काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०७९ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन फाराम भर्न भराउन निर्देशन दिएको छ । आयोगले एक सूचना जारी गर्दै सबै शिक्षा विकास निर्देशनालय, समन्वय इकाइ,स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएको हो ।
आयोगको नियमावली, २०५७ (संशोधनसहित) को नियम ३२ घ को उपनियम (७) मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी आफ्नो सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्ने व्यवस्था रहेको र उपनियम (८ र ९) मा कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गर्ने गराउने सम्बन्धमा उल्लेख भएकोले यो सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।
गत वर्ष कोभिड १९ को संक्रमणका कारण विषम परिस्थिति उत्पन्न भै शैक्षिक सत्र २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने अवधि २०७९ साल जेठ ३० गतेसम्म कायम गरिएकोमा हाल उक्त परिस्थिति नरहेकाले शैक्षिक सत्र २०७९ को कार्यसम्पादन मूल्याङ्कन फाराम अनिवार्य रुपमा २०८० वैशाख १ गते देखि ३० गते भित्र विद्यालयमा दर्ता गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको आयोगले गरेको सूचनामा उल्लेख छ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्