काठमाडौँ- कुनै समय थियो नेपालमा शिक्षक भन्ने बित्तिकै सबैभन्दा सम्मानित पेसाका रूपमा हेरिन्थ्यो। समय बित्दै जाँदा विभिन्न पेसा व्यवसायमा भएको आकर्षक कमाइ र सेवा सुविधाले यो पेसालाई ओझेलमा पार्दै लग्यो। मेहनत र काम धेरै भए पनि शिक्षकले पाउने सेवा सुविधा र पारिश्रमिक कम हुँदा पछिल्लो समय यस प्रतिको आकर्षण घट्दो छ। उत्कृष्ट शिक्षा प्रणाली भएका मुलुकहरूमा विश्वविद्यालयमा आफ्नो विषयमा उच्च श्रेणीको अंक हासिल गरेका विद्यार्थीलाई शिक्षण पेसामा लगाउने गरिएको भए पनि नेपालमा भने अन्य क्षेत्रमा काम गर्न नसकेकाहरू राजनीतिक पहुँचका आधारमा यो पेसामा आइपुग्ने गरेको उदाहरण पनि हाम्रा लागि नौलो होइन। यसरी सेवा सुविधा पनि कम र उत्कृष्ट नतिजा हासिल गरेकाहरूको रोजाइमा पनि कम परेकाले यो पेसा धराशायी बन्दै गएको विश्लेषण हुने गरेको छ।
पछिल्लो समय भने नेपालमै पनि आकर्षक पारिश्रमिक र सेवा सुविधा दिएर शिक्षण पेसामा राम्रा विद्यार्थी तान्ने प्रयास भइरहेको छ। निजामती कर्मचारीलाई दिइएको जस्तै सेवा सुविधा दिएर पनि उत्कृष्ट शिक्षक भर्ना गर्न सक्ने हो भने नेपाली शिक्षण पेसा सम्मानित हुने र गुणस्तर आउने निश्चित छ। नेपाल सरकार पनि अहिले यही प्रयासमा देखिन्छ।
शिक्षकहरूलाई प्रोत्साहन गर्नका लागि छुट्टै शिक्षक अस्पताल बनाउने काम अघि बढाइएको छ। मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरिसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा। विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महिने कार्य अवधि तोकिएको सचिव थपलियाले जानकारी दिए । ‘शिक्षक अस्पतालका लागि दुई महिनाको समयावधि दिइएको छ’ सचिव थपलियाले भने, ‘उपयुक्त जग्गा व्यवस्थापन हुने बित्तिकै काम सुरु हुन्छ । हाल काठमाडौँ, चितवनलगायतका सहरमा जग्गा खोज्ने काम हुने बताइएको छ।
शिक्षक अस्पताल बन्ने भएपछि देशैभरका करिब तीन लाख बढी शिक्षकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।