काठमाडौँ-मात्र एजुकेसनले केही दिन अघि ९ महिनामा बच्चा जन्मिन्छ, त्रिविको रिजल्ट जन्मिएन शीर्षकको समाचार प्रकाशित गरेको थियो। परीक्षा दिएको लामो समय बितिसक्दा पनि स्नातक तेस्रो वर्षको नतिजा प्रकाशित नभएको खबर बाहिरिएपछि विद्यार्थीहरूले अन्य तह र सङ्कायको पनि त्यही हाल रहेको भन्दै गुनासो गरेका छन्। यसैबिच स्नातकोत्तर तहमा पनि ९ महिना बितिसक्दा पनि नतिजा प्रकाशित नभएको अर्को खबर प्राप्त भएको छ।
त्रिभुवन विश्वविद्यालयले मानविकी सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि प्रकाशन गर्न नसकेको हो ।
त्रिविले २०७७ फागुनमा सञ्चालन गरेको परीक्षाको नतिजा ९ महिना बितिसक्दा पनि प्रकाशन गर्न सकेको छैन । त्रिवि नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ । एमबीएसका ५ हजार ६००, एमपीएका ३ हजार ५०० र राजनीतिशास्त्रका ७ हजारभन्दा बढी विद्यार्थी नतिजा कुरेर बसेका छन् ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दक्ष कर्मचारी अभावकै कारण यो नतिजा पनि प्रभावित भएको बताए। अङ्क चढाउनका लागि कम्प्युटर प्रणालीमा दक्ष जनशक्ति अभाव रहेकोले ढिलो भएको उनको भनाइ छ।