काठमाडौँ- दक्षिण कोरियामा निधन भएका नेपाली विद्यार्थी एकेन्द्र ओलीको पार्थिव शरीर नेपाल ल्याउन नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)ले सहयोग संकलन अभियान सुरु गरेको छ। दाङको बबई गाउँपालिका–४ निवासी ओली दक्षिण कोरियाको काङवन नेसनल युनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत थिए। उनको २२ सेप्टेम्बर २०२६ मा निधन भएको हो।
ओलीको पार्थिव शरीर नेपाल ल्याउने, आवश्यक कागजी प्रक्रिया तथा पार्थिव शरीर नेपाल पठाउने सम्पूर्ण प्रक्रियाका लागि करिब १ करोड ४० लाख कोरियन वन खर्च लाग्ने अनुमान गरिएको नेक्साले जनाएको छ। उक्त खर्चले परिवारमाथि ठुलो आर्थिक भार पर्ने भएकाले सहयोग संकलन अभियान सुरु गरिएको हो।
नेक्साले ओलीको पार्थिव शरीर नेपाल ल्याउन सहयोग पुर्याउने उद्देश्यले स्वेच्छिक आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ। साथै अभियानबारे आफन्त, साथीभाइ तथा अन्य नेपाली समुदायसम्म सूचना पुर्याइदिनसमेत आग्रह गरेको छ।
नेक्साले सहयोगका लागि सानिमा बैंक पुल्चोक शाखामा रहेको संस्थाको खातामा रकम जम्मा गर्न सकिने तथा फोनेपेमार्फत पनि सहयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
