Matra Education आइतबार, साउन १० २०८३

नेपालको शिक्षा क्षेत्र र प्राविधिक शिक्षा बारे सिटिईभिटिका उपाध्यक्ष लाई ५ प्रश्न

नेपालको शिक्षा क्षेत्र र प्राविधिक शिक्षा बारे सिटिईभिटिका उपाध्यक्ष लाई ५ प्रश्न

  • मात्र एजुकेशन
  • बिहिबार, साउन २८ २०७८


नेपालको हालको शिक्षा क्षेत्र र प्राविधिक शिक्षा बारे सिटिईभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारी सँग गरिएको कुराकानीको सम्पादित अंश ।

सर सिटिईभिटिको पछिल्लो समयको गतिविधि के कस्तो छ?

वास्तवमा तपाईँले एकदमै राम्रो कुरा उठाउनु भयो। सिटिईभिटि यो देशको प्राविधिक जनशक्ति उत्पादनको लागि जिम्मेवार भएर बसेको एक मात्र सशक्त देशको आधिकारिक संस्था हो । यसले अहिले चाहिने गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेका लागि निरन्तर क्रियाशील छ र यो मातहत अहिले हामी एसइई सकेर आउने विद्यार्थीहरूलाई विभिन्न कार्यक्रमहरूमा विद्यार्थीहरूको भर्नाको चरणमा छौ । कोभिड का कारणले पछाडि परेका परीक्षाहरूको नतिजा पनि पछाडि परेका कारणले अहिले हामी ती चिज हरूलाई पनि अगाडि बढाउन लागि रहेका छौ । भर्खरै मात्र हामीले सिसिएमसि सँग अनुमति लिएर स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने तयारी मा छौ । हामी मूलतः प्राविधिक शिक्षा सँग जोडिएका विद्यार्थीहरूलाई आवश्यक सहयोगका लागि अहिले क्रियाशील छौ ।

कोभिडले प्राविधिक शिक्षा मात्र नभई पुरै शिक्षा क्षेत्र र समग्र देशलाई नै अहिले धराशायी बनाएको अवस्था छ। यसले प्राविधिक शिक्षालाई कस्तो असर पुर्‍याको छ ?

एकदमै, असाध्यै अरू शिक्षामा भन्दा पनि प्राविधिक शिक्षामा कोभिड १९ ले धेरै असर पुर्‍याएको छ। किनभने साधारण शिक्षाको जस्तो अनलाइन कक्षा ,भर्चुअल माध्यम बाट र सैद्धान्तिक पाटो बाट पनि पठनपाठन गर्न नमिल्ने भएकोले पनि यो क्षेत्रमा बढी असर परेको छ ।प्राविधिक शिक्षामा सैद्धान्तिक पाटो भन्दा प्रयोगात्मक पाटो बढी हुने गर्। करिब ८०% प्रयोगात्मक पाटो र २०% मात्र सैद्धान्तिक पाटो हुन्छ । त्यस कारण प्रयोगात्मक पाटो बढी हुने बित्तिकै विद्यार्थीहरूले आफ्नो हातले सरसर्ति उपस्थित भएर सिक्ने र सिकाउनु पर्ने भएकाले यो अनलाइन तथा भर्चुअल माध्यमबाट सम्भव छैन त्यसैले कोभिड ले सबैभन्दा बढी कसैलाई प्रभाव पारेको छ भने त्यो व्यावसायिक तालिम केन्द्रलाई हो । जुन ठाउँमा गएर विद्यार्थीहरूले सिक्नुपर्ने हो त्यहाँ जा नसक्ने अवस्था नभएको कारणले गर्दा साधारण शिक्षालयका शिक्षाहरू भन्दा प्राविधिक शिक्षालयहरूमा कोभिडको असाध्यै ठुलो असर परेको छ ।

अब यी समस्याहरू सँग सिटिईभिटि कसरी लडिरहेको छ । र कसरी समाधान गरिरहेको छ ?

हामीले अनलाइनबाट सञ्चालन गर्ने मिल्ने कक्षा हरूलाई सञ्चालन गरिरहेका छौ र प्रयोगात्मक अभ्यास गराउने कुरामा समस्या परेकाले सिसिएमसि सँग छलफल र सरसल्लाह गरेर सामाजिक दुरी कायम गर्दै विद्यार्थीहरूलाई काम गर्ने वातावरण मिलाएका छौ । यद्यपि कोभिड १९ को महामारी झनै बढ्दो अवस्थामा देखिएकाले एउटा शैक्षिक लेयर नै कोल्याप्स हुन्छ कि भन्ने खतरा बढेको छ। त्यस कारण हामी स्वास्थ्य मापदण्डलाई पालना गर्दै प्रयोगात्मक अभ्यास र सैद्धान्तिक कक्षा पनि अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले
हामी अगाडि बढेका छौ ।

कोभिडले नेपालमा प्राविधिक शिक्षाको आवश्यकता बढी छ है भन्ने सन्देश दिएको छ। धेरै शैक्षिक बेरोजगार उत्पादन हुने हाम्रो मुलुकमा यसले प्राविधिक शिक्षा र सिटिईभिटिको आवश्यकता झनै बढेको हो ?

एकदमै सही कुरा हो किनभने यो कुरालाई राज्यले पनि रियलाईज गर्‍यो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाल गर्ने बित्तिकै के भन्नुभएको थियो भने यो देशको ७०% विद्यार्थीहरूको पहुँचमा प्राविधिक शिक्षालाई पुर्‍याउन पर्छ र साथसाथै ७५३ वटा स्थानीय तहमा सिटिईभिटिबाट सम्बन्ध प्राप्त भएका कुनै पनि प्राविधिक शिक्षा प्रदान गर्न शिक्षालय पनि खोलिनु पर्छ भन्ने कुरा उहाँले उठाउनु भएको थियो। यसको मतलब के थियो भने यो देशको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्नका लागि प्राविधिक शिक्षा नै एक मात्र माध्यम भएकोले साधारण शिक्षा भन्दा पनि प्राविधिक शिक्षाको आवश्यकता छ । किनभने प्राविधिक शिक्षा सिकिसकेपछि आफैँले रोजगारी सिर्जना गर्न सकिने वा उनीहरू कतै रोजगारीमा जा नसक्ने र आफै पनि उद्यमशील हुन सकिने भएकाले प्राविधिक शिक्षाको धेरै आवश्यकता बढेको छ। त्यसैले शिक्षालाई सिपसँग जोड्नु पर्छ सिपलाई श्रमसँग जोड्नु पर्छ अनि श्रमलाई उत्पादन सँग जोड्न सके मात्र देशको विकास हुन्छ र आर्थिक समृद्धि हुन्छ ।

कोभिड १९ र अहिलेको शिक्षालाई कसरी लिनुहुन्छ ?
कोभिड एउटा थ्रेटको रूपमा रह्यो र सँगसँगै यसले हामीलाई अवसर पनि दियो। किनभने हाम्रो देशमा अनलाइन कक्षा बारे ज्ञान थिएन।
आजभोलि अनलाइन कक्षा चलेका छन् । साथै जब ईन्टभिउहरू पनि अनलाइन बाटै सञ्चालन हुन थालेका छन्। त्यस्तै परीक्षा र भर्चुअल बैठकहरू पनि अनलाइन बाटै सुरु भएका छन् । यो सबै देन भनेकै कोभिडको हो । योभन्दा अगाडि अन्य देशहरूले यो विधिलाई प्रयोगमा ल्याएको भए पनि नेपालमा भने यसको खासै प्रयोग भएको थिए। तर आज हरेक नागरिकले जानी नजानी भए पनि प्रयोग गरिरहेका छन् त्यसैले कोभिड एउटा अवसर पनि हो ।त्यसैले अब देशको हरेक कुनामा प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्छ र प्राविधिक शिक्षाले मात्रै देशको आर्थिक समृद्धि सम्भव हुने भएकाले सबैले यसलाई बुझ्न जरुरी छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड