Matra Education आइतबार, साउन १० २०८३

भूकम्प पीडितको सहयोगार्थ एन्डेकाले गर्‍यो रक्तदान कार्यक्रम

भूकम्प पीडितको सहयोगार्थ एन्डेकाले गर्‍यो रक्तदान कार्यक्रम

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक २४ २०८०


काठमाडौँ- नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (एन्डेका) ले भूकम्प पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार बिहान अद्वैत मार्ग, बागबजार स्थित टुकुचा पार्कमा आयोजित रक्तदान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

दसैँ तिहार लगायतको चाडबाडका कारण रगत संकलन कम भइरहेको बेला हालै जाजरकोट र रुकुम पश्चिम लगायतका ठाउँमा आएको विनाशकारी भूकम्पका कारण घाइते भएका बिरामी र अन्य रगत चाहिने बिरामीहरूलाई असहज भएको हुँदा रगतको आपूर्ति सहज बनाउनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एन्डेकाले जनाएको छ।

बिहान ८ बजेदेखि करिब ४ घण्टा सञ्चालित रक्तदान कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेको एन्डेकाले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बस्नेतले मानवीय कार्यमा संलग्न भएको भन्दै एन्डेकालाई धन्यवाद दिए। उनले आफू मन्त्री भएर आइसकेपछि स्वास्थ्यमा सबैको सहज पहुँच पुर्‍याउनका लागि काम गरिरहेको बताए। कोही पनि गरिब नेपाली उपचारका कारण मर्नु नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको भन्दै उनले त्यस्तो कठिन अवस्था आइपरे आफूलाई सम्झन अनुरोध गरे। मन्त्री बस्नेतले चाडपर्वहरूको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे।

रक्तदान पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै एन्डेका अध्यक्ष दिपक गुरुङले आफूहरूले नियमित गर्दै आएको चियापान स्थगित गरेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए। विपद्ले नेपालीहरू दुखमा रहेका बेला मद्दत गर्नु आफूहरूको कर्तव्य रहेको सोचेर रक्तदान कार्यक्रम राखिएको उनले बताए। गुरुङले एन्डेका नेपाली काँग्रेस निकट शैक्षिक परामर्श व्यवसायी संस्था भए पनि रक्तदानमा भने पार्टी भन्दा माथि उठेर सबैले सहभागिता जनाएको भन्दै धन्यवाद दिए। एन्डेकाले विगतमा पनि यस किसिमका सामाजिक काम गर्दै आएको भन्दै उनले भोलिका दिनमा पनि त्यो जारी रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड