काठमाडौँ- चाबहिल स्थित टेक्सस इन्टरनेसनल कलेजको टेक्सस साइन्स एन्ड आइटी एक्स्पो सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त प्रदर्शनीको आइतबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
कलेजले विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमीला बज्राचार्य, काठमाडौँ महानगरपालिका वडा ७ का अध्यक्ष विमल कुमार होडा र काठमाडौँ विश्वविद्यालयका प्रा डा सुधन झाको आतिथ्यमा प्रदर्शनीको उद्घाटन गरेको हो। उद्घाटन समारोहमा टेक्सस परिवारका अलवा विभिन्न आमन्त्रित विद्यालय बाट शिक्षक विधार्थीहरुको उपस्थिति रहेको थियो । ड्रोन उडाएर पुष्पवृष्टि सहित उद्घाटन गरिएको कार्यक्रममा विज्ञान, आइटी तथा रोबोटिक्स सम्बन्धी ५० भन्दा धेरै स्टलहरू राखिएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सस इन्टरनेसनल सेकेन्डरी स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सस प्रयोगात्मक शिक्षामा विश्वास गर्छ भन्ने एउटा उदाहरण कार्यक्रम भएको उल्लेख गरे। उनले प्रदर्शनीमा राखिएका स्टलहरूले कलेजले दिने शिक्षाको प्रतिनिधित्व गरेको बताए।
त्यस्तै टेक्सस कलेजका प्रधानाध्यापक भेस राज पोखरेलले प्रदर्शनी सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यवाद दिए । आजका विद्यार्थी सफल हुनका लागि विज्ञान तथा आइटीमा जानकार हुनुपर्ने भन्दै उनले त्यसैले व्यक्तिको सफलताको बाटो तय गर्ने उल्लेख गरे । कलेजले डिग्री सँगै सिप प्रदान गर्ने गरेको र त्यसको प्रतिबिम्ब प्रदर्शनीमा देखिने उल्लेख गरे।
टेक्सस कलेजका चिफ अफ एकेडेमीक्स प्रा. डा. गोविन्द प्रसाद आचार्यले यस्ता प्रदर्शनीको आफ्नै महत्त्व रहेको धारणा राखे । आजको दुनियाँमा प्रयोगात्मक ज्ञान नभए सिद्धान्त मात्रै सिकेर केही नहुने उल्लेख गरेका उनले विद्यार्थीको भविष्य निर्माणका लागि कार्यक्रम आयोजना भएको भन्दै सबैलाई शुभकामना दिए ।
प्रदर्शनी भोलि सोमबार बेलुकी ४ बजेसम्म चल्नेछ।