काठमाडौँ- चाबहिलमा रहेको प्राक्सिस इन्टरनेसनल एकेडेमीले शुभकामना आदानप्रदान तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार चुच्चेपाटीको के.एल. टावर स्थित इम्पेरियल ब्याङ्क्वेटमा आयोजित एक कार्यक्रमका बिच प्राक्सिसले आफ्ना अभिभावकहरूलाई शुभकामना दिनुका साथै अभिमुखीकरण गरेको हो ।
प्राक्सिस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेरक वक्ता विकास देब योञ्जन तामाङले विशेष प्रस्तुति दिएका थिए। कार्यक्रममा प्राक्सिसका शिक्षक शिक्षिकाहरू, अभिभावकहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावक र विद्यालय बिचको सम्बन्ध सुमधुर बनाउँदै विद्यार्थीको शैक्षिक उन्नतिका लागि योगदान गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको प्राक्सिस प्रशासनले जनाएको छ ।
कार्यक्रममा प्राक्सिस इन्टरनेसनल एकेडेमीकी एकेडेमीक हेड शशिकला खड्काले अभिभावकहरूलाई विद्यालय, अभिभावक र विद्यार्थीको सम्बन्ध बारे आफ्नो प्रस्तुतीकरण मार्फत बुझाउने प्रयास गरेकी थिइन्। उनले प्राक्सिस स्कुलको विगतदेखि वर्तमान सम्मको अवस्था, शैक्षिक योजना तथा उपलब्धिहरू लगायतका बारेमा पनि जानकारी गराएकी थिइन्। खड्काले विद्यालय विद्यार्थीहरूको सर्वपक्षीय विकासका लागि सदैव सचेत रहेको भन्दै शैक्षिक र अतिरिक्त क्रियाकलाप दुवैलाई गुणात्मक रूपमा बढाउँदै लाने योजना रहेको बताइन्। नयाँ सालको नयाँ योजनाका रूपमा विद्यालयले कमजोर विद्यार्थीहरू छनोट गरेर सुरुबाटै पृष्ठपोषण सहित आवश्यक थप कक्षाहरू व्यवस्था गर्ने, विभिन्न कक्षागत क्लबहरू मार्फत क्रियाकलापहरू सञ्चालन गर्ने र सामाजिकीकरणका लागि विभिन्न बाहिरी कार्यहरूमा संलग्न गराउने योजना बनाएको उनको भनाई थियो। आजको कार्यक्रम पछि अभिभावकहरू सचेत हुँदै आफ्नो अभिभावकीय भूमिका सफलतापूर्वक निभाउन सफल हुने विश्वास पनि उनले व्यक्त गरिन्।
अभिभावकहरूलाई करिब १ घण्टा प्रशिक्षण दिएका प्रेरक वक्ता तामाङले बाबुआमा हुनु र अभिभावक हुनुको फरक देखाउँदै विद्यार्थीको प्रगतिमा अभिभावकको भूमिकाका विषयमा प्रस्ट पारे । एउटा असल नागरिक बनाउनका लागि विद्यालय, अभिभावक र विद्यार्थी तिनै पक्षको भूमिका रहने भन्दै विद्यालय बाहिर बालबालिकाले अधिकांश समय बिताउने हुँदा उनीहरूका क्रियाकलाप बारे अभिभावक सचेत हुनुपर्ने बताए।
राम्रो नतिजा ल्याएन भनेर छोराछोरी सँग निराश हुनुभन्दा अभिभावकले आफ्नो कमजोरी पनि केलाउनुपर्ने उनको आशय थियो। उनले बालबालिकालाई सम्पत्ति भन्दा बढी समय दिन आग्रह गर्दै प्रविधिको बढ्दो दुरुपयोग रोक्न, आधुनिक भनिएको जीवनशैलीको देखावटी बाट टाढा रहन, आफ्ना बालबालिकालाई अरूसँग तुलना नगर्न र पर्याप्त समय दिन आग्रह गरे। परिवर्तनको सुरुवात आफैँबाट गरे बालबालिकाको भविष्यका लागि चिन्तित हुनु नपर्ने उनको भनाई थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राक्सिसका प्रिन्सिपल गेन्द्र लामाले उपस्थित सबैलाई धन्यवाद दिए। कोरोनाका कारण करिब ३ वर्षपछि मात्रै आफ्ना भगवानरुपी अभिभावकहरूलाई सुन्ने, सुनाउने अवसर प्राप्त भएकोमा आफूलाई खुसी लागेको उनले बताए। विभिन्न आरोह अवरोह पार गर्दै प्राक्सिस यो स्थानसम्म आइपुगेको उनको भनाइ थियो। हरेक चुनौतीमा अवसर देख्ने गरेको भन्दै अभिभावक दिवसमा करिब ९ वर्षअघि घोषणा गरेको एम( एम लाई सार्थक बनाएको उनको भनाइ थियो । मन्टेश्वरी देखि मास्टर्स सम्मको त्यो योजना सुनाउँदै गर्दा सकारात्मक सहित नकारात्मक प्रतिक्रिया आए पनि कोभिडको चुनौतीकै बाबजुद जोखिम मोलेरै आँट गरेको सपना आज पुरा हुने चरणमा रहेको उनले उल्लेख गरे। चुनौतीका वापजुद डगमगाउन नदिएको आफ्नो सपना पहिलो बर्स नै अभिभावकहरूको उत्साहजनक साथ र सहयोगका कारण सफल भएको उनले बताए । आज स्कुलमा ४०० बढी र कलेजमा १६०० बढी विद्यार्थी सहित संस्था चलिरहेको उनले जानकारी दिए ।
एउटा व्यक्तिको सपना र भिजनमा सकारात्मक सोच भएका साथीहरूको टिमको साथ र सहयोगका कारण मनास्लु र प्राक्सिस सफलताको बाटोतिर लम्कँदै गरेको उनको भनाइ थियो । प्राक्सिसको इतिहासकै ठुलो अभिभावकहरूको उपस्थितिले नयाँ वर्षमा नयाँ ऊर्जा दिएको लामाको भनाई थियो।
प्राक्सिस हाल मनास्लु टिम अफ एण्टरप्रेनर अन्तर्गत सञ्चालित छ भने छोटो समयमै मनास्लुले चाबहिलमा सफलता प्राप्त गरेको छ। प्राक्सिस एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहमा भर्ना खोलिसकेको छ। तपाईँ थप जानकारीका लागि यहाँ क्लिक गरेर प्राक्सिसको फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।
(तपाईं यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ)