काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का निवर्तमान अध्यक्ष पाण्डव हमालले आफूहरूले चितवनमा आयोजना गर्ने वार्षिक साधारण सभा नरोकिने बताएका छन् । आफूहरूको संस्था दर्ता गर्ने निकायले दिएको अधिकारले नै भेला आयोजना गरिएको भन्दै उनले भोलि बाट पूर्वनिर्धारित तालिका अनुसार नै भेला सुरु हुने बताए । मात्र एजुकेसन सँगको टेलिफोन संवादमा हमालले गृह मन्त्रालयको पत्रकै आधारमा भेला आयोजना गरिएको दाबी गरे ।
हाम्रो देशभरिका सबै सदस्य विद्यालयहरू अहिले आउने क्रम जारी छ र हामी पनि जाँदै छौँ । हमालले भने, “भर्खरै मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा पत्र प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आजै दिउँसो १ बजेर ३६ मिनेटमा हाम्रो संगठनको आधिकारिक इमेलमा आएको पत्रका आधारमा हामी अघि बढ्छौँ ।” हमालले वार्षिक साधारण सभाले नेतृत्व चयन गर्ने नभई केही नीतिगत निर्णयहरू गर्ने हुँदा यो नरोकिने तर्क गरे ।
आफूहरूले मिडियामा आएका कुरा होइन संगठनको आधिकारिक इमेलमा आएको कुरा मान्ने भन्दै हमालले भ्रममा नपर्न देशभर बाट चितवन जाँदै गरेका प्रतिनिधिहरूलाई आग्रह गरे । आफूहरूले उक्त साधारण सभाले गर्ने निर्णयको प्रतिवेदन गृह मन्त्रालयमै बुझाउने बताएका हमालले संगठन निलम्बनमा परेको कुरालाई नै अस्वीकार गरे । विशेष अधिवेशन भनेपछि नेतृत्व चुन्ने अधिवेशन भनेर गलत बुझाइ मन्त्रालयमा परेका कारण यस्तो निर्णय आएको हुनसक्ने भन्दै हमालले आफूहरूले अहिले नेतृत्व सम्बन्धी काम नभई विधान लगायत नियमित हुने कामका लागि साधारण सभा आयोजना गरिएको प्रस्ट पारे ।