानक निर्धारण हुन थाल्यो। आधुनिक शिक्षामा योग्य र सक्षम व्यक्तिहरूका लागि रोजगारी विश्व नै बन्न थाल्यो र देशको सिमा भन्दा बाहिर पहुँच बढ्यो।

७. घ) नयाँ क्षेत्रहरूको फैलावट

विश्व समाजमा ज्ञानका नयाँ क्षेत्रहरूको फैलावट हुन गयो। विश्व समाजशास्त्र, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर र जैविक प्रविधि जस्ता विषयहरू उत्पन्न गरिए र नयाँ नयाँ खोज अनुसन्धान हुन थाले। राष्ट्र–निर्माणमा चाहिने—
राजनीति,कानुन,टेक्नोलोजी,उद्योग व्यवसाय, सुरक्षा र लगानीको रक्षा गर्ने नीति विश्लेषण जस्ता विषयहरू गुरुकुल शिक्षाले दिंदैन र आधुनिक शिक्षाले मात्र दिन्छ भन्ने विश्वास अभिभावकमा पर्यो।यिनै कारण राज्य–संस्था हरूले पनि आधुनिक विद्यालयलाई प्राथमिकता दिए।

आधुनिक समाजको प्राथमिकता चाहिँ—सरकारी नोकरी, आफूलाई मुख्य केन्द्रमा राखी गरिने लेनदेन, लाभ हानिको आधारमा उद्योग, व्यवसाय सञ्चालन,कुकर्म र पापको प्रवाह नगरी आर्जन गरिने धन, अर्थको आधारमा सामाजिक प्रतिष्ठा, लाभका लागि जस्तो सुकै प्रतिस्पर्धा पनि समाजमा जायज हो भन्ने मान्यता लिन दिन थालियो।आधुनिक शिक्षा प्रणाली चाहिँ सरकारी बजेट र शहरी अर्थतन्त्रसँग जोडिएर प्रतिस्पर्धामा चल्न थाल्यो।

७. ङ) गुरूकुल शिक्षा किन पछाडि पर्यो ?

एकातिर गुरुकुल जहाँ—अक्सर गाउँ–जंगल त्यहाँको परिचय बन्यो, गुरूकुलमा टेक्नोलोजी शिक्षाको पूर्ण अभाव रह्यो। शहरी अभिभावक हरू आकर्षित भएनन्। गुरुकुलमा समाजको माग अनुसारका आधुनिक विषयहरू समावेश गरिएनन्। गुरुकुलले बहु–विषयक प्रतिस्पर्धी क्षमतामा जोखिम देखे वा रूचि गरेनन् ।

आर्य जात जाति र धर्म संस्कार ( वर्णाश्रम आश्रम) लाई प्राथमिकतामा राखे र सबै मानव जातिका लागि बहु–विषयक प्रतिस्पर्धाको सुनौलो अवसर गुमाए र एकल जाति,संस्कार र संस्कृतिको रक्षक आरोपमा गुरूकुल खुम्चिन बाध्य भए। अर्कोतिर गुरुकुलहरूमा—समान पाठ्यक्रम छैन,समान मूल्यांकन छैन,आधुनिक मापदण्ड छैन, सरकारी मान्यता पनि उदासिन छ। यस्ता विवादले पनि गुरूकुल शिक्षालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नबाट मानसिक रूपमा कमजोर बनायो।

शैक्षिक मानकीकरण र विश्व बजारमा प्रचार प्रसारको अभाव मुख्य समस्या रह्यो ।साथै, आधुनिक राज्य–राष्ट्रको आवश्यकतामा गुरूकुल शिक्षाबाट उत्पादित जनशक्तिले कुनै मेल नखाने प्रचार प्रसार बढी भयो।

७. च) गुरूकुल शिक्षा सामयिक नहुनाका परिणाम

समाजको मूल्य–सम्बोधनमा परिवर्तन भए अनुसार पुरानो समाज तथा आदर्शमा समसामयिक सुधार गुरूकुल पद्धतिले पनि गर्न पर्दथ्यो। एकातिर आत्मसंयम, निस्वार्थ सेवा, दान, दक्षिणा, धर्म, कर्म र आध्यात्मिकताको नयाँ परिभाषाबाट समाजमा विश्वास कायम गर्न पर्दथ्यो । तर गुरुकुल शिक्षाले वर्णाश्रम प्रणालीकै सदाचार र नैतिकतामा जोड दियो, सबै जात जाति र भाषा भाषीको सामाजिक हक अधिकार तथा बदलिए को राज्य कानुन बमोजिम मूल्य मान्यता स्थापित गरेर जीवनका कैरियर पाथ र मनग्य कमाइ गर्न चाहने खोज्ने समाजलाई आफूमा विश्वास गर्ने समसामयिक सुधार थालेन। फलतः भौतिक सुख सुविधा र आर्थिक आर्जनका सामु कस्टकर सदाचार र नैतिक जीवन पछाडि पर्यो भन्ने सकिन्छ।

अर्कोतिर बालश्रम, कडा अनुशासन, धर्म तथा त्याग–जीवनप्रति समाजको अस्वीकार बढ्दै छ र
समाजको दृष्टिकोण अनुरूप पनि गुरुकुलको जीवन शैलीमा परिवर्तन गर्न प्रयास हुनु पर्दथ्यो।
अत्यधिक कठोर अनुशासन, ब्रह्मचर्य आश्रमको पालना, श्रम प्रधान र सेवामूलक दैनिक जीवन, लामो समय परिवारबाट अलग हुनुपर्ने वा एक किसिमको सम्वन्ध विच्छेद वा पातलो सम्पर्कले अभिभावक र विद्यार्थी गुरूकुलबाट भाग्न थाले।

राज्य शासनमा धर्मनिरपेक्षताको कानुन अगाडि बढेपछि धार्मिक शिक्षा भनेर बुझिने प्रणाली वर्णाश्रमको अल्पसंख्यक जाति, त्यसमा पनि गरीब, विपन्न र पारिवारिक समस्यामा परी आर्थिक लगानी गर्न नसक्ने समुदायमा मात्र सीमित रह्यो। आधुनिक अभिभावकहरूलाई एकातिर गुरूकुलको कडा नियम र प्रणाली मन परेन भने अर्कोतिर आश्रमका अनिवार्य सर्त तथा गुरुकुल = धार्मिक संस्था जस्तो संकुचित पहिचानले धेरै वर्ग र जनसमुदायलाई आकर्षित गर्न सकेन।

७. छ) नेपालमा आधुनिक शिक्षाको बिजारोपण

वि.सं. १९०७ सालमा जङ्गबहादुर राणा बेलायत भ्रमण गए। उनले पश्चिमी शिक्षा, विज्ञान, प्रशासन, सैन्य संगठन र कानुनी व्यवस्था अत्यन्त उन्नत देखे।आधुनिक शिक्षा प्राप्त जनशक्ति कुशल प्रशासक,कानुन जान्ने अधिकारी,सैन्य र दरबारी कर्मचारी उत्पादन गरेर राणा शासनलाई बलियो र व्यवस्थित बनाउने सोच गरे।

ब्रिटिश भारतसँग मैत्रीपूर्ण र सुरक्षित सम्बन्ध कायम गर्ने मुलुकी ऐन (वि.सं. १९१०) निर्माण गरेर आधुनिक कानुनको जग हाले।जङ्गबहादुरको आधुनिक शिक्षा आफ्ना सन्तानको कब्जामा राखेर राष्ट्र निर्माण र जन जागरणका लागि भन्दा बढी,राणा शासन सुदृढ गर्ने, प्रशासनिक दक्षता बढाउने र विदेशी शक्तिसँग बराबरी सम्बन्ध राख्ने सोचको थियो।

७. ज) जयतु संस्कृतम् आन्दोलनले के दियो ?

राणा शासकहरूले बाह्य रूपमा संस्कृत शिक्षालाई महत्व दिएको देखिए पनि संस्कृत शिक्षा सीमित वर्ग (ब्राह्मण/दरबार नजिकका) मानिसमा मात्र केन्द्रित,जनजीवन र व्यवहारमा प्रयोग नहुने, केवल कर्मकाण्ड र ग्रन्थमा सीमित,आधुनिक शिक्षाका पक्षधर प्रधानमन्त्री पद्म शम्शेरको निचोडले संस्कृत भाषालाई “मृत भाषा” भनिदिए।

जनताको गुनासो चाहिँ राणा शासकहरूले संस्कृत शिक्षालाई राजनीतिक नियन्त्रणको साधन बनाए, आधुनिक ज्ञान, विज्ञान र समसामयिक विषयहरू समावेश गरेनन् भन्ने थियो।

वि.सं. २००४ सालमा काठमाडौंको रानीपोखरी संस्कृत पाठशालाका विद्यार्थीहरूबाट सुरु भएको जयतु संस्कृतम् आन्दोलनको मुख्य उद्देश्य नै संस्कृत शिक्षालाई आधुनिक, प्रगतिशील र व्यवहारिक बनाउने तथा राणा शासनद्वारा लगाइएका शैक्षिक प्रतिबन्ध हरूको विरोध गर्नु थियो।

संस्कृत पाठ्यक्रममा पनि आधुनिक विषयहरू (इतिहास, राजनीति, विज्ञान आदि) समावेश गर्ने। विद्यार्थीलाई स्वतन्त्र रूपमा अध्ययन र अभिव्यक्ति गर्ने अधिकार दिलाउने र राणा शासनको शैक्षिक नियन्त्रण र दमनकारी नीतिको विरोध गर्ने। समग्रमा भन्दा शिक्षा सुधार र चेतनाको विकास गर्ने र राणाहरूको द्वैध चरित्रको पर्दाफास गर्ने राजनीति पनि घुसेको थियो।

७. झ) गुरूकुल सञ्चालनमा राज्यको उपेक्षा

गुरुकुल शिक्षा क्रय विक्रयको वस्तु वा साधन ठानिएन। विद्या दान, शिक्षा समाज सेवा र लोक उपकारको लागि गुरूकुल स्थापना र सञ्चालन गरिन्थे। अतः गुरूकुलको खर्च दान, भिक्षा, सेवा भावमा चल्थ्यो। आधुनिक शिक्षाको बोलबाला बढेपछि गुरुकुलको आर्थिक आधार कमजोर हुन थाल्यो। अध्यापक (गुरु) का जीविकापार्जन कठिन भयो। आर्थिक संरचना कमजोर हुँदा दैनन्दिन खर्च व्यवस्थापन गर्न नसकिने अवस्था बन्यो ।

राज्य प्रणाली वा राणा श्री ३ प्रधानमन्त्री जङ्गबहादुरले दरबारभित्रै वि.सं.१९१० मा आधुनिक स्कुल सञ्चालनमा ल्याए। अर्का राणा प्रधानमन्त्री पद्म शमशेरले संस्कृतलाई मृत भाषा को नाम दिए, भनिन्छ, राणा शासकहरूले देखावटी रूपमा संस्कृत शिक्षामा उदारता राखे पनि चरम दुरूपयोग गरे। यसैको विरूद्धमा वि.सं.२००४ सालमा जयतु संस्कृतम् आन्दोलन भयो र संस्कृत शिक्षा र आधुनिक शिक्षा संयोजनको माग उठ्यो।

तर राज्य प्रणालीमा संस्कृत शिक्षा वा गुरूकुल प्रति कति उपेक्षा भाव थियो भन्ने कुरा वि.सं.२००९सालमा गठित र २०११ सालमा प्रकाशित नेपालमा शिक्षा योजना प्रतिवेदनमा लिखित भाषाले देखाउँछ। फलतः गुरूकूल शिक्षा पद्धति आर्थिक अभावले ग्रस्त हुँदै समग्र सनातनी गुरूकूल प्रणालीलाई नै क्षीण बनायो र उजाड हुन थाल्यो।

राजा महेन्द्रको शासन काल (वि.सं.२०१७- २०२८साल)मा गुरूकुल र संस्कृत शिक्षाप्रति केही प्रेम,झुकाव र कर्तव्यका प्रयास भएपनि बेलायती शिक्षा प्रेमी राजा वीरेन्द्रबाट एकीकृत साधारण शिक्षामा संस्कृत ज्ञानको प्रयोगमा हुबहु अगाडि नबढ्दा विनास तर्फ उन्मुख भयो। देखावटी रूपमा संस्कृत विद्यालयहरूको छुट्टै धार,संस्कृत महाविद्यालय हरूको विस्तार, संस्कृत विश्वविद्यालय स्थापना पनि भयो तर नतिजा सकारात्मक निकाल्न सकिएन।

वि.सं.२०४६ साल पछि २०८२ सम्मको इतिहास संस्कृत शिक्षा र गुरूकुल पद्धतिबारे राज्य, राजनीतिक दल र नेताहरूको अस्पष्टता र अन्यौलतामा नै बित्यो। गुरूकूल सञ्चालनमा राज्यको पूर्ण उपेक्षा रह्यो।

७.ञ) के गुरूकुल शिक्षा पद्धति लोप भएको हो ?

वर्तमान समयमा पनि भारतमा सयौं संख्यामा रजिष्टर्ड भएर तथा हजारौं अङ्क ( अनुमानित ४०००+) गुरुकुल / वेद–पाठशाला हरू धार्मिक दृष्टिकोणले साधु,सन्त, महन्त र दाताहरूको सहयोगमा सञ्चालनमा रहेको अनुमान गरिन्छ।

नेपालमा चाहिँ लामो इतिहास भएका प्रतिष्ठित प्राचीन गुरूकुल सञ्चालनबारे ऐतिहासिक यकिन विवरणबारे अज्ञानता रहेपनि विगत डेढ दुई सय वर्षदेखि स्थापना भई धेरै नाम कमाएका केही गुरूकुल/ आश्रम तथा संस्कृत विद्यालय हरू तराई,पहाड र उपत्यकामा सञ्चालनमा थिएँ, जुन आधुनिक शिक्षाको अतिक्रमण बाट लोप भएको दुखद इतिहास पढ्ने गरिन्छ।

केही आशा लाग्दा प्रयासहरू, नेपालमा पछिल्लो समय एक दर्जन हाराहारीका सरकारी अनुदान पाउने वा साधु सन्त महन्त हरूबाट दान भिक्षा जुटाएर नयाँ स्थापित रजिष्टर्ड देशभर फैलिएका प्रतिनिधि मूलक केही गुरूकुलहरू सफल छन्। यिनले नै समाजमा हिन्दु धर्म, सनातन परम्परा र संस्कृति,संस्कारको राम्रोसंग संरक्षण,सम्बर्धन र विस्तारमा योगदान गरिरहेका छन्।

सञ्चालित धेरै पाठशालाहरू परम्परा गत संस्कृत/वेद अध्ययनमा मात्र केन्द्रित पाइन्छन् । तीमध्ये केहीले मात्र गुरुकुलीय शैली (छात्रावास, गुरु–शिष्य सम्बन्ध आदि) कायम राख्ने कोशिस चाहिँ गरेका छन्, भन्न सकिन्छ।

पछिल्लो समय नेपालमा पनि जिल्ला जिल्लाका मन्दिर,आश्रमहरूमा साधु, सन्त, महन्त वा आत्मगत चेतनाका महानुभाव हरूको वैयक्तिक जोडबलमा दर्ता विना नै दर्जनौं सङ्ख्याका गुरूकुलहरू अनियमित रूपमा स्थापना गर्ने, दीगो स्रोतको व्यवस्था नगरी लहडमा सञ्चालन हुने र केही वर्ष, समयमा हराउने गरेको देख्न, सुन्न र पढ्न पाइन्छ।

सारमा भन्न सकिन्छ, गुरुकुल पद्धति हराउनु ज्ञानको कमीले होइन, अपितु सामाजिक– आर्थिक र राजनीतिक परिवर्तनको स्वाभाविक परिणामलाई आत्मसात गरी सामयिक नहुनु हो। समग्र शिक्षा प्रणालीले विश्वले मागेको विज्ञान, टेक्नोलोजी, करियर र प्रमाणपत्रसंग गुरूकुल शिक्षालाई ठ्याक्कै मेल नगराएकोले कमजोर हुँदै गएको हो तर पूर्ण रूपमा हराएको होइन र यो शिक्षालाई आधुनिक विशेषता सहित पुनर्जीवन दिन सकिन्छ।

(लेखक नेपाल सरकारका पूर्व-उपसचिव हुन्। यसका बाँकी भागहरु क्रमश प्रकाशित हुनेछन्।)

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड