काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वैदेशिक शिक्षा र रोजगारीलाई नेपालका लागि अभिशापका रूपमा मात्र हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीले हासिल गरेको ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा उपयोग गर्न सकिने उनको भनाइ छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आइतबार आयोजना गरेको नीति बहस कार्यक्रम ‘एडुक्लेभ ४.०’ लाई सम्बोधन गर्दै सांसद झाले विकसित मुलुकहरूले पनि मानव स्रोतको अन्तर्राष्ट्रिय आवागमन र वैदेशिक शिक्षालाई आफ्नो विकासको आधार बनाएको उदाहरण प्रस्तुत गरे । उनका अनुसार पछिल्लो एक दशकमा मात्रै ७ लाख ६९ हजारभन्दा बढी नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश गएका छन् । नेपालमा पर्याप्त अवसर नहुँदा युवाहरू विदेशतर्फ आकर्षित भइरहेकाले यसलाई रोक्नेभन्दा त्यसबाट सिर्जना हुने अवसरलाई नेपालसँग जोड्नुपर्ने उनले बताए ।
झाले वैदेशिक शिक्षाको इतिहाससँग नेपालको विकास क्रमलाई समेत जोडेर हेर्नुपर्ने धारणा राखे । नेपालमा रेलमार्ग निर्माणलगायतका पूर्वाधार विकासले विशेष गरी मधेस क्षेत्रका नागरिकलाई बाहिरी संसार र विदेशी शैक्षिक संस्थासँग जोडिन अवसर सिर्जना गरेको उनको भनाइ थियो । जर्मनी, साउदी अरेबिया लगायतका मुलुकले आफ्ना नागरिकलाई विदेशमा अध्ययनका लागि पठाएर आवश्यक ज्ञान र दक्षता देशमा भित्र्याएको उदाहरण पनि उनले दिए ।
साउदी अरेबियाले आफ्नै राज्य सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्न नागरिकलाई छात्रवृत्तिमार्फत विदेश पठाएको र त्यस्ता जनशक्ति फर्किएपछि देश निर्माणमा योगदान गरेको उनले उल्लेख गरे । अमेरिकाले पनि शिक्षा क्षेत्रमा ठुलो लगानी गरेर तीव्र विकास हासिल गरेको उदाहरण दिँदै नेपालले पनि शिक्षालाई विकासको रणनीतिक आधार बनाउनुपर्नेमा उनले जोड दिए ।
“हामीले वैदेशिक रोजगारी र शिक्षालाई अवसरभन्दा पनि अभिशापका रूपमा लियौँ । तर विश्वका धेरै विकसित देशले यही प्रक्रियालाई सदुपयोग गरेर विकास गरेका छन्,” झाले भने ।
नेपालमा स्वाभाविक रूपमा विकास भए पनि योजनाबद्ध विकास हुन नसकेको भन्दै उनले अबको प्राथमिकता मानव पुँजी निर्माण हुनुपर्ने बताए । नेपालले आगामी दिनमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यबारे चर्चा गरिरहँदा त्यसका लागि आवश्यक दक्ष जनशक्ति नेपालसँग पर्याप्त छ कि छैन भन्ने प्रश्नसमेत उठाउनुपर्ने उनको भनाइ थियो ।
वैदेशिक रोजगारीबाट आएको विप्रेषण उत्पादनशील क्षेत्रमा खर्च नभएको भन्ने बहस भइरहे पनि आफूहरूले गरेको अनुसन्धानअनुसार करिब ७५ प्रतिशत विप्रेषण बालबालिकाको शिक्षामा लगानी हुने गरेको उनले बताए । “बालबालिकाको शिक्षामा गरिएको लगानी नै सबैभन्दा राम्रो लगानी हो,” उनले भने ।
नेपालमा दक्ष जनशक्तिको अभावकै कारण तथ्याङ्क विज्ञानलगायतका क्षेत्रमा नेपालीहरूले विदेशी जनशक्तिलाई ठुलो रकम तिर्नुपरेको उनले बताए । विदेशमा अध्ययन गरेर फर्किएका डा सन्दुक रुइत, महावीर पुनदेखि डा. भगवान् कोइरालासम्मका व्यक्तिले नेपालमै रहेर महत्त्वपूर्ण योगदान गरेको उदाहरण प्रस्तुत गर्दै झाले विदेश अध्ययनलाई नेपालका लागि ज्ञान र सीप भित्र्याउने माध्यमका रूपमा लिनुपर्ने बताए ।
सरकारले उद्योग तथा व्यवसाय आफैँ सञ्चालन गर्नेभन्दा निजी क्षेत्रलाई सहजीकरण गर्ने भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो । “सरकारले ठेकदारी गर्ने होइन, सहजीकरण गर्ने हो,” उनले भने, “विदेश पढ्न जान दिऔँ र त्यहाँबाट विभिन्न दृष्टिकोण लिएर फर्किन दिऔँ ।”
नेपालले वैदेशिक शिक्षा र रोजगारीबाट प्राप्त ज्ञान, सीप, प्रविधि र सञ्जाललाई राष्ट्रिय विकाससँग जोड्न सके अहिले विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिक नै भविष्यमा नेपालको रूपान्तरणका साझेदार बन्न सक्ने उनको निष्कर्ष थियो ।
आफ्नो प्रस्तुतिको निष्कर्षमा पनि उनले पछिल्लो दशकमा ७ लाख ६९ हजारभन्दा बढी नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि गएको, स्वदेशमा सीमित अवसरका कारण युवाहरू बिदेसिन बाध्य भएको तथा वैदेशिक शिक्षाले आर्थिक र भावनात्मक लागतसँगै विश्वव्यापी ज्ञान, सञ्जाल र नेतृत्व क्षमता निर्माण गरिरहेको उल्लेख गरे । विदेशमा रहेका नेपालीको ज्ञान र अनुभवलाई नेपालको रूपान्तरणसँग जोड्न सके उनीहरू भविष्यका ‘पुल’ बन्न सक्ने उनको तर्क थियो ।
विदेश अध्ययनबाट प्राप्त अवसरलाई नेपालको विकासमा रूपान्तरण गर्ने नीतिका पक्षमा र शैक्षिक परामर्श व्यवसायलाई विस्थापित हुन नदिन आफू निरन्तर आवाज उठाउने प्रतिबद्धतासमेत सांसद झाले व्यक्त गरे ।
इक्यान ‘एडुक्लेभ ४.०’ राजधानीको म्यारियट होटेलमा अहिले जारी छ। विभिन्न महत्त्वपूर्ण विषयहरूमा प्यानल छलफल तथा अन्तरक्रिया हुने यो कार्यक्रम संयोजन वानअपले गरेको हो।