काठमाडौँ- चाबहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले अन्तर–विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘रिया अन्तर एसइई बास्केटबल प्रतियोगिता’ नाम दिइएको यो प्रतियोगिता छात्र तथा छात्रा दुवै समूहका टिमका लागि खुला गरिएको छ।
प्रतियोगितामा कुल १ लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ भने सहभागी टिमहरूका लागि दर्ता शुल्क ५०० रुपैयाँ निर्धारण गरिएको छ। फर्म बुझाउने अन्तिम मिति १६ वैशाख २०८३ तोकिएको छ।
आयोजकका अनुसार प्रतियोगिता १८ र १९ वैशाखमा रिलायन्स कलेज ग्राउन्ड, चाबहिलमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक छात्रवृत्ति समेत प्रदान गरिनेछ। फाइनलमा पुग्ने दुई खेलाडीलाई व्यवस्थापनतर्फ ६३ हजार र विज्ञानतर्फ ८९ हजार रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
यसका साथै, प्रतियोगिताका ‘बेस्ट प्लेयर’ र ‘हाइएस्ट स्कोरर’ लाई १०० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरिएको छ। विद्यालय तहका विद्यार्थीहरूलाई खेलकुदमार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।