सिन्धुपाल्चोक- इन्द्रावती गा.पा.-१२, भिमटार, सिन्धुपाल्चोक स्थित श्री भिमेश्वरी माध्यमिक विद्यालयको नियमित पठनपाठन रोकिएको छ। विद्यालयले हिजो एक सूचना जारी गर्दै प्रधानाध्यापक कृष्ण प्रसाद श्रेष्ठ माथि विद्यालय भित्रै कुटपिट र ज्यान मार्ने धम्की दिनेलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि नियमित पठन पाठन बन्द गर्ने निर्णय भएको जानकारी गराएको छ।
आइतबार दिउसो १ बजे सिमलटार बस्ने श्याम भन्ने सन्तोष दनुवार ले मादक पदार्थ सेवन गरी विद्यालय हाता भित्र प्रवेश गरी कार्यकक्ष मै रहेका प्रधानाध्यापकलाई कुटपिट गरी आँखा, नाक र छातीमा चोट पुर्याएको सूचनामा उल्लेख छ। साथै ज्यान मार्ने धम्की दिँदै विद्यालयको टेबल, कुर्सी, ल्यापटप र प्रिन्टर लगायतका भौतिक संरचनामा समेत क्षति पुर्याएको र विद्यालयका केही शिक्षकहरूले नछेकेको भए थप दुर्घटना हुन सक्ने अवस्था निम्तिएको सूचनामा उल्लेख छ।
तत्काल बसेको स्टाफ बैठकको निर्णय अनुसार कानुन बमोजिम आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय नवलपुर समक्ष विद्यालयले निवेदन दिएको छ भने यस्तो ज्यान मार्ने धम्की सहित हातपात गर्ने कार्य रोक्ने सुनिश्चितता नभएसम्म र सुरक्षाको वातावरण तयार भई निजलाई कारबाहीको प्रक्रिया अगाडि नबढ्दा सम्म नियमित पठनपाठन कार्य बन्द गरिने समेत सूचनामा उल्लेख छ। तर विद्यालयको यो निर्णयले ७ गते सञ्चालन हुने कोरोना विरुद्धको खोप कार्यक्रम र ८ गते देखी सञ्चालन हुने दोस्रो त्रैमासिक परीक्षा भने प्रभावित नहुने विद्यालय स्रोत बताउँछ।
