काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय कर्मचारीको माग बारे चासो राखेका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री राईले नीति तथा कार्यक्रम अनुसार शिक्षामा बजेट विनियोजन हुन नसकेको बताए। नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको उचित व्यवस्थापनका सन्दर्भमा स्पष्ट पारिनु तर बजेटले सम्बोधन नगरिनु दुःखद भएको उनको भनाई थियो। उनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटको तालमेल नमिलेको भन्दै असन्तुष्टि पोखे।
बैठकमा मन्त्री राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको जानकारी दिए। त्यस्तै विश्वविद्यालयहरूले आर्थिक विकास र रोजगारीका सम्बन्धमा ध्यान दिएर विश्वास गर्न लायकको शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो। उनले विद्यालय कर्मचारीको आन्दोलनबारे जानकारी लिएर निर्णय गरिने बताए।
बैठकमा समितिका सांसदहरूले विद्यालय कर्मचारी आन्दोलनको समाधान खोजिनुपर्ने, विश्वविद्यालयहरूमा सुरक्षित पढ्न पाउने वातावरणको सिर्जना गरिनुपर्ने, संघीय शिक्षा ऐन, माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन तत्काल ल्याइनुपर्ने लगायतका विषयमा धारणा राखेका थिए।