काठमाडौँ- तपाईँ हामी सबैले सजिलै अनुमान लगाउन सक्छौ सामान्यतया: एउटा प्राथमिक विद्यालयमा कति जना शिक्षक हुन्छन् ४ वा ५ जना ।
कतिपय विद्यालयमा भने विद्यार्थीको उपस्थिति अनुसार पनि शिक्षकहरू थपघट भएको पाइन्छ त्यस्तै शिक्षा नियमावलीका अनुसार कक्षा १ देखि ३ सम्म चलेको प्राथमिक तहका लागि जम्मा ३ जना शिक्षक, कक्षा १ देखि ५ सम्म सञ्चालन भएको प्राथमिक तहका लागि ५ जना शिक्षक, निम्नमाध्यमिक तहका लागि ४ जना शिक्षक र माध्यमिक तहका लागि ५ जना शिक्षक न्यूनतम रूपमा हुनुपर्ने व्यवस्था छ तर यि विविध निति र व्यवस्थालाई गिज्याएझैँ लाग्ने गरेर एउटा यस्तो विद्यालय सञ्चालनमा छ जहाँ कक्षा पाँच सम्म पढाई हुन्छ त्यो पनि एक जना शिक्षिकाको भरमा । वरपर सुनसान जङ्गल हेर्दा कुनै पुरानो संरचना जस्तो देखिने ढुङ्गा,माटो र काठले बनेको जीर्ण अवस्थामा रहेको उक्त विद्यालयमा विद्यार्थी पनि निकै थोरै छन् । कुनै बेला खुबै चहलपहल हुने यो गाउँ र विद्यालय यति बेला सुनसान छन् ।
बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँस्थित देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापा एक महिना अगाडी सेवा निवृत्त भए । त्यस्तै अर्की शिक्षिकाले विवाह गरेर बिदामा छिन् । त्यसपछि विगत एक महिनादेखि विद्यालय एक जना शिक्षिकाको भरमा चलिरहेको छ ।
जहाँ सोही गाउँकै स्थानीय ज्योति थापाले पढाउँदै आएकी छिन्। अहिले विद्यालयको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । विद्यालयमा जम्मा १९ विद्यार्थी छन् । कक्षा तीन र चार खाली छ । हाल कक्षा एक, दुई र पाँचमा मात्रै पढाइ हुन्छ । कक्षा एकमा १०, कक्षा दुईमा ५ जना र कक्षा पाँचमा ४ जना विद्यार्थीले पढ्दै आई रहेका छन् । प्राथमिक विद्यालयको हिसाबले अध्यापन गराउनुपर्ने कक्षा एक देखि पाँच सम्म हो तर कक्षा तीन र चार खाली छ । बाँकी एक ,दुई र पाँच तीन वटा कक्षाका विद्यार्थीलाई एक्लैले पठनपाठन गराउनुपर्दा निकै समस्या भएको बत्ताउँछिन् शिक्षिका थापा ।
विद्यालयमा अझै दुई/तीन जना शिक्षकको आवश्यकता छ । ‘एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परे भने विद्यालय नै बन्द हुन्छ, सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु’, शिक्षिका थापाले भनिन् , ‘प्रअ सरले अवधि पुगेर राजीनामा दिनुभयो, रुपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ती दुई दिन आउनुभएको थियो, त्यसपछि आउनुभएको छैन ।’ अहिले शिक्षिका थापाले विद्यार्थीलाई बहु कक्षा शिक्षा प्रणाली अर्थात् दुई वटा कक्षाको विद्यार्थी एउटै कक्षामा अध्यापन गराउँदै आई रहेकी छिन्।
विद्यार्थीहरूको बाक्लो उपस्थितिले भरिभराउ हुने देउराली प्राथमिक विद्यालयमा यति बेला कक्षा एक देखि पाँच सम्म जम्मा १९ जना मात्र विद्यार्थी छन् । विद्यालय मात्रै होइन बसाइसराइले गाउँ नै सुनसान बन्न पुगेको छ । उक्त विद्यालयमा दुई जनाको स्थायी शिक्षकको दरबन्दी रहे पनि अहिले रिक्त छ । त्यस्तै एक्लै पठनपाठन गराउँदै आएकी ज्योति थापालाई पनि केही महिना अगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तबल दिने गरी राखेको हो ।
गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले विद्यालयमा दुई स्थायी शिक्षक आउने जानकारी दिए । तर, ती शिक्षक कहिले आउने यकिन नभएको उनको भनाइ छ । सापकोटाले स्थायी शिक्षिका नआउँदासम्म अर्को विकल्प नभएको बताए। नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताएका छन्।