Matra Education बुधबार, कार्तिक ५ २०८३

आइडिबि ग्लोबलको पार्टनर्स कनेक्ट कार्यक्रम सम्पन्न

आइडिबि ग्लोबलको पार्टनर्स कनेक्ट कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, असोज २४ २०८३


काठमाडौँ — फिनल्यान्ड अध्ययनका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको आइडिबि ग्लोबल सर्भिसेसले पार्टनर्स कनेक्ट कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार चाबहिलस्थित स्मार्ट प्यालेसमा आयोजित कार्यक्रममा आइडिबिका १०० भन्दा बढी साझेदार शैक्षिक परामर्शदाता संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

आइडिबि ग्लोबल सर्भिसेसका प्रबन्ध निर्देशक इश्वर घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का सचिव राजकुमार ढकाल र राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का महासचिव दीपक कोइरालासहित तीन वटै संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा सहभागी अतिथिलाई स्वागत गर्दै आइडिबिका बिजनेस डेभलपमेन्ट म्यानेजर सुवास पुडासैनीले साझेदार संस्थाहरूको सहकार्यमा आफूहरूले व्यवसाय विस्तार गरिरहेको बताए। पछिल्लो समय बिजनेस टु बिजनेस (बीटुबी) सहकार्यमा समेत उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै उनले नेपाली शैक्षिक परामर्श व्यवसायीलाई सहज सेवा र सहकार्यको अवसर उपलब्ध गराउँदै आएको बताए। उनले फिनल्यान्डमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि उपलब्ध अवसर र अध्ययनका विभिन्न पक्षबारे जानकारी दिँदै साझेदार संस्थाहरूलाई सहकार्यका लागि आग्रह गरे।

कार्यक्रममा फिनल्यान्डका चार शैक्षिक संस्था साटाकुन्टा युनिभर्सिटी अफ एप्लाइड साइन्सेस, सेन्ट्रिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेस, सेनाजोकी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस र करेलिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेसका प्रतिनिधिले भर्चुअल माध्यमबाट सम्बोधन तथा प्रस्तुति दिएका थिए। त्यस क्रममा ती संस्थाका शैक्षिक अवसरबारे जानकारी दिइएको थियो। आइडिबि मार्फत भिसा प्राप्त गरी फिनल्यान्डमा अध्ययनरत विद्यार्थी आशिष भण्डारीले आफ्नो अध्ययन अनुभव सुनाएका थिए। भर्चुअल सत्रको सहजीकरण आइडिबिका प्रमुख कार्यकारी अधिकृत विष्णु थापाले गरेका थिए।

कार्यक्रममा फेकनका तर्फबाट शुभकामना मन्तव्य राख्दै सचिव राजकुमार ढकालले छोटो समयमै आइडिबिले हासिल गरेको प्रगतिले शैक्षिक परामर्श व्यवसायीलाई प्रेरणा दिएको बताए। फिनल्यान्ड अध्ययनका क्षेत्रमा आइडिबिले आफ्नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै उनले संस्थाले आगामी दिनमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा आमन्त्रण गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै उनले आइडिबिको व्यावसायिक यात्राको सफलताको कामना गरे।

नेकाका महासचिव दीपक कोइरालाले फिनल्यान्डका शैक्षिक संस्थाका प्रतिनिधिलाई एउटै कार्यक्रममा जोडेर अध्ययनका अवसरबारे जानकारी गराएकोमा आयोजकलाई धन्यवाद दिए। युरोपमा अध्ययन जोखिमपूर्ण हुन्छ भन्ने धारणा नेपाली समाजमा रहे पनि फिनल्यान्ड गुणस्तरीय शिक्षाका लागि राम्रो गन्तव्य भएको उनले बताए।

आइडिबिले फिनल्यान्ड अध्ययनका क्षेत्रमा आफ्नो पहिचान बनाइसकेको उल्लेख गर्दै कोइरालाले नेपाली शैक्षिक परामर्श व्यवसायी बिचको सहकार्यले विद्यार्थीलाई थप सहज सेवा उपलब्ध गराउन सक्ने बताए। नेपाली व्यवसायीले नै सञ्चालन गरेको संस्थासँग बीटुबी सहकार्य गर्नु सकारात्मक रहेको उल्लेख गर्दै उनले उपस्थित परामर्श व्यवसायीलाई आइडिबि सँग विश्वासका साथ साझेदारी गर्न आग्रह गरे।

कार्यक्रमका विशिष्ट अतिथि इक्यान अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ले आइडिबिले सुरुदेखि नै आफ्नो व्यावसायिक सम्भावना देखाएको बताए। संस्थाको नाममा रहेको ‘ग्लोबल’ शब्दलाई आफ्नो काममार्फत सार्थक बनाउँदै लगेको उल्लेख गर्दै उनले नेपाली शैक्षिक परामर्श व्यवसायीबिचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

विदेशी संस्थासँगको बीटुबी सहकार्यको तुलनामा नेपाली संस्थासँग सहकार्य गर्दा समन्वय सहज हुने र दीर्घकालीन सम्बन्ध विकास गर्न सकिने पौडेलले बताए। नीति निर्माताको दृष्टिकोणका कारण शैक्षिक परामर्श व्यवसायीले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा अवस्था सुधार हुने विश्वास व्यक्त गरे। आइडिबिको व्यवसाय विस्तारका लागि व्यक्तिगत र संस्थागत दुवै तहबाट सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

कार्यक्रमको समापन गर्दै आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक ईश्वर घिमिरेले अन्तर्राष्ट्रिय स्तरमा सेवा विस्तार गर्ने उद्देश्यले आइडिबि नेपाललाई आइडिबि ग्लोबलका रूपमा अघि बढाइएको बताए। शैक्षिक परामर्श व्यवसायीबिच स्थापित विश्वासकै कारण फिनल्यान्डका थप शैक्षिक संस्थाहरू पनि कार्यक्रममा सहभागी हुन इच्छुक रहेको उनले जानकारी दिए। यद्यपि, समय व्यवस्थापनका कारण सबै संस्थालाई कार्यक्रममा समेट्न नसकिएको उनको भनाइ थियो। आइडिबि अहिले ४५ जना कर्मचारीसहितको संस्थाका रूपमा विकास भएको उल्लेख गर्दै घिमिरेले संस्थालाई वर्तमान अवस्थामा पुर्‍याउन कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको बताए। कार्यक्रममा सहभागी शैक्षिक परामर्श संघका प्रतिनिधि, साझेदार संस्था तथा अतिथिप्रति आभार व्यक्त गर्दै उनले औपचारिक कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड