काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्ना खुला गरेको छ। अब उक्त कोर्स पढ्न चाहने विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मङ्सिर २८ गतेभित्र आवेदन दिनु पर्ने छ। केही नीतिगत समस्या रहेको भन्दै एसइई को नतिजा लगत्तै खोल्नुपर्ने भर्ना सीटीईभीटीले खुलाएको थिएन। यो विषय शिक्षामन्त्री सम्म पुगेपछि केही दिन अघि मात्रै उनले बैठक बोलाएर तत्काल भर्ना खोल्न निर्देशन दिएका थिए।
यसअघि मन्त्रालयमै बैठक बसेर भर्ना मापदण्ड तय गरी भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सीटीईभीटीले सूचना प्रकाशन नगरेपछि थुप्रै गुनासो मन्त्रीसम्म पुगेको थियो। त्यसपछि मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई मन्त्रालयमै बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएका थिए ।
मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गत कात्तिक १७ गते गरेका थिए ।
सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले करिब १६०० सिट छुट्टाएको छ।