Matra Education आइतबार, साउन १० २०८३

दशैँको सुरुवात कसरी भयो ?

दशैँको सुरुवात कसरी भयो ?

  • मात्र एजुकेशन
  • बुधबार, असोज २७ २०७८


काठमाडौँ- तपाई हामि यतिबेला हिन्दुहरुको महान चाड दशैँ पर्व मनाइरहेका छौ। यो सामग्री पढिसकेपछि तपाईले दशैं कसरि सुरु भयो भन्ने जानकारी प्राप्त गर्नुहुनेछ।

‘ब्रह्म सत्य जगतमिथ्या’ चिन्तन बोकेको वैदिक परम्परामा एउटै परमदेव नै सबै सत्ताको रहस्य वा सबै आत्माको केन्द्र हो भन्ने मान्यता छ । यो जगत्को सम्पूर्ण जीवात्मा एउटै ब्रह्मका अंश हुन् । यो परम तत्व एउटै हो, यसैलाई ईश्वर, भगवान्, परमात्मा, ब्रह्म आदि नामले सम्बोधन गर्ने गरिन्छ । वेदान्त दर्शनले यो चराचर जगत्को सृष्टि एउटै ब्रह्मको मूल प्रकृति र मूल पुरुषबाट निष्पन्न भएको ठान्छ । यसरी एउटै परमात्मा ब्रह्मलाई मात्र शाश्वत र अमर ठान्ने वैदिक परम्परामा बिस्तारै अनगिन्ती देवदेवताको मूर्त रूपको कल्पना गरेको पाइन्छ । वैदिक परम्पराबाट जन्मे–हुर्केका हिन्दूले आ–आफ्नो पेसा, रुचि अनुसार खासखास देवीदेवतालाई खासखास समयमा खास उद्देश्यका लागि उपासना गर्ने गर्छन् । जस्तैः राजा–महाराजाले विष्णुको, व्यापारी तथा आयआर्जन गर्नेले लक्ष्मीको, लेखपढ गर्नेले सरस्वतीको, ऋषि, योगी, ध्यानीले शिवको, ब्रह्मचारीले ब्रह्मको, युद्ध, लडाइँ गर्न चाहनेले कालीको, दैनिक धर्मकर्म गर्नेले गणेशको उपासना गर्ने गर्छन् ।

विश्वमा सबै धर्म सम्प्रदायमा पुलिंगी र स्त्रीलिंगी शक्तिको उपासना गर्ने परम्परा देखिन्छ । हिन्दूमा पनि स्त्रीलिंगी दैविक शक्तिको निकै ठूलो उपस्थिति देखिन्छ । जस्तैः भगवान्, भगवती, देवीदेवता, ईश्वर–ईश्वरी आदि । हिन्दूहरूले पनि प्रकृति र पुरुषबाट अर्थात् महिला र पुरुषको समागमबाट सृष्टिमा महिला र पुरुषको निष्पन्न भएको मान्छन् । यसरी वैदिक चिन्तन परम्परामा प्रकृतिलाई स्त्रीलिंगी र पुरुषलाई पुलिंगी शक्तिका रूपमा लिने गरिन्छ । पुरुष र महिला दुवैलाई शक्तिस्वरूप मान्ने गरिन्छ भने यस्ता शक्ति पतिपत्नीकै रूपमा समेत स्थापित बनेको पाइन्छ । जस्तैः उमा–महेश्वर, लक्ष्मी–नारायण, ब्रह्म–सरस्वती, सीता–राम, राधा–कृष्ण, गणेश–ऋद्धिसिद्धि आदि । यस्ता पतिपत्नीमध्ये ब्रह्म र सरस्वती, विष्णु र लक्ष्मी, शिव र पार्वती ९काली०लाई विशेष शक्तिशाली जोडीका रूपमा लिइन्छ । यिनीहरूमा सरस्वती, लक्ष्मी र पार्वतीको शक्तिशाली रूपलाई महासरस्वती, महालक्ष्मी र महाकालीका रूपमा समेत चिनिन्छ ।

यसरी हिन्दू परम्परामा शक्तिस्वरूपा वा मातृशक्तिकी रूपमा देवी, दुर्गा, काली, महाकालीको कल्पना गरिएको पाइन्छ, जसले शत्रुहरूलाई वध गर्ने र विजय प्राप्त गर्ने गरेको देखाइएको पाइन्छ । यसरी वध गर्ने क्रममा नै केही गर्दा पनि नमर्ने वरदान प्राप्त महिषासुर ९पुरुष र भैँसीको समागमबाट जन्मिएको शक्तिशाली दानवले देवतामाथि अन्याय अत्याचार गरेको हुँदा कालीले महिषासुरसँग आश्विन शुक्ल प्रतिपदादेखि नवमी नौ दिनसम्म घमासान युद्ध गरी वध गरेको र दशौँ दिनमा असत्यमाथि सत्यको विजय भएको रूपमा दशमी मनाउन थालिएको किंवदन्ती पाइन्छन् ।

दशैँ कहिलेदेखि मनाउन सुरु गरियो भन्ने वास्तविक तथ्य प्राप्त गर्न सकिन्न । नेपालमा लिच्छविको पालादेखि नै दशैँ मनाउन थालिएको पनि भनिन्छ । त्यसको ठोस आधार भने कतै पाइँदैन । वास्तविकताचाहिँ के हो भने वर्तमान नेपालको सम्पूर्ण भू–भागमा दशैँको प्रभाव परेको गोर्खाका राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि नै हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड