काठमाडौँ- प्रारम्भिक बाल्यावस्था हेरचाह तथा शिक्षा (ईसीसीई) क्षेत्रको गुणस्तर अभिवृद्धि तथा शिक्षक सशक्तीकरण गर्ने उद्देश्यले काठमाडौँमा ‘इन्डो–नेपाल ईसीसीई संवाद तथा शिक्षक सशक्तीकरण सम्मेलन–२०२६’ आयोजना हुने भएको छ ।
ग्लोबल फाउन्डेसन फर अर्ली चाइल्डहुड एजुकेसन एन्ड रिसर्च (जीएफईसीईआर) को पहलमा एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को सहकार्यमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा अपेन एसोसिएट पार्टनरका रूपमा आबद्ध रहेको छ ।
‘बियोन्ड बोर्डर्स’ अर्थात् सीमापार सहकार्यको नारासहित आयोजना हुन लागेको सम्मेलन आगामी नोभेम्बर २० देखि २२ सम्म काठमाडौँको माछापोखरी प्यालेसमा सञ्चालन हुनेछ ।
भारत र नेपालबिच प्रारम्भिक बालशिक्षाको क्षेत्रमा ज्ञान, अनुभव र अभ्यास आदानप्रदान गर्ने उद्देश्य राखिएको सम्मेलनले बालशिक्षाको विकाससँगै शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नवीन शिक्षण विधिको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा जोड दिनेछ ।
सम्मेलनमा सहभागी हुन अपेन केन्द्रीय समिति, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, स्थानीय अध्यक्ष, समितिका सदस्य, विद्यालयका प्रधानाध्यापक, संयोजक तथा पूर्वप्राथमिक तहमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई आह्वान गरिएको छ ।
अपेनकी महासचिव सम्झना बस्नेतले सम्मेलन प्रारम्भिक बाल शिक्षामा आबद्ध शिक्षाकर्मीका लागि व्यावसायिक सिकाइ, ज्ञान आदानप्रदान, सञ्जाल विस्तार तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्त्वपूर्ण अवसर हुने बताएकी छन् । उनले अपेनका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई सम्मेलनबारे आ–आफ्नो क्षेत्रमा जानकारी गराउन र अधिकतम सहभागिताका लागि शिक्षकहरूलाई प्रोत्साहित गर्न आग्रह गरेकी छन् ।
सम्मेलनमा सहभागी हुन नियमित दर्ता शुल्क प्रतिव्यक्ति ७ हजार रुपैयाँ तोकिएको छ भने अपेनका सदस्यहरूले विशेष सहुलियतअन्तर्गत ६ हजार ५०० रुपैयाँमा सहभागी हुन पाउनेछन् । आयोजकका अनुसार सम्मेलनका लागि दर्ता प्रक्रिया नोभेम्बर ६ (कात्तिक २० गते) सम्म मात्र खुला रहनेछ । त्यसपछि दर्ता बन्द गरिनेछ । सम्मेलनमा सहभागी हुन इच्छुकले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् ।
अपेनका अध्यक्ष कृष्णकुमार बोहराका अनुसार अपेनले प्रारम्भिक बाल शिक्षामा आबद्ध शिक्षक तथा शिक्षण संस्थाहरूको क्षमता विकास र व्यावसायिक एकताका लागि काम गर्दै आएको छ । यस सम्मेलनलाई नेपाल र भारतबिच प्रारम्भिक बालशिक्षाको क्षेत्रमा सहकार्य, अनुभव आदानप्रदान र साझा सिकाइको अवसरका रूपमा हेरिएको छ ।