Matra Education आइतबार, साउन १० २०८३

श्रीपञ्चमी: ज्ञान र शिक्षाको पर्व

श्रीपञ्चमी: ज्ञान र शिक्षाको पर्व

  • मात्र एजुकेशन
  • सोमबार, माघ २१ २०८१


आज नेपालभर श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी मनाइँदै छ। हिन्दु धर्मअनुसार यो दिनलाई विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा आराधना गरी विशेष रूपमा मनाइन्छ। विशेष गरी शिक्षा क्षेत्रका विद्यार्थी, शिक्षक, विद्वान तथा सम्पूर्ण शिक्षासँग सम्बन्धित व्यक्तिहरूका लागि यो पर्व महत्त्वपूर्ण मानिन्छ।

श्रीपञ्चमी हिन्दु धर्मको प्रमुख पर्वमध्ये एक हो। यो दिन विशेष गरी सरस्वती देवीको पूजा गरी विद्यालय, कलेज, शिक्षालय तथा मठमन्दिरहरूमा विशेष कार्यक्रम आयोजना गरिन्छ। बालबालिकालाई पहिलो अक्षर लेख्ने परम्परा अर्थात् ‘अक्षराम्भ’ गर्ने शुभ अवसरका रूपमा समेत यो दिनलाई लिइन्छ। यसै अवसरमा विद्यालय र कलेजहरूमा विद्यार्थी तथा शिक्षकहरू भेला भएर देवी सरस्वतीको पूजा गर्छन्। पुस्तक, कलम, वाद्ययन्त्र र अन्य शैक्षिक सामग्रीहरूलाई देवी सरस्वतीको चरणमा अर्पण गरी शिक्षामा प्रगति होस् भन्ने कामना गरिन्छ।

नेपालको शैक्षिक क्षेत्रसँग यो पर्व विशेष रूपमा सम्बन्धित छ। यो दिन विद्यार्थीहरूले आफ्नो अध्ययनको शुभारम्भ गर्न उपयुक्त मान्दछन्। विभिन्न विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा विशेष समारोह आयोजना गरिन्छ। कतिपय विद्यालयहरूमा आजको दिन बिदा दिने परम्परा पनि रहेको छ भने कतिपय संस्थानहरूमा सरस्वती पूजा गरी पाठ्यक्रमको औपचारिक सुरुवात गरिन्छ। शिक्षालाई उच्च प्राथमिकता दिने सन्देश प्रवाह गर्दै सरस्वती पूजाले समाजमा ज्ञानको महत्त्व उजागर गर्दछ।

समयको परिवर्तनसँगै श्रीपञ्चमी मनाउने शैली पनि बदलिँदै गएको छ। परम्परागत रूपमा मठमन्दिरमा हुने पूजाआजा अहिले डिजिटल मञ्चहरूमा समेत देखिन थालेको छ। सामाजिक सञ्जालमा विद्या, ज्ञान, र शिक्षासम्बन्धी प्रेरणादायी सन्देशहरू साटासाट गरिन्छ। साथै प्रविधिले शिक्षालाई सहज बनाइरहेको समयमा सरस्वती पूजाले शैक्षिक प्रणालीलाई अझ प्रभावकारी बनाइरहेको अनुभूति गराउँछ।

विगतमा शिक्षा सीमित वर्ग र स्थानसम्म मात्र सीमित थियो। तर आजको युगमा डिजिटल प्रविधिको विकाससँगै हरेक व्यक्ति शिक्षाको पहुँचमा आएको छ। यस्तो अवस्थामा सरस्वती पूजाको महत्त्व अझै बढेको देख्न सकिन्छ। शिक्षालाई प्रविधिसँग जोड्दै नविनतम् शैक्षिक प्रणाली अपनाउनु आवश्यक छ, जसले गर्दा हरेक विद्यार्थीको सिर्जनात्मकता अभिवृद्धि गर्न सकियोस्।

शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित हुनुहुँदैन। बरु यसले व्यवहारिक तथा नैतिक पक्षलाई पनि उजागर गर्नुपर्छ। सरस्वती पूजाले ज्ञान मात्र नभई सृजनशीलता र चारित्रिक विकासमा पनि योगदान पु¥आउँछ। आजका विद्यार्थीहरूले विद्या, कला तथा विज्ञानमा रुचि राखेर आफूलाई योग्य नागरिक बनाउनु आवश्यक छ।

श्रीपञ्चमी केवल धार्मिक पर्व मात्र नभई शिक्षाको सम्मान गर्ने, ज्ञानको महत्त्व बोध गराउने र विद्यारम्भको शुभ दिनका रूपमा समेत मनाइन्छ। शिक्षालाई उज्ज्वल बनाउने उद्देश्यले यो पर्व नेपाली समाजमा गहिरो रूपमा जरो गाडेको छ। यस दिन हामी सबैले शिक्षा र ज्ञानप्रतिको समर्पणलाई अझ सुदृढ गर्दै अघि बढ्ने प्रण गर्नुपर्छ।

यस पर्वको अवसरमा विद्यालय तथा शैक्षिक संस्थाहरूले विभिन्न प्रतियोगिता, गोष्ठी तथा ज्ञानवर्धक कार्यक्रमहरू आयोजना गर्न सक्छन्। जसले विद्यार्थीहरूको बौद्धिक विकासमा टेवा पुर्‍याउनेछ। अभिभावकहरूले आफ्ना सन्तानलाई ज्ञान र नैतिक शिक्षाको सही दिशा देखाउन सक्ने यो पर्व एउटा महत्त्वपूर्ण अवसर हो। यसरी श्रीपञ्चमीले केवल धार्मिक मात्र नभई शैक्षिक र सामाजिक चेतनाको प्रवर्द्धन गर्न पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड