Matra Education आइतबार, साउन १० २०८३

कोभिड १९ का कारण कक्षा १२ को परीक्षा स्थगित

कोभिड १९ का कारण कक्षा १२ को परीक्षा स्थगित

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २६ २०७८


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा कोभिड १९ का कारण स्थगित  गरेको हो ।

महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

बोर्डले आगामी श्रावण ३१ गतेबाट १२ कक्षाको परीक्षा सञ्चालन हुने भनेर सूचना निकालेको थियो । तर, कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै परीक्षा रोक्न सामाजिक सञ्जालमार्फत बोर्डलाई दवाव परिरहेको थियो । कोभिडको परिस्थितिलाई आँकलन गरेर भविष्यमा अर्को निर्णय हुने बताइएको छ । हाल वैकल्पिक विधिबाट परीक्षा लिनेबारे कुनै निर्णय भएको छैन ।

यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न सकिने  बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड