काठमाडौँ- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरू यति बेला नतिजाको पर्खाइमा छन्। सामान्यतया असार महिनामा प्रकाशित हुने गरेको नतिजा कहिले आउँछ भन्ने कौतुहलता उनीहरूमा छ। मात्र एजुकेसनले आज यही जिज्ञासालाई मेटाउने कोसिस गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्डले नतिजा छिटो प्रकाशित गर्नका लागि कामहरू गरिरहेको छ । ‘बोर्डको शैक्षिक क्यालेन्डर अनुसार नै असार तेस्रो साता नतिजा प्रकाशित गर्ने तयारीमा हामी छौँ’ मात्र एजुकेसन सँगको संवादमा उनले भने।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।
यस पटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कन सम्बन्धी कुन निर्देशिका अपनाउने भन्ने विषय भने अझै निर्क्योल भएको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष अक्षराङ्कन सम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
उक्त निर्देशिकाले ३५ भन्दा कम ल्याउनेलाई ‘नन ग्रेडेड’ भनेर कक्षा ११ मा भर्ना हुने बाटो बन्द गरेको थियो भने पुरानो निर्देशिकाले २० अङ्कभन्दा पनि थोरै ल्याउनेलाई ‘ई’ मानेर कक्षा ११ मा भर्नाको बाटो खुलाइदिएको छ ।
गत वर्ष भने संशोधित निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा पर्ने देखेपछि बोर्डले पुरानै निर्देशिका अनुसार नतिजा सार्वजनिक गरेको थियो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट चार लाख ८५ हजार ३९६ जना परीक्षार्थी सहभागी थिए ।