Matra Education शुक्रबार, साउन १५ २०८३

समयमा नतिजा प्रकाशित गर्दैन त्रिभुवन विश्वविद्यालय, अर्को तहको भर्ना खुल्दा विद्यार्थी अन्योलमा

समयमा नतिजा प्रकाशित गर्दैन त्रिभुवन विश्वविद्यालय, अर्को तहको भर्ना खुल्दा विद्यार्थी अन्योलमा

  • मात्र एजुकेशन
  • बिहिबार, पौस ७ २०७९


काठमाडौँ- केही समयअघि मात्र एजुकेसनले त्रिविले लाचार भएर १५ महिनामा स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशित गरेको खबर सार्वजनिक गरेको थियो। त्रिविले आफैँले तोकेको नियम उल्लङ्घन गर्दै परीक्षा भएको ३ महिनाभित्र दिनुपर्ने हरेक नतिजा निर्धारित समय भन्दा महिनौँ पछि प्रकाशित गर्ने गरेको छ। यसबाट विद्यार्थीहरू मारमा पर्ने गरेको कुरा अब कुनै नौलो कुरा होइन।

हिजो बुधवार त्रिविको एउटा यस्तै गतिविधिले विद्यार्थीहरू समस्यामा परेका छन्। स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना हुन पुस ६ देखि माघ ५ गतेसम्म आवेदन फारम बुझाउने म्याद दिँदै त्रिविले सूचना निकालेपछि समस्या उत्पन्न भएको हो। स्नातकोत्तर तह अध्ययनका लागि स्नातक तह पास गर्नु जरुरी छ तर स्नातकको नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना खुलाएपछि यसले दुबिधा बढाएको मात्रै होइन हाम्रो विश्वविद्यालय कुन योजनाका साथ काम गर्दै छ भन्ने प्रश्न पनि उब्जिएको छ।

त्रिविले गत वर्ष माघमा गराएको बीबीएस चौथो वर्षको परीक्षा, गत फागुनमा भएको बीए तीन वर्षको अन्तिम परीक्षा, बीएड चार वर्षको र बीएस्सी चौथो वर्षको नजिता अझै निकालेको छैन । परीक्षा भएको यतिका समय बितिसक्दा पनि रिजल्ट नआएपछि विद्यार्थीहरू मारमा छन् । कोभिड १९ का कारण परीक्षा एक वर्ष ढिलो भएको थियो ।

परीक्षा दिएको एक वर्ष बितिसक्दा पनि नतिजा सार्वजनिक नगर्ने र नतिजा नै नआई गैरजिम्मेवारीपूर्वक भर्ना खुलाउनुले विद्यार्थीको भविष्यप्रति त्रिवि गम्भीर छैन भन्ने प्रस्ट भएको भन्दै विद्यार्थीहरू आक्रोशित छन्। उनीहरूले सामाजिक सञ्जाल मार्फत त्रिविको कार्यशैलीको विरोध गरेका छन्। नतिजा समयमै नआउँदा आगामी शैक्षिक यात्रा बिथोलिएको उनीहरूको भनाई छ। त्यस्तै नतिजा ढिलो भएकै कारण केही दिनअघि सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा सहभागी हुन नपाएकोमा पनि उनीहरूको गुनासो छ।

यी विद्यार्थीहरूको तीन वर्षको स्नातक तह सक्न कोभिड र नतिजाको ढिलाइले चार वर्ष लागेको छ । अझै रिजल्ट आउने छाँटकाँट भने छैन ।

सधैँको एउटै जवाफ: जनशक्ति छैन
मात्र एजुकेसनले पटक पटक नतिजा प्रकाशनमा भएको ढिलाइ बारे त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई प्रश्न राखेको छ। तर जिम्मेवारी बाट पन्छिनका लागि कार्यालयले सधैँ जनशक्ति अभावलाई कारण देखाउने गरेको छ। उत्तरपुस्तिका जाँच्ने शिक्षकहरू कम रहेको र विद्यार्थी धेरै भएकाले ढिलाइ भएको उसको जवाफ हुने गरेको छ। तर सधैँ बहाना बनाएर नतिजामुखी काम गर्न नसक्ने त्रिवि पनीकाको समस्या कहिले समाधान हुन्छ तर कहिले बात निर्धारित समस्यामै नतिजा आउँछ यसै भन्न सकिने अवस्था छैन !

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड