काठमाडौँ- पेरिसडाँडा कोटेश्वर र दुवाकोट भक्तपुरमा रहेको किड्स गार्डेन मन्टेश्वरी स्कुल तथा इमाडोल ललितपुरमा रहेको स्टार पब्लिक स्कुलले नवौँ अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेका छन् । एउटै व्यवस्थापन द्वारा सञ्चालित यी विद्यालयहरूले शुक्रवार बालकुमारी स्थित ज्यापू सेवा समाजको हलमा आयोजित एक भव्य कार्यक्रममा अभिभावक दिवस मनाएका हुन् । साथै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीलाई कार्यक्रमकै अवसरमा दीक्षित गरिएको हो । शिक्षण सिकाई क्रियाकलापमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूलाई विद्यालयले के गर्दैछ देखाउनका लागि र साना बालबालिकालाई उनीहरूले एउटा तह पार गरेर प्राप्त गरेको उपलब्धि बापत प्रोत्साहन गर्नका लागि कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
स्टार पब्लिक स्कुलका अध्यक्ष मेगेन्द्र पराजुलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा किड्स गार्डेनका शिक्षक/ शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै शिक्षिका सुनिता प्रधानले विभिन्न आरोह अवरोह पार गर्दै विद्यालय यहाँ सम्म आइपुगेको उल्लेख बताइन् । उनले आजको स्थानमा विद्यालय आउनका लागि अभिभावकको उत्तिकै भूमिका रहेको भन्दै त्यसका लागि विद्याको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा रहेको उल्लेख गरिन् ।
विद्यालयमा पढाइ मात्रै नभएर आफ्ना विद्यार्थीको सर्वपक्षीय विकासका लागि विभिन्न क्रियाकलाप गर्दै आएको दाबी गरेको विद्यालयले त्यसको प्रदर्शन कार्यक्रममा गरेको थियो। आफ्ना विद्यार्थीले वर्ष भरी सिकेका कुराहरू मञ्चमा देखाउने अवसरका रूपमा कार्यक्रमलाई लिएको विद्यालयले कार्यक्रम अवधिभर प्रस्तुत विविध क्रियाकलापहरू (गायन, नृत्य, वक्तृत्व, नाटक, उद्घोषण आदि कला) मार्फत आफ्नो गुणस्तरको परिचय दिएको हो। कार्यक्रमको सुरुवातमा देखाइएको पिरामिड, जिम्नेस्टिक र प्रत्येक प्रस्तुति अघि बालबालिकाले त्यसबारे आफैँ दिएको जानकारी कार्यक्रमको रोचक पक्षका रूपमा रहेका थिए। त्यस्तै बालबालिकाहरूलाई प्रोत्साहन गर्नका लागि शिक्षिकाहरूले उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्दै किड्स गार्डेन मन्टेश्वरी स्कुलकी फाउन्डर प्रिन्सिपल मुना दाहालले उपस्थित सबैलाई धन्यवाद दिइन् । उनले प्रस्तुति दिने बालबालिका र त्यसका निम्ति सक्षम बनाउने शिक्षक शिक्षिका सदैव धन्यवादको पात्र रहेको बताइन् । अभिभावक, विद्यालय र विद्यार्थी तिनै पक्षको समन्वयमा मात्रै प्रभावकारी सिकाइ हुन सक्ने धारणा राखेकी उनले आगामी वर्ष देखि अभिभावक विद्यालय साझेदारीको विशेष कार्यक्रम ल्याउने घोषणा गरिन् ।
कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सफल भएको भन्दै आगामी दिनमा अझै धेरै सफलताका लागि शुभकामना दिए।
कार्यक्रमका सभापति पराजुलीले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालय प्रति उतिकै शुभेच्छा प्राप्त हुने अपेक्षा सहित कार्यक्रम समापन गरे।
तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका तस्बिरहरू हेर्न सक्नुहुन्छ ।