काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को दोस्रो केन्द्रीय समितिको बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। गत कार्तिक १८ र १९ गते तनहुँको दमौलीमा बैठक सम्पन्न भएको हो।
नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीको अध्यक्षता तथा जिल्ला समितिहरूको आतिथ्यमा बैठक सम्पन्न भएको हो। पानसमा दिप प्रज्वलन गरी बैठकको उद्घाटन गर्दै अध्यक्ष ठकुरीले संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउँदै शैक्षिक, आर्थिक र साङ्गठनिक नीतिहरूलाई स्पष्ट र पारदर्शी बनाउने योजना रहेको बताए। त्यस्तै पालिका, जिल्ला, प्रदेश र केन्द्र बिचको सम्बन्धलाई समयानुकूल प्रगाढ बनाउने, बालबालिकाहरूलाई केन्द्रबिन्दुमा राखी शिक्षालाई उच्च प्राथमिकता दिँदै निजी विद्यालयहरूको संरक्षण, संवर्द्धन, समृद्धिका नयाँ योजनाहरू ल्याउने, सरकारी नियम, कानुनहरूमा निजी विद्यालयहरूका सवालमा समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउने काम गर्दै आएको उल्लेख गरे। यी मध्ये थुप्रै कामहरू नीतिगत छलफलबाट प्राप्त भइसकेको उनको भनाइ थियो।

बैठकमा संगठन भित्र रहेका उपाध्यक्षहरूका विभिन्न विभागहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै नेसनल प्याब्सनको २५औ स्थापना दिवस पौष २७ लाई भव्य रूपमा मनाउन विद्यार्थी, विद्यालयहरूलाई समावेश गरी विविध राष्ट्रिय कार्यक्रम गर्ने, नेसनल प्याब्सन इतिहास डकुमेन्ट्री प्रस्तुत गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू बैठकमा भएको थियो ।
बैठकले मङ्सिर ४ मा हुन गइरहेका आसन्न संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको आगामी कार्यक्रम र घोषणा पत्रलाई गम्भीर ढंगले हेरेको र मुलुकमा रहेको निजी शिक्षालयहरूको सम्बन्धमा त्यति धेरै चासो नराखेको देखिएकोले समयमै महत्त्वका साथ सोच्न र आफ्ना कार्यक्रमहरू ल्याउन सुझाव दिएको छ ।
पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सदस्य पदाधिकारीहरूको उपस्थिति रहेको बैठकमा सह-अध्यक्ष सुवास न्यौपानेले सबै उपस्थित तथा आतिथ्य जिल्ला तनहुँलाई धन्यवाद ज्ञापन गरेका थिए भने बैठकको सञ्चालन महासचिव पारसमणि दाहालले गरेका थिए ।
