काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा यही वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यसपालि पहिलो पटक एसइईको नतिजा परीक्षा सकिएको करिब एक महिनामै सार्वजनिक गर्न लागिएको हो । परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएकै समयभित्र नतिजा सार्वजनिक हुने बताउँदै रुजु तथा रिभ्यूको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । बाँकी प्रक्रिया पूरा भएपछि बोर्ड बैठकमार्फत नतिजा सार्वजनिक गरिनेछ ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षापछि बोर्डले परीक्षा केन्द्रहरूलाई छिट्टै नतिजा पठाउन निर्देशन दिएको थियो । उत्तरपुस्तिका परीक्षण, तथ्यांक इन्ट्री तथा आवश्यक कागजात संकलनको काम समयमै सम्पन्न भएकाले यसपालि नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको बोर्डले जनाएको छ । यसअघि एसइईको नतिजा सार्वजनिक हुन करिब तीन महिनासम्म लाग्ने गरेको थियो । तर यसपालि परीक्षा सञ्चालनसँगै मूल्यांकन र तथ्यांक इन्ट्रीको काम अघि बढाइएकाले समय छोटिएको बोर्डको भनाइ छ ।
बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार नतिजा समयमै सार्वजनिक गर्न कर्मचारीहरू बिहानदेखि साँझसम्म निरन्तर खटिएका छन् । आवश्यक जनशक्ति थप गरेर कामलाई तीव्र बनाइएको उनले बताए ।
यसपालि उत्तरपुस्तिका अन्यत्र ढुवानी नगरी परीक्षा केन्द्रमै जाँच गरिएकाले पनि प्रक्रिया सहज भएको बोर्डले जनाएको छ । सबै जिल्ला शिक्षा इकाईहरूले वैशाख ९ गतेभित्र आवश्यक विवरण बुझाइसकेपछि कम्प्युटर इन्ट्रीको काम पनि तीव्र रूपमा सम्पन्न गरिएको थियो ।