Matra Education आइतबार, साउन १० २०८३

पाँचौपटक स्कुलले खोल्यो शिक्षक विज्ञापन, आवेदन सङ्ख्या भने अझै शून्य

पाँचौपटक स्कुलले खोल्यो शिक्षक विज्ञापन, आवेदन सङ्ख्या भने अझै शून्य

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २५ २०७८


काठमाडौँ-  शैक्षिक बेरोजगारको ठुलो सङ्ख्या रहेको नेपालमा कुनै एक पदका लागि विज्ञापन खुल्दा सयौँ आवेदन पर्नु नौलो होइन। तर यो आकर्षण पनि सुगम र सुविधासम्पन्न ठाउँका लागि मात्रै रहेछ भन्ने प्रमाणित भएको छ। पाल्पाको एक विद्यालयले एक शिक्षकका लागी पाँच पटक आवेदन खुलाउँदा पनि योग्यता प्राप्त कसैको आवेदन परेको छैन। पाल्पा जिल्लाको निस्दी गाउँपालिका १ वाकामलाङ् स्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषयको करार शिक्षक नियुक्तिको लागि पाँचौपटक सम्म विज्ञापन गर्दा पनि कसैले दरखास्त नदिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद खत्रीका अनुसार शिक्षक पदपूर्तिका लागि चार पटक सम्म पनि विज्ञान विषयको शिक्षकले दरखास्त नदिए पछि पाँचौपटक विज्ञापन गर्न विद्यालय बाध्य भएको हो । अध्यापन अनुमतिपत्र प्राप्त गरेको शिक्षकलाई मात्र नियुक्ति गर्नुपर्ने भएकोले समस्या भएको उनले बताए । उनले भने “एक त अध्यापन अनुमति पत्र प्राप्त गरेको शिक्षक पाउनै मुस्किल अर्को विज्ञान विषय,यसले गर्दा अहिले सम्म एउटा पनि दरखास्त परेको छैन ।” उनका अनुसार विद्यालय पाल्पाको दुर्गम ठाउँमा भएका कारणले पनि कोही दरखास्त दिन नआएको हो । पाल्पा,नवलपरासी र तनहुँको सिमानामा रहेको र जताबाट गए पनि राजमार्गबाट करिब ४० किलोमिटर टाढा रहेकाले कोही आउन नमान्ने उनले बताए ।

पाँचौँ पटकको विज्ञापन कार्तिक १६ गते खोलिए पनि अहिले सम्म कसैले दरखास्त दिएको छैन । अन्तिम विज्ञापनको दरखास्त दिने समय कार्तिक ३० सम्म रहे पनि शिक्षक पदपूर्ति नभएसम्म लगातार विज्ञापन खोलिने विद्यालयले जनाएको छ । फाइल तस्विर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड