Matra Education बुधबार, कार्तिक ११ २०८३

रिलायन्स पब्लिक स्कुलमा बेलायती संसद् सदस्यहरुको भ्रमण तथा अन्तरक्रिया सम्पन्न

रिलायन्स पब्लिक स्कुलमा बेलायती संसद् सदस्यहरुको भ्रमण तथा अन्तरक्रिया सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ १७ २०८०


काठमाडौँ- कपन स्थित रिलायन्स पब्लिक स्कुलमा ‘बेलायती संसद् सदस्यहरु’ को भ्रमण तथा अन्तरक्रिया सम्पन्न भएको छ। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूले सिकेका विभिन्न सिप तथा निर्माण गरेका परियोजनाहरू बेलायती संसद् सदस्य गगन महिन्द्र, ज्याकी डोयल प्राईस र एबेना अपोङ्ग असारे सहितका विदेशी अतिथिहरू माझ प्रस्तुत गर्दै अन्तरक्रिया सम्पन्न गरिएको हो।

विदेशी पाहुनाहरूको स्वागत पश्चात् सुरु भएको औपचारिक कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष श्री रविन्द्रजंग थापा, वोर्ड अफ डिरेक्टरस्, एकेडेमी डिरेक्टरस् विद्यालय कोओर्डिनेटरस् र संस्थाका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डिरेक्टरस् तथा प्रतिनिधि, बेलायत बाट आएका अतिथि तथा ब्रिटिस काउन्सिलको डकुमेन्ट्री परियोजनामा काम गरेर ख्याति कमाएका फिल्म निर्माताहरू कार्यक्रमको आकर्षणका रूपमा रहेका थिए।

औपचारिक कार्यक्रमको सुरुवात गर्दै रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल वसन्त लाल लामिछानेले ‘कनेक्टिङ क्लासरुम’ मार्फत विभिन्न गतिविधिहरू हुँदै आएको र ‘इन्टरनेसनल स्कुल अवार्ड’ त्यो मध्ये एक भएको टिप्पणी गरे। परियोजना मार्फत विद्यार्थीहरूको शिक्षण सिकाई अर्थपूर्ण बनाउन सकिएको भन्दै उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि परियोजना कोशेढुङ्गा साबित भएको उल्लेख गरे। परियोजना मार्फत शिक्षकहरूमा सिर्जनात्मकता र समालोचनात्मक सोचको विकास गर्ने र ती गुणहरु परियोजना, क्रियाकलाप, सहभागिता, सहकार्य आदि मार्फत् विद्यार्थीहरुमा सृजनशिलता, नविनता, आलोचनात्मक सोचाई तथा विश्वव्यापी नागरिक जस्ता सीपहरु विद्यार्थीहरुमा विकास गर्ने काम भएको उनको भनाई रहेको थियो । लामिछानेले २१ औँ शताब्दीको लागि आवश्यक सिपहरूको विकास र फरक फरक संस्कृति बाट हुने सिकाइका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण भएको बताए।

कार्यक्रममा बोल्दै रिलायन्स पब्लिक स्कुलकी ‘आइ.एस.ए कोअर्डिनेटर’ सुष्मा तामाङले कार्यक्रम मार्फत विद्यार्थीहरूको मात्रै नभई विभिन्न तालिमहरू मार्फत शिक्षक/शिक्षिकाहरूको समेत व्यावसायिक वृत्तिमा सहयोग पुगेको धारणा राखिन्। पाठ्यक्रम सँग एकीकृत हुने गरी विभिन्न परियोजनामा आधारित कार्यहरू विद्यालयमा हुँदै आएको हुँदा त्यसले निर्दिष्ट उद्देश्यहरू प्राप्त गर्न कति सफल भइयो भनी मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको उनको भनाई थियो। यस्ता कार्यक्रमले विश्व सँग जोड्ने अवसर प्रदान गर्ने बताउँदै उनले स्थानीय तथा अन्तर्राष्ट्रिय आयामहरू बारे बुझ्ने, दिगो विकासका लक्ष्य हासिल गर्ने र समुदाय सँग हरेक शैक्षिक क्रियाकलापलाई जोड्ने अवसर दिने बताइन्।

कार्यक्रमकै अवसरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले कार्यक्रम मार्फत आफूले सिकेका कुराहरूलाई फरक फरक परियोजना निर्माण गरेर प्रस्तुत गरेका थिए। यसरी निर्माण गरिएका थुप्रै परियोजनाहरू मध्ये जलवायु परिवर्तन र महिला सशक्तीकरण कार्यक्रममा प्रस्तुत गर्दै उपस्थित अतिथि तथा दर्शकले त्यस विषयमा राखेका जिज्ञासाको उत्तर विद्यार्थीले दिएका थिए। प्रस्तुतिहरूमा सम्बन्धित विषयको परिचय देखि राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था, तुलनात्मक अध्ययन, समस्या र समाधान समेटिएको थियो। माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीले तयार पारेको परियोजना र उनीहरूको प्रस्तुति व्यावसायिक दक्षता सहितको जस्तो देखिन्थ्यो ।

त्यस्तै ब्रिटिस काउन्सिल नेपालको सहयोगमा डकुमेन्ट्री निर्माण गरी देशका विभिन्न भागका आवाजविहीनहरूको आवाज विश्व समुदायलाई सुनाउन सफल ३ जना सहभागीहरूले कार्यक्रममा आ-आफ्नो अनुभव साटेका थिए। उनीहरूले चुनौतीका बिच पनि कसरी आफू बाँचेको समाजलाई योगदान गर्न सकिन्छ भन्ने उपस्थित विद्यार्थीलाई प्रस्ट पारेका थिए। कार्यक्रमलाई यी तिन प्रस्तुतिहरूले अझै बढी रोचक बनाएको थियो। साथै उपस्थित अतिथिहरुले विद्यालय भ्रमण गरी कक्षाकोठामा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए । रिलायन्स एडुकेशन नेटवर्कका अध्यक्ष श्री रविन्द्रजंग थापा ज्यूले यस्ता कार्यक्रमहरुले विद्यार्थी, शिक्षक/शिक्षिका तथा समग्र शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्ने उक्त कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रम पश्चात् उपस्थित अतिथिहरूले रिलायन्स पब्लिक स्कुलले आफ्ना विद्यार्थीहरूको चौतर्फी विकासका लागि गर्दै आएको क्रियाकलापहरूको प्रशंसा गरेका थिए।

के हो इन्टरनेशनल स्कुल अवार्ड?
इन्टरनेशनल स्कुल अवार्ड ब्रिटिस सरकार अन्तर्गत ब्रिटिस काउन्सिल नेपाल मार्फत सञ्चालित एक कार्यक्रम हो। नेपालको शिक्षा क्षेत्रको गुणस्तरलाई उकास्ने उद्देश्य अनुरूप यो परियोजना नेपालमा सन् २०१२ देखि सुरु भएको हो । कार्यक्रममा सहभागी भई पाठ्यक्रममा आधारित विभिन्न परियोजना बनाएर काम गरे बापत ब्रिटिस काउन्सिल र नेपाल सरकारको शिक्षा मन्त्रालयले रिलायन्स एजुकेसनका विद्यालयहरूलाई यो अवार्डले पुरस्कृत गरिसकेको छ । रिलायन्स पब्लिक स्कुलले पनि सन् २०१६ देखि नै यो कार्यक्रममा सहभागी भई २ पटकसम्म यो अवार्ड प्राप्त गरिसकेको छ । साथै रिलायन्स पब्लिक स्कुलले आफूले सिकेको सिप र ज्ञानलाई यो कार्यक्रम नहुँदा पनि निरन्तर रूपमा विद्यालय भित्र गरिरहेको र देश विदेशका विभिन्न विद्यालयहरू सँग सहकार्य गर्दै विभिन्न क्रियाकलाप गरिरहेको छ ।

तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका थप तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड