Matra Education बिहिबार, कार्तिक १२ २०८३

श्रीमतीको जन्मदिनमा प्रअ श्रीमानको उपहार, विधि मिचेर शिक्षकको जागिर

श्रीमतीको जन्मदिनमा प्रअ श्रीमानको उपहार, विधि मिचेर शिक्षकको जागिर

  • मात्र एजुकेशन
  • आइतबार, जेष्ठ २२ २०७९


काठमाडौँ- कुनै पनि सामुदायिक विद्यालयमा करार, अनुदान वा निजी स्रोतबाट शिक्षक नियुक्त गर्दा सार्वजनिक विज्ञापन आह्वान गरी अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त प्रशिक्षार्थीहरूबाट प्रतिष्पर्धा गराई नियुक्त गर्नुपर्ने प्रावधान छ । तर एउटा विद्यालयमा नियम मिचेर श्रीमतीको जन्मदिनमा उपहार शिक्षक पद दिएको खुलेको छ।

विज्ञापन आह्वान नै नगरी अध्यापन लाइसेन्स समेत नभएकी आफ्नी श्रीमतीसहित अन्यलाई जागिर खुवाउन नियम, प्रक्रिया मिचेर शिक्षक नियुक्ति गरिएको हो। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित श्री माध्यमिक विद्यालय इच्छापुरका प्रधानाध्यापक बैकुण्ठकुमार श्रेष्ठले आफ्नो श्रीमती मोहमाया श्रेष्ठलाई जन्मदिनमा शिक्षिकाको जागिर दिएर फेसबूकबाटै बधाई समेत दिएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामअशिष महतोसँग मिलेमतो गरी प्रअ श्रेष्ठले आफ्नो श्रीमती तथा अध्यक्ष महतोले आफ्नो नातागोतालाई प्राथमिक तह र माध्यमिक तहमा गैर कानुनी नियुक्ति दिएको खुलेको छ।

विज्ञापन नै नगरी, प्रतिष्पर्धा समेत नगराई दुवैको मिलेमतोमा वीणाकुमारी यादव, सुजिता यादव, अरविन्दकुमार यादव, मोहमाया श्रेष्ठ र मनोजकुमार महतोसहित ५ जनालाई विभिन्न तहमा नियुक्ति दिएर तलब भत्ता खुवाउँदै आएका छन् ।

नियुक्त गरिएका शिक्षकहरूमध्ये विना यादव, सुजिता यादव, अरविन्दकुमार यादव, मोहमाया श्रेष्ठको अध्यापन अनुमति पत्र नै छैन । आफ्नो श्रीमतीको लाइसेन्स नभएको कुरा प्रअ श्रेष्ठ पनि स्वीकार गर्छन् । नियुक्त गरिएका पाँचैजना शिक्षकको लाइसेन्स नरहेको प्रअ श्रेष्ठले स्वीकार गरे ।

२०७८ पुस २९ गते निजी स्रोतबाट शिक्षक नियुक्त गर्नका लागि विद्यालयमा सूचना टाँस गरी लिइएको परीक्षाबाट श्रीमती उत्तीर्ण भएर आफ्नै हातबाट नियुक्ति लिएको र श्रीमतीलाई जन्मदिनको अवसरमा उपहारस्वरूप जागिर दिएको भनेर सामाजिक सञ्जालमा पनि लेखेको उनले स्वीकारेका छन् ।

‘जन्मदिनको उपलक्ष्यमा ठूल्ठूला उपहार त दिन सकिनँ । ठूलो जिम्मेवारी दिएको छु । आफ्नो प्रतिभा, क्षमता र योग्यतालाई प्रस्फुटन गर्दै माविस्तरमा शिक्षण गर्न पाएको अवसरलाई सही सदुपयोग गर्नू । आफूले पाएको जिम्मेवारीलाई अवसर ठानी शतप्रतिशत दिनू भन्दै श्री मावि इच्छापुरमा जागिरमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना श्रीमतीज्यू,’ प्रअ श्रेष्ठले सामजिक सञ्जालमा आफ्नो श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड