Matra Education आइतबार, साउन १० २०८३

उपत्यकामा आजबाट कति विद्यालय खुले? नखुलेका कहिले खुल्छन्?

उपत्यकामा आजबाट कति विद्यालय खुले? नखुलेका कहिले खुल्छन्?

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज १ २०७८


प्रतीकात्मक तस्बिर

काठमाडौँ- १ महानगर र १० नगरपालिका रहेको काठमाडौँका सबै स्थानीय तहले आफूखुसी विद्यालयहरू खुलाएका छन् ।

९ वटै स्थानीय तहमा आजदेखि विद्यालय सञ्चालनमा आए । किर्तिपुर र चन्द्रागिरि नगरपालिकामा भने विद्यालय खुलेनन् । यी दुवै नगरपालिकाले जात्राको कारण मात्रै आज स्कुल नखुलाएका हुन् । उनीहरूले पनि ४ गतेदेखि विद्यालय खुलाउने तयारी गरेका छन् ।

गोर्कर्णेश्वर नगरपालिकाले भने भदौ १५ देखि नै सबै सामुदायिक तथा निजी विद्यालय खुलाउने निर्णय गरेको थियो । १५ गतेदेखि नै नगरपालिकाका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ भइरहेको छ । स्थानीय तहको अधिकारअनुसार नै भदौ १५ देखि सबै विद्यालय खुलिरहेको गोर्कर्णेश्वरका मेयर सन्तोष चालिसेले बताए । गोकेर्णेश्वरमा निजी र सामुदायिक गरी १ सय १० विद्यालय छन् ।

शंकारापुर नगरपालिकाको पनि सबै स्कुल आजदेखि भौतिक उपस्थितिमा नै खुलेको शंकारापुरकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले बताइन् । ती नगरपालिकामा ३१ वटा विद्यालय छन् । कागेश्वरी महानगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुलेका छन् । नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार सिडिओले स्थानीय तहलाई अधिकार दिएसँगै आजदेखि सबै विद्यालय खुलाउन अनुमति दिइएको छ । तर स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै खोल्न निर्देशन दिइएको उनले बताए । यस नगरपालिकामा ८५ वटा विद्यालयहरू छन् ।

बुढानीलकण्ठ नगरपालिकामा पनि आजदेखि केही विद्यालयहरू आंशिक रूपमा खुल्न थालेका छन् । मेयर उद्धवप्रसाद खरेलका अनुसार सोमबारदेखि सबै विद्यालय खुल्नेछन् । उक्त नगरपालिकामा सामुदायिक र निजी गरी १ सय २० वटा विद्यालयहरू छन् ।

टोखा नगरपालिकाको ८७ वटा विद्यालयहरुमध्य केही विद्यालयहरू मात्रै आजदेखि खुले । बिस्तारै सबै विद्यालयहरू मापदण्ड पुरा गरेर खुल्ने उपमेयर ज्ञानमाया डङ्गोलले बताइन् ।

तार्केश्वर, नागार्जुन नगरपालिकामा पनि आजदेखि विद्यालय खुलेका छन् । यस नगरपालिकामा १ सय २ र नागार्जुन नगरपालिकामा ५२ वटा विद्यालयहरू छन् ।

किर्तिपुर नगरपालिकामा भने आजदेखि विद्यालयहरू खुलेनन् । सबै विद्यालयहरू कोभिड प्रोटोकल पालना गराउनको लागि छलफल भइरहेकाले सोमबारदेखि मात्रै खुल्ने मेयर रमेश श्रेष्ठले बताए । यस नगरपालिकामा ४० वटा स्कुलहरू छन् । मेयर श्रेष्ठमा अनुसार आइतबार बिदा परेकाले सोमबारदेखि मात्रै स्कुल खुल्नेछन् ।

यसै गरी चन्द्रागिरि नगरपालिकाका ७४ वटा विद्यालयहरू शुक्रवारदेखि खुलेका छैनन् । मेयर घनश्याम गिरीका अनुसार आज नगरपालिकामा जात्रा लाग्ने भएकाले नखोलिएको हो । ४ गतेदेखि नै सबै विद्यालयहरू खुल्नेछन् ।

दक्षिणकाली नगरपालिकाका २७ वटा विद्यालयमध्ये आज अधिकांश विद्यालय खुलेका छन् । केही विद्यालयहरुले व्यवस्थापकीय कारणले नखोलिएको मेयर मोहन बस्नेतले बताए ।

काठमाडौँ महानगरका केही विद्यालय आंशिक रूपमा खुलेका छन् । खुलेका विद्यालयमा पनि खासै विद्यार्थीको उपस्थिति छैन । काठमाडौँ महानगरभित्र ६ सय ९१ वटा विद्यालयहरू छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण नघटेको भन्दै तत्काल विद्यालय नखुलाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड