Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगमा नाम निकाल्नका लागि प्रशिक्षक भट्टराईले दिए यस्ता टिप्स

शिक्षक सेवा आयोगमा नाम निकाल्नका लागि प्रशिक्षक भट्टराईले दिए यस्ता टिप्स

  • मात्र एजुकेशन
  • बिहिबार, फाल्गुन १२ २०७८


शिक्षक सेवा आयोगले आगामी चैत १५, १७ र १९ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक पदको खुला विज्ञापन फारम संकलन गरिसकेको छ। यसबिचमा फारम भरेकाहरू परीक्षाको बेजोड तयारीमा लागेका छन्। तिनै परीक्षार्थीहरूलाई सहयोग गर्नका लागि हामीले युनियन एजुकेसन बागबजारका सञ्चालक तथा शिक्षक सेवा आयोग तयारी कक्षाका अनुभवी प्रशिक्षक रमेश बाबु भट्टराई सँग तयारी कसरी गर्ने भन्ने बारे विशेष शैक्षिक संवाद गरेका थियौँ। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:

१. लामो समय पछि खुलेको शिक्षा सेवा आयोगको परीक्षा यसपटक फरक छ भनिन्छ। के कारणले फरक छ ?
यो भन्दा अगाडि शिक्षाका पाटोहरू, ऐन नियम, संविधानको पाटोहरू मात्रै समेटिएको हुन्थ्यो । एउटा पेपर मात्रै दिए पुग्थ्यो। अहिलेको नयाँ कोर्समा के छ भने सुरुमा बस्तुगत प्रश्नमा पास भएपछि मात्र विषयगत तिर जानुपर्ने व्यवस्था छ । बस्तुगतका लागि ५० वटा प्रश्न २-२नम्बरका १०० अंकको छ । त्यसका लागि आधारभूत तहमा जिकेको १५ वटा प्रश्न ३० नम्बरको, आइक्युको ५ वटा प्रश्न १० नम्बरको, ऐन नियमावलीको ५ वटा प्रश्न १० नम्बरको, आइसिटिको ५ वटा प्रश्न १० नम्बरको र शिक्षा सम्बन्धी २० वटा प्रश्न ४० नम्बरको गरेर यसरी १०० नम्बरको प्रश्न छन् । त्यस्तै माध्यमिक तह जिके सम्बन्धी २० प्रश्न ४० नम्बरको, शिक्षाका १२ वटा प्रश्न २४ नम्बरको, आइक्युको ८ वटा प्रश्न १६ नम्बरको, आइसिटिको ५ वटा प्रश्न १० नम्बरको र संविधान, शिक्षा ऐन, शिक्षा नियमावली, शिक्षा सेवा आयोग नियमावली र स्थानीय सरकार सञ्चालन ऐन गरेर ५ वटा प्रश्न १० नम्बरको यसरी सेलेभस छुट्टाइएको छ । र न्यूनतम ५० अंक ल्याउनै पर्ने हुन्छ पास हुनका लागि। त्यस कारणले यो शिक्षक सेवा आयोगको प्रथम प्रत्रलाई एकदम जटिल बनाइएको छ । विद्यार्थीलाई आइसिटी सम्बन्धी ज्ञान हुनुपर्ने, जिके सम्बन्धी ज्ञान हुनुपर्ने , ऐन नियम सम्बन्धी ज्ञान हुनुपर्ने कोर्स बनाएको छ। साँच्चिकै यो कोर्स वैज्ञानिक र बस्तुगत पनि छ ।

२. अब हामीले यसपालिको परीक्षा जटिल हुने भयो, कठिन हुने भयो भनिरहँदा, परीक्षा भनेपछि विद्यार्थीहरू त्यत्तिकै पनि हतोत्साहित हुन्छन् । त्यसमाथि तपाई जस्तो प्रशिक्षकले यस्तो भनी रहँदा विद्यार्थीले त्यो जटिलतालाई चिर्नका लागि तयारी कसरी गर्ने ?
सबभन्दा पहिले हामी तयारी गर्दाखेरि बजारमा निस्किएका गेस गाइडहरू मात्रै पढ्ने गर्छौँ जुन एकदम गलत छ। गेस गाइडहरूमा विभिन्न किसिमका १० वटा किताबमा १० वटा तथ्याङ्क छन् । यो तथ्याङ्क सही हो कि होइन भने विद्यार्थीहरूले तयारीका लागि आधिकारिक वेबसाइटहरू, नेपाल सरकारबाट निकालेका आधिकारिक पुस्तकहरू, आधिकारिक संस्थाका वेबसाइटहरू र अन्तिममा डाटा फरक पर्‍यो भने गुगलमा समेत सर्च गरेर डाटा लिन सकियो भने सही तथ्याङ्क प्राप्त गर्न सकिन्छ । तथ्याङ्क विभागबाट निकालेका समाचारहरू हेर्ने, गोरखापत्र हेर्ने र यस्ता विभिन्न सूचनामूलक कार्यक्रमहरू सुन्ने हो भने पक्कै पनि सही सूचना प्राप्त गर्न सकिन्छ । हामी पढाइलाई मात्रै ध्यान दिन्छौँ तर त्यो पढेको कुरा कति सम्झिए भन्ने कुरामा ध्यान दिँदैनौ त्यसैले जति पढिन्छ त्यतिलाई स्वमूल्याङ्कन गर्न सक्नु पर्छ । विद्यार्थीहरूलाई सफल बनाउने अर्को मूल अस्त्र भनेको मोडल टेस्ट हो। मोडल टेस्ट नियमित दियो भने कस्ता किसिमका प्रश्न आउँछन् र कसरी तयारी गर्नुपर्छ भन्ने जानकारी हुन्छ । यो तरिकाले तयारी गर्दा विद्यार्थी सफल हुन्छन् ।

३.अहिले तयारी गरिरहेका जो परीक्षार्थीहरू छन् उनीहरूका लागि यो यो तयारी गर्दा पास भइन्छ भन्ने खालका टिप्सहरू के के छन् ?
अहिलेको सिस्टम अनुसार रिडेबल मेसिनले कपि चेक गर्ने भएकोले सुरुमा परीक्षार्थीले आफूले उत्तर पुस्तिकालाई कसरी भर्ने, उत्तर पुस्तिकामा विवरण कसरी भर्ने, आफ्नो नाम सिम्बल नम्बर कसरी लेख्ने भन्ने कुरामा एकदम जानकार हुनुपर्छ । कि कसरी भर्ने, कि कुन होरु यो कुराहरू पनि जान्नु पर्छ । सबैभन्दा धेरै अंक भार कुन विषयवस्तुमा छ त्यो विषयवस्तुलाई बढी महत्त्व दिनु पर्छ । परीक्षामा हतोत्साहित हनु हुँदैन। निर्देशन राम्रोसँग पढ्नु पर्‍यो। त्यही निर्देशनलाई फलोअप गर्न सकियो भने पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ । र धेरै मिहिनेत गर्नेहरूलाई जटिल पनि छैन। त्यसैले पढाइमा नियमितता हुनुपर्छ ।

४. सफलता प्राप्त गर्न धेरै पढ्ने कि स्मार्ट पढ्ने ?
स्मार्ट पढ्ने भनेको अंक भारको आधारमा पढ्ने हो । जुन अंकभार धेरै छ त्यही विषयवस्तुलाई बढी जोड दिने र जुन कम अंकभारको छ त्यसलाई कम जोड दिने । आधिकारिक सूचनाहरूलाई फलोअप गरिरहने, समसामयिक विषयवस्तुमा जननकार भइरहने र विशेष गरी ऐन नियमावलीहरू सम्बन्धी बढी अध्ययन गर्ने । किनभने अक्षरशः सम्पूर्ण कुराहरू फलोअप गर्नुपर्ने हुन्छ । आधिकारिक डाटाहरू पत्ता लगाउने , बजारमा निस्केका पुस्तकहरू माथि मात्र पूर्ण रूपमा भर पर्न हुँदैन । शैक्षिक सामाग्रीहरू धेरै जम्मा गर्ने र तिनीहरूको सान्दर्भिकता मध्यनजर गर्दै अगाडि बढ्नु पर्छ ।

५. बस्तुगत परीक्षामा सफल हुन विद्यार्थीहरूले के के कुरामा ध्यान दिनुपर्छ ?
बस्तुगत परीक्षामा सफल हुनको लागि तथ्यपरक पढाइ हुनुपर्छ । डेट लाइन मात्र पढेर हुँदैन लजिकल प्रश्नहरू पढ्नुपर्छ । पढ्ने भनेको खालि पुस्तक मात्रै हेर्ने होइन। त्यसलाई नोट गर्ने, लेख्ने र विश्लेषणात्मक रूपमा अध्ययन सकियो भने पक्कै पनि सहज हुन्छ ।

६. कुनै पनि विद्यार्थीले बस्तुगत पास गर्‍यो भने उसले विषयगत परीक्षाको तयारी गर्नुपर्ने हुन्छ । विषयगत परीक्षा भनेको आफ्नो लेखाइको कुरा हो। यसमा के के कुरामा ध्यान दिनुपर्छ ?
लेखन सीप पनि एक महत्त्वपूर्ण कुरा हो । लेखनमा सफा र स्पष्ट हुनुपर्छ । जे प्रश्न सोध्यो त्यो कुरालाई उत्तर स्पष्ट लेखिसकेपछि मात्र अरू कुराहरू जोड्न सक्नुपर्छ । प्रश्नले सोधेको कुरा थोरै लेख्ने र अनावश्यक कुरा धेरै लेख्ने गर्नु हुँदैन । पृष्ठभूमि जम्मा एउटा वा दुईवटा सेन्टेन्समा लेख्नुपर्छ। मेन विषयवस्तु नै त्यही हो। त्यसलाई हामीले अधिकतम फोकस गर्ने र अन्तिममा दुई लाइनमा अथवा दुईवटा सेन्टेन्समा आफ्नो भनाइ लेख्न सकियो भने पक्कै पनि सफल हुन सकिन्छ । व्यवहारिक किसिमका शिक्षण कला सम्बन्धी, विद्यार्थीलाई आकर्षण गर्ने विभिन्न क्रियाकलाप सम्बन्धी बढी प्रश्न सोध्ने भएकोले शिक्षणको व्यवहारिक पक्षलाई नै ध्यान दिएर विषयगत तयारी गर्नुपर्छ ।

७. शिक्षक सेवा आयोगको अन्तरवार्ता कस्तो हुन्छ ?  त्यसको तयारी कसरी गर्ने ?
अन्तरवार्ताको लागि पहिले त्यो विषयवस्तुको तयारी हुनुपर्छ । शिक्षण विधिको बारेमा जानकार हुनुपर्छ । आफ्ना कुराहरू स्पष्ट राख्न सक्नु पर्‍यो अन्तरवार्तामा कन्फिडेन्स महत्त्वपूर्ण कुरा हो । प्रशिक्षकहरूका अगाडि आफूले देखाउन सक्नु पर्‍यो र कक्षाकोठामा गएर यो शिक्षकले अध्यापन गर्न सक्ने गुण छ है भन्ने खालको आफूलाई प्रमाणित गर्न सक्नु पर्छ ।

८. के तीन-चार घण्टाको परीक्षाले एउटा शिक्षकको शिक्षण सीप वा कलालाई मापन गर्न सक्ला ?
अहिले प्रविधि सम्बन्धी ज्ञानको पाटो पनि जान्नु परेको छ । शिक्षणकला सम्बन्धी पनि जान्नु परेको छ। यसले गर्दाखेरि परीक्षा अहिले व्यवहारिक छ। अबको परीक्षामा अरू कुरा सबै राम्रो छन्। थोरै एउटा कुरा थपे सुनमा सुगन्ध के हुन्थ्यो भने शिक्षकले प्रविधिको प्रयोग जानेको छ कि छैन प्रयोगात्मक ढंगबाट हेर्ने, त्यस्तै शिक्षण गर्न सक्छ कि सक्दैन भन्ने प्रयोगात्मक ढंगबाट हेर्ने र प्रयोगात्मक परीक्षालाई थपेर त्यसलाई प्रभावकारी बनाउनका लागि जरुरी छ । अरू कोर्स सबै ठिक छ ।

९. अन्त्यमा आयोग तयारी गरिरहेका परीक्षार्थीहरूलाई के भन्न चाहनुहुन्छ ?
साथीहरूलाई परीक्षाको शुभकामना छ। राम्रो तयारी गर्नुस्। बुझेर नआत्तिईकन परीक्षा दिनुभयो र आत्मविश्वास दरिलो बनाउनु भयो भने तपाईँ अवश्य सफल हुनुहुनेछ।

तपाईँ यहाँ क्लिक गरेरभिडियो पनि हेर्न सक्नुहुन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड