काठमाडौँ- कलंकी स्थित सौगात मन्टेश्वरि स्कुलको आयोजनामा आगामी शुक्रबार सम्पन्न हुन गइरहेको सौगात आइकन २०७९ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रम बिच विद्यार्थीहरूले आफूमा भएको प्रतिभा प्रस्तुत गर्दै प्रतियोगिताका लागि आफूलाई अब्बल साबित गर्ने प्रयास गरेका थिए । २४ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिताको फाइनल आगामी फागुन ५ गते सम्पन्न हुँदैछ । सौगात आइकनको यो छैटौँ संस्करण हो ।

प्रतियोगीहरूको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि आयोजित ट्यालेन्ट राउन्डमा बालविकास विशेषज्ञ सानु अमात्य, लेक्चरर दीपेन्द्र बज्राचार्य, ‘किड्स सिरिज’ की लेखिका रेखा हमाल र कोरियोग्राफर सरिता डंगोलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ‘प्रि टु’ अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्णायकहरुले विविध प्रश्न गर्दै प्रश्नोत्तर राउन्ड सञ्चालन गरेका थिए । स- साना बालबालिकाहरूले निर्दोष आवाजमा दिएको सिर्जनात्मक उत्तर कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको थियो । प्रश्नहरू बालबालिकाहरूको दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक क्रियाकलापहरू सँग सम्बन्धित थिए । कार्यक्रममा बालबालिकाहरूले आफूसँग भएका अतिरिक्त प्रतिभाहरू गायन, नृत्य, चित्रकला, वक्तृत्वकला आदि पनि प्रस्तुत गरेका थिए जसले कार्यक्रमलाई अझै रोमाञ्चक बनाएको थियो । आफ्ना स- साना छोराछोरीले निर्णायकको अगाडी उभिएर मञ्च बाट दिएका सुन्दर प्रस्तुतिहरू हेरेर विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे ।

आज सम्पन्न `ट्यालेन्ट राउन्ड´ मार्फत सौगात आइकनमा पुरस्कृत हुने फस्ट रनर अप, सेकेन्ड रनर अप, सौगात आइकन तथा ‘बेस्ट पब्लिक चोइस अवार्ड’ का लागि प्रतियोगीहरुले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन्। अघिल्ला तिन विधाको विजेता घोषणा अन्तिम प्रतियोगिता पश्चात् हुनेछ भने ‘बेस्ट पब्लिक चोइस अवार्ड’ को नतिजा सामाजिक सञ्जालमा राखिएको तस्बिरमा पाउने लाइक/सेयरको आधारमा हुनेछ। बालबालिकाहरुले भाग लिनु नै जित्नु भएकाले उनीहरुलाई प्रोत्साहन गर्नका लागि सबै बालबालिकालाई कुनै न कुनै विधामा विद्यालयले पुरस्कृत गर्ने जनाइएको छ।

`ट्यालेन्ट राउन्ड´ समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै सौगात मन्टेश्वरी स्कुलकी फाउन्डर प्रिन्सिपल राज्यलक्ष्मी बैदारले विद्यार्थीहरूले देखाएको प्रतिभा बाट विद्यालय प्रशासन उत्साहित भएको प्रतिक्रिया दिइन्। स- साना बालबालिकाको सर्वपक्षीय विकासका लागि समय समयमा विद्यालयले यस्ता क्रियाकलाप गर्दै आएको भन्दै उनले यस्ता क्रियाकलापहरूकै कारण सौगातका विद्यार्थी सानै देखि आफ्नो भविष्यको मार्गचित्र कोर्न सफल हुने गरेको बताइन्। बालबालिकाहरूमा देखिएको हौसला र अभिभावकको उत्साह नै कार्यक्रम सफलताको आधार भएको उनको भनाई थियो। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै फाइनल सम्म उस्तै साथ सहयोग र हौसलाको अपेक्षा गरेको बताइन्।
सौगात मन्टेश्वरी आफ्नो क्षेत्रमा पहिलो रोजाइको प्रि-स्कुल रहेको अभिभावकहरू बताउँछन्।
