Matra Education आइतबार, साउन १० २०८३

लोकसेवा तयारी डायरी: प्रशासनमा कर्मचारी व्यवस्थापन

लोकसेवा तयारी डायरी: प्रशासनमा कर्मचारी व्यवस्थापन

  • रमेश चालिसे
  • बुधबार, फाल्गुन २५ २०७८


संगठनमा आवश्यक जनशक्ति अनुमान गर्ने, मेधावी जनशक्ति आकर्षण गरी संगठनमा भित्र्याउने, तिनीहरूको विकास गर्ने र आवश्यक सेवा सुविधा उपलब्ध गराई संगठनको हितमा उनीहरूको उपयोग गर्ने जस्ता समग्र व्यवस्थापकीय गतिविधिहरुलाई कर्मचारी व्यवस्थापन भनिन्छ। लक्ष्य प्राप्तिकालागि संगठनमा कर्मचारीको योजना ,भर्ना छनौट र पदस्थापना, तालिम ,वृत्तिविकास, मोटिभेसन (मौद्रिक) र (गैरमौद्रिक), क्षतिपूर्ति ,सुरक्षा ,कल्याण, सम्बन्ध र सामाजिकिकरण गर्ने प्रक्रियाको समग्र शृंखला हो कर्मचारी व्यवस्थापन। मूलतः सार्वजनिक कर्मचारी व्यवस्थापन प्राप्ति ,विकास उपयोग ,उत्प्रेरणा ,सम्भार सेवानिवृत्त र सामाजिकीकरण जस्ता तत्वहरूको समग्र रुप हो।

कर्मचारी प्रशासनको उत्कृष्ट परिभाषा गर्ने इ.बि. फिप्पो १९९१ का अनुसार वैयक्तिक साँगठनिक र सामाजिक उद्देश्य हासिल गर्न जनशक्ति प्राप्ति ,विकास ,पारिश्रमिक निर्धारण, कर्मचारीको चाहना र संगठनको उद्देश्यबिच सामन्जस्यता सुधार तथा अवकाशको क्रममा योजना, संगठन, निर्देशन र नियन्त्रण गर्नुलाई कर्मचारी व्यवस्थापन भनिन्छ भनी उल्लेख गरेको पाइन्छ। त्यस्तै पेरि मोरले कर्मचारीको भर्ना छनौट, तालिम ,उत्प्रेरणा तथा क्षतिपूर्ति संग सम्बन्धित व्यवस्थापन नै कर्मचारी व्यवस्थापन हो भनेका छन्।

बजारमा रहेका मानव संसाधनलाई संगठनमा आकर्षण गरी प्राप्त गर्ने, तालिमको माध्यमद्वारा सक्षमता अभिबृद्धी गर्ने, उचित जिम्मेवारी सहित कार्यसम्पादनमा आकृष्ट गराउने एवं उत्प्रेरणा र मनोबललाई उचो बनाएर कार्यमा दत्तचित्त बनाउन गरिने यावत् गतिविधिहरूको समुच्च रुप भनि कर्मचारी व्यवस्थापनलाई अर्थ्याउन सकिन्छ।

सन् १९७० को दशक अघि सार्वजनिक कर्मचारी प्रशासन भनिएकोमा उक्त दशकपछि निजीक्षेत्रका कर्मचारी प्रशासनलाई पनि जनाउने गरी कर्मचारी व्यवस्थापन भन्न थालेको पाइन्छ । सन् १९९० पछि यसको अवधारणालाई अझ व्यापक बनाउँदै यसलाई मानव संसाधन व्यवस्थापन शब्दावलीको प्रयोग गरिएको छ। तसर्थ सरकारी क्षेत्रमा होस् वा निजी क्षेत्रमा आधुनिक कर्मचारी प्रशासनले मानव संसाधन व्यवस्थापनको आदर्शलाई अपनाउन थालेको छ ।

कर्मचारी व्यवस्थापनको उद्देश्य:
-संगठनले निर्धारण गरेका उद्देश्य हासिल गर्नका लागि जनशक्तिको महत्तम उपयोग गर्नु
-बढीभन्दा बढी व्यक्तिलाई सेवाप्रति आकर्षित गर्दै योग्य व्यक्ति छनोट गर्नु
-कर्मचारीलाई संगठनप्रति समर्पित गराउनु
-कर्मचारीहरुलाई अनुशासित , आचरणवान र कामप्रती लगनशील बनाउन प्रयास गर्नु
-जनशक्ति कार्यसम्पादनस्तर मूल्यांकनको व्यवस्था गर्नु
-दण्ड र पुरस्कारलाई कार्यसम्पादनस्तर सँग आबद्ध गर्दै सक्षम उत्तरदायी एवं न्यायपूर्ण कर्मचारी संयन्त्र निर्माण गर्नु
-संगठनमा कार्यरत जनशक्तिको बहुआयामिक व्यक्तित्व विकासको वातावरण सृजना गर्नु

कर्मचारीको सक्रिय संलग्नतामा मात्र संगठनले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने भएकाले कर्मचारी प्रशासन संगठनको आधारशिलाको रुपमा रहेको हुन्छ। उच्च मनोबल कायम गर्नु, नैतिकताको विकास गर्नु , कार्यप्रती अभिप्रेरित गर्नु ,सुधारको सकारात्मक उपाय अपनाउनु आदि कर्मचारी प्रशासनको व्यवस्थापनमा विशेष महत्व मानिन्छ। सङ्गठनप्रतिको अपनत्व, उत्प्रेरणा तथा मनोबल वृद्धि गरी कर्मचारीलाई रोकी राख्ने , कर्मचारीको सामाजिक प्रतिष्ठा अभिवृद्धि गर्ने, उत्पादकत्व र सेवा प्रवाहमा गुणात्मकता ल्याउने र अवकाश पश्चातको सामाजिकीकरण तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जस्ता कार्यहरुले पनि सार्वजनिक कर्मचारी व्यवस्थापनको महत्व दर्शाउँछ। तर बिडम्बना यत्तिका महत्व बोकेका कर्मचारी प्रशासनलाई राजनैतिक अस्थिरताले गिजोलिरहेको छ।

कर्मचारीहरुनै हानथाप र तानातान मेरो र तेरोको शिकार भयका छन् । योग्यता र क्षमतालाई लत्याएर आस्थाको आधारमा कसैलाई काखा र कसैलाई पाखा बनाइएको छ जसले गर्दा कर्मचारीको मनोबल गिरेर कर्मचारी प्रशासनले अपेक्षित नतिजा हासिल गर्न सकेको छैन ।राजनीति र प्रशासन बिचको अन्तरसम्बन्ध र द्वन्द ,स्रोतसाधनको परिचालन र उपयोगमा अप्रभावकारिता, प्रक्रियामुखी र लालफीताशाही प्रवृत्ति तथा नतिजाप्रतिको बेवास्ता सूचना प्रविधिको उपयोगमा व्यापकता र सर्वस्वीकार्य नआउनाले सार्वजनिक व्यवस्थापन समस्याको दलदलमा फसेको कुरा नकार्न सकिँदैन ।आधुनिक प्रविधिको अवधारणा मान्यता एवं सिद्धान्त अनुशरण गर्दै अगाडि बढेमा नेपालको कर्मचारी प्रशासनको व्यवस्थापकीय पक्षले अपेक्षित उपलब्धि हासिल गर्ने देखिन्छ।

छरितो र सक्षम प्रशासनिक संरचना, रिटायड दक्ष विज्ञको सेवा उपयोग गर्ने संयन्त्रको विकास, समन्वय, सहयोग र लक्ष्यहरुबीच एकीकरण गरि राइट पिपुल ,राइट टाइम इन राइट प्लेस भयो भने मात्र कुनै पनि संस्था राम्रोसँग सञ्चालन हुन सक्छ र संस्थाले आफ्नो उदेश्य हासिल गर्न सक्छ ।आजको समय विश्व बजारीकरण र उदारीकरणको कारणले बजार अत्यन्तै प्रतिस्पर्धात्मक बनेको छ ।प्रतिस्पर्धात्मक बजारको सामना गर्न कर्मचारी व्यवस्थापन निक्कै सुष्म ढङ्गबाट सोच्नु अपरिहार्य छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड